केही दिन यताको अविरल वर्षासँगै देशका विभिन्न ठाउँमा बाढीपहिरोका कारण जनधनको क्षति हुनुको साथै जनजीवन समेत प्रभावित बनेको छ । वर्षाले पहाडमा पहिरो र तराईमा बाढीका कारण व्यापक मानवीय र भौतिक क्षति पु¥याएको छ । निरन्तरको भारी वर्षाका कारण आएको बाढीपहिरोमा परी १४ जनाको मृत्यु हुनुका सयौं घरहरु जोखिममा परेका छन् । बिहीबारदेखिको झरीले लुम्बिनी प्रदेशसहित काठमाडौं, गण्डकीका विभिन्न जिल्लामा भएको बाढीपहिरोले जनधनको व्यापक क्षति भएको छ । विभिन्न जिल्लामा पहिरो र डुबानले दर्जनौं परिवार विस्थापित भएका छन् । लुम्बिनी, गण्डकी, कर्णाली, बाग्मती प्रदेशका अधिकांश सडक अवरुद्ध हुँदा यात्रु र सवारीसाधन अलपत्र छन् ।
खराब मौसमका कारण हवाई उडान र बाढीपहिरोका कारण सडक अवरुद्ध भएका खबर छिनछिनमै सुन्नुपरेको छ । खोला, नदीहरुमा बहाव बढ्दो छ । समग्रमा बाढीपहिरोको वितण्डाले अहिले पुरै देश आहत बनेको छ । बाढी र पहिरो हाम्रा नयाँ चुनौती होइनन् । वर्षौंदेखि हामी यस्ता विपद्सँग जुध्दै आइरहेकौ छौं । तर पछिल्लो दशकमा यी विपद्का रौद्र रूपले हामीलाई अकल्पनीय रूपमा पिरोल्न थालेको छ । कारण, यी विपत्लाई बुझ्ने र यसविरुद्ध प्रतिकार्य गर्ने हाम्रा पुराना अनुभव र ज्ञान मात्रले अब काम नगर्ने भएको छ । आफ्ना पुर्खाबाट पनि नसुनेका र जीवनकालमा पनि कहिल्यै नभोगेका संकट भोग्न अहिलेको पुस्ता विवश बनिरहेको छ । राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्यांक हेर्ने हो भने नेपालमा हरेक वर्ष तीन हजारभन्दा बढी विपत्का घटना हुन्छन् । पहिलोमा आगलागी, दोस्रोमा बाढी र तेस्रोमा पहिरो पर्छन् ।
विपत्बाट सबैभन्दा बढी गरिब, विपन्न र दलित वर्ग नै प्रभावित हुने गरेका छन् । यस्ता विपत् र शोकलाई शक्तिमा बदली, आहतलाई राहत र भोलिको हुनसक्ने यस्तै विपत्तिलाई ध्यान दिँदै प्राकृतिक प्रकोपलाई हामीले वैज्ञानिक र व्यवहारिक किसिमले नियन्त्रण गर्नुपर्छ । भनिन्छ, यदि मानव सचेत र सतर्क छ वा पूर्व तयारीमा छ भने प्राकृतिक प्रकोपले हानि गर्दैन । तसर्थ विपत्बाट हुने क्षतिबाट बच्न र बचाउन सबैले आ–आफ्नो ठाउँबाट सचेत र सतर्कता अपनाउन जरुरी छ ।