Shittalpati
पाल्पामा घुमफिर गर्दै राजेश हमाल र धिरेन शाक्यसहितको टोली 

पाल्पा, नेपाली फिल्मी क्षेत्रका महानायक राजेश हमाल र नायक धिरेन शाक्यसहितको टोली विगत तीन दिनदेखी पाल्पामा घुमफिर गरिहेका छन् । दुबै नेपाली चलचित्रका हिरो हमाल र शाक्य पाल्पामा चलचित्र छायांकनको लागि नभई पाल्पाका विभिन्न ऐतिहासिक क्षेत्रहरुको अवलोकनसँगै घुमफिर गर्न पाल्पा आएका हुन् । 

निश्चित कार्यक्रको दायरा भन्दा फरक तरिकाले घुम्दै, स्थानीयवासीसँग कुराकानी गर्दै जे भेटिन्छ त्यही खाँदै, स–साना नानी बाबुदेखी वृद्धवृद्धा बुवाआमासँग फोटो खिच्दै, भलाकुसारी गर्दै नायक हमाल र शाक्य पाल्पाका विभिन्न स्थानहरुमा घुमेका छन् । 
 उनीहरुसहितको टोलीले पाल्पाको रामपुरको बेझाड बजार, कृत्रिम ताल तालपोखरा, १० अवतारको वालन नाच, नेपालकै ठूलो अम्रीसो बगान काउलेडाँडामा घुमफिर गरी स्थानीयवासीसँंग कुराकानी गर्दै फोटो खिच्दै रमाए । तानसेनमा उनीहरुले अंग्रेजलाई युद्धमा हराएको खुसियालीमा वि.स. १८७६ मा निर्माण भएको भगवती मन्दिर, काजी अमर सिंह थापाले विस १८६३ मा निर्माण गरेको अमर नारायण मन्दिर, पुरानो परम्परागत तानसेन शहर, मखनटोल, पाल्पा दरवार संग्रहालय, पद्यम पव्लिक माध्यमिक विद्यालय, श्रीनगरपार्क तथा बन क्षेत्र, भैरव मन्दिर भैरवस्थान, त्रिभुवन बहुमुखी क्याम्पस लगायतका  प्रसिद्ध क्षेत्रहरुमा   पुगेर घुमफिर गरेका छन् । 

पाल्पा परम्परागत कालदेखी नै एक पर्यटकीय गन्तव्य स्थल रहेकाले पर्यटकीय चहल पहल बढाउने, धेरै भन्दा धेरै मानिसलाई पाल्पाका रमणीय स्थलहरुको जानकारी गराउने र पाल्पामा घुम्न बोलाउने,  धार्मिक ऐतिहासिक सबै किसिमका पर्यटकहरुलाई  पाल्पा चिनाउने, पाल्पामा अन्तर्राष्ट्रिय स्तरका पर्यटकहरु भित्र्याउने मुख्य योजनाका साथ घुमफिर गर्दै हिडेको महानायक राजेश हमालले बताए । उनले भने ‘आफ्नो जन्मस्थान तानसेन निकै परिवर्तन भएको रहेछ, जन्म स्थानका साथीभाईसँगै घुम्न पाउँदा निकै रमाईलो लागेको छ । ’अर्का नायक धिरेन शाक्यले देशका चर्चित सेलिव्रेटीहरुलाई पाल्पामा ल्याउने, घुमाउने, र पाल्पाको प्रचार–प्रसार गर्ने र पाल्पामा आन्तरिक तथा बाह्य पर्यटकहरु भित्र्याउने अभियानमा जोडिएको बताए । 

पर्यटनको मेरुदण्ड  भनेको  आफ्नो स्थानलाई राम्ररी  चिनाउनु, आफ्नो स्थानप्रति अरुलाई आर्कषित गर्नु, धेरै भन्दा धेरै मानिसलाई आफ्नो स्थानमा भित्र्याउनु, आफ्नो क्षेत्रको कला संस्कृति, पहिचान, इतिहास, भेषभुषाले घुम्न आएका मानिसलाई आर्कषित गरेर खुसी बनाउदै स्थानीयवासीहरुलाई आयआर्जनसँग जोडेर जिविकोपार्जनलाई सहज र सजिलो बनाउने अभियानका साथ आफुहरु ‘यात्रा नेपाल’ मा रहेको यात्रा टोलिका संयोजक साकार प्रधानले बताए । यात्रा नेपालको क्रममा खिचिएका डकुमेन्ट्री प्रचार–प्रसार गरी पाल्पामा पर्यटकीय चलह–पहल बढाउन यो अभियान शुरु गरिएको व्यवस्थापक प्रकट नारायण श्रेष्ठले बताए । 

घुमफिरको लागि नेपाली काँग्रेस पाल्पाका सभापति हिमालदत्त श्रेष्ठ, दर्शन नेपालका सल्लाहकार सन्दिप राना, नेपाल रेडक्रस सोसाईटी पाल्पाका उप–सभापति भिमसेन कार्की, भगवती मन्दिर गुठी व्यवस्थापन समितिका अध्यक्ष अशोकमान महर्जन, तानसेन नगरपालिका– १ का वडा अध्यक्ष सुनिल बस्याल, वडा नंं २ का वडा अध्यक्ष महेश्वर श्रेष्ठ, वडा नंं ६ का वडा अध्यक्ष सागरमान महर्जन लगायतले टोलीको यात्रामा साथ दिएका थिए । यात्रामा सहभागी पाहुनाहरुलाई तानसेन टक्सारको नेवारी धिमेवाजा बजाउँदै स्वागत गरिएको थियो । 


 

प्रकाशित मिति: सोमबार, असार २४, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update