Shittalpati
पाल्पामा विद्युत् सेवा अवरुद्व हुँदा सेवाग्राही मर्कामा

पाल्पा, पाल्पामा विहीबारदेखि परेको अविरल वर्षाका कारण विद्युत् पोलमा क्षति भई विद्युत् सेवा अवरुद्व हुँदा सेवाग्राही मर्कामा परेका छन् । जिल्लाको तिनाउ गाउँपालिकास्थित बसन्तपुरदेखि बुटवलतर्फ जाने जंगलमा विद्युतका पोलहरु ढलेपछि शुक्रबाररातिदेखि विद्युत् सेवा अवरुद्ध हुँदा सरकारी कार्यालय, बैंक तथा वित्तिय संस्था र अन्य निजी संघसंस्थाहरुको नियमित काम ठप्प हुँदा सेवाग्राहीले सास्ती खेप्नु परेको हो ।

बसन्तलपुरको जंगलमा पोल ठलेकाले केही समय विद्युत अवरुद्ध हुन पुगेको विद्युत् प्राधिकरण पाल्पा वितरण केन्द्रले जनाएको छ । बुटवलदेखि पाल्पा आउने ३३ केभिएचटि लाइन अन्तर्गत बुटवल–बसन्तपुर सेक्सनमा लाइनको टावर भाचिएको र केही स्थानमा पोलहरु ठलेका थिए । मर्मतपछि शनिबार साँझा मात्र पाल्पामा लाइन आएको हो । आइतबार दिनभरी लाइन नहुँदा कार्यालयको कामकागज ठप्प हुनुको साथै सेवाग्राहीहरुले सास्ती खेप्नु परेको थियो । विद्युत् सेवा अवरुद्ध हुँदा जिल्लामा ठूला उद्योगधन्दा नभए पनि रेडियो, पत्रपत्रिकालगायत सञ्चारमाध्यम, कम्प्युटर इन्स्टिच्युट, व्यवसायी समेत समस्यामा परेका थिए । लामो समयदेखि विद्युत् अवरुद्ध हुँदा स्थानीय उपभोक्ता समेत आक्रोशित भएका थिए । तानसेनका राजेश श्रेष्ठले चौबीस घण्टादेखि विद्युत् अवरुद्ध हुँदा अनेकन समस्या भोग्नुपरेको बताए । 

प्रकाशित मिति: सोमबार, असार २४, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update