Shittalpati
वर्षाको कहर : कतै पहिरो, कतै डुवान

पाल्पा, वर्षाका कारण पाल्पा र गुल्मीका विभिन्न ठाउँमा कतै पहिरो त कतै बाढीले फाँट डुवानमा परेका छन् । तीन दिनदेखि परेको अबिरल वर्षाले यहाँका दर्जनौं ठाउँमा पहिरो जानुको साथै खेतका फाँटहरु डुवानमा परेका हुन् ।

विहीबारदेखि परेको अविरल वर्षाका कारण पाल्पाका अधिकांस ठाउँमा पहिरो गएका छन् । पहिरोका कारण दर्जनौं सडक अवरुद्ध बनेका छन् भने कयौं घरहरु जोखिममा परेका छन् । पहिरोका कारण शनिबार सिद्धार्थ राजमार्ग र तानसेन–रिडी सडक अवरुद्ध रहे । यस्तै, कालीगण्डकी करिडोर, आर्यभन्ज्याङ–रामपुर सडक पनि बन्द भएको प्रहरीले जनाएको छ । तानसेन–बुटवल खण्डको बर्तुङ र कालीमाटी क्षेत्रमा पनि पहिरो खसेको छ । कालीमाटीमा पहिरोले दुई वटा पिकअप जिप पुरिएको थियो । गाडीमा क्षति पुगेको छ । रम्भा गाउँपालिका –३ सितापाहाडस्थित सिद्दार्थ राजमार्गमा पनि माथिबाट पहिरो झरी बाटो अवरोध बन्यो । रिब्दीकोट गाउँपालिका –३ माल्मुलस्थित पाल्पा–गुल्मी सडक खण्डमा माथिबाट ठूलो ढुङ्गासहित माटो झरी बाटो पुर्णरुपमा बन्द भएको थियो । यस्तै रैनादेवी छहरा गाउँपालिका–५ धुँवापानीडाँडास्थित हार्थोक–मुझुङ भित्रि  सडकमा माथिबाट पहिरो झरी बाटो बन्द रह्यो । यस्तै रिब्दीकोट गा.पा.४ हटियास्थित हटिया–भारकोट भित्रि  सडकमा पहिरो झरी स्थानीय पवन विकको घर नजिकै पार्किङ गरी राखेको ना ६१ प ८५८४ र लु २१ प ५६३२ नं.को मोटरसाईकल पुरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक सुगन्ध श्रेष्ठले बताए । रम्भाको असर्दीस्थित कालीगण्डकी करिडोर सडक खण्डमा पनि पहिरोले पुर्णरुपमा बाटो अवरुद्ध गरेको छ । यस्तै बगनासकालीको गोबाल्दिस्थित चिलाङ्दीदेखि खानीगाँउ, चापपानी जाने भित्री सडकमा माथिबाट पहिरो खस्दा बाटो पूर्ण रुपमा अवरुद्ध बन्न पुग्यो । यस्तै वर्षाका कारण गुल्मीमा पनि अधिकांस ठाउँमा पहिरो गएको छ । पहिरोका कारण यहाँका धेरै जसो ग्रामीण सडकहरु अवरुद्ध बनेका छन् । यहाँको रुरु क्षेत्रको कालिकामोडस्थित रिडी–तम्घास सडक खण्डमा पहिरो खस्दा केही समय बाटो अवरुद्ध बनेको थियो । गुल्मीदरबारको सानो बिरवासमा रुख ढलेर बाटो बन्द हुन पुगेको जिल्ला प्रहरी कार्यलय गुल्मीले जनाएको  छ । यस्तै धुर्कोटको रोदी खोलामा पानीको बहाव बढ्न गइ तम्घास–सिमलटारी सडकखण्ड पुर्ण रुपमा बन्द भएको छ । यस्तै मालिकाको घमिर खोलामा र सोही ठाउँको फुलबारी खोलामा पनि पानीको बहाव बढ्न गई सडक पुर्ण रुपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ । सत्यवती गाउँपालिका –६ उर्लिखोलामा पनि पानीको बहाव बढ्न गइ बाटो पुर्ण रुपमा अवरुद्ध छ । चन्द्रकोटको टेलिमिल र मजुवा बजारमा माथिबाट ढुङ्गा माटो सहितको पहिरो खस्दा बाटो पूर्ण रुपमा अवरुद्ध बन्न पुग्यो । अवरुद्ध बनेका केही सडकहरु लामो समयको प्रयासपछि सुरचारु भएका छन् भने केही खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।  

यात्रुलाई सास्ती

गुल्मी र पाल्पाका अधिकांस ठाउँमा गएको पहिरोले अवरुद्ध बनेका सडकका कारण यात्रुले सास्ती खेप्नु परेको  छ । विशेष गरी ग्रामीण सडकमा पहिरो खसेर, भासिएर तथा भत्किएर अवरुद्ध भएपछि स्थानीयहरु सास्ती भोग्न बाध्य भएका हुन् । सडक बन्द हुँदा दैनिक यातायात सेवा प्रभावित बनेको छ । यातायात सेवा ठप्प भएपछि यात्रुलाई आवत जावतमा समस्या हुने गरेको छ । पहिरो नखसेको ठाउँमा समेत कच्ची सडकहरू हिलाम्य भएर सवारीसाधन सञ्चालनमा समस्या भएको छ ।

दर्जनौं घर, गोठ जोखिममा

पहिरोका कारण पाल्पा र गुल्मीका दर्जनौं घर जोखिममा रहेका छन् । पाल्पाको रिब्दीकोट गाउँपालिका –३ माल्मुलस्थित पाल्पा–गुल्मी सडक खण्डमा माथिबाट ठूलो ढुङ्गासहित माटो झरी मिना विकको घर जोखिममा रहेको छ । 

रामपुर नगरपालिका–९ मधुकोटका कमलबहादुर साठीघरेको गोठ माथिबाट अचानक पहिरो झरी गोठ पुरिन जाँदा गोठमा रहेका एउटा भैंसीको पाडी, २ वटा बाख्राका पाठी र १ वटा खसी मरेका जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । यस्तै बगनासकालीको यमघाटारीकी उसा सुनारको र रेशम सुनारको पहिरोले घर पुरेको छ । घर पुरिए पनि मानविय क्षति भने भएको छैन । रिब्दीकोटको खस्यौलीस्थि निर्माण हुँदै गरेको भित्री सडकमा माथिबाट रुखसँगै गएको पहिरोका कारण बाटो भन्दा तल रहेको सुर्य प्रसाद नेपालको घर जोखिममा रहेको छ । तानसेनको कमलपोखरीका मिनबहादुर कुँवरको घर नजिकै पहिरो खस्दा घर जोखिमा रहेको छ । यस्तै गुल्मीको सत्यवती गाउँपालिका ठूलोलुम्पेकका रेशम पुलामीको घरमा माथिबाट ढुङ्गा माटोसहितको पहिरो खस्दो घर पूर्ण रुपमा क्षति भएको छ । पुलामीको परिवार अहिले आफन्तका आश्रय लिइरहेका छन् ।

माडीफाँट डुवानमा

विहिबारदेखि परेको अबिरल वर्षाले पाल्पाको अन्नभण्डार माडीफाँटका अधिकांश भाग डुबानमा परेको छ । समथर भू–भाग भएकाले यहाँका फाँटहरुमा ताल बन्न पुगेको छ । यहाँका अम्लिहान, बुढुवा क्षेत्रमा बाढी पसेपछि डुबान भएको स्थानीय पत्रकार प्रकाश नेपालले जानकारी दिए । फाँट डुवानमा परेपछि यहाँका खेतमा लगाईको धानमा क्षति पुगेको छ । यस्तै रामपुर र पूर्वखोलाका फाँटहरुका खेत डुवानमा परेका छन् ।

प्रकाशित मिति: आइतबार, असार २३, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update