वर्षायामको शुरूआतसँगै पानी, खाना र कीटजन्य सरुवा रोगको जोखिम र प्रकोप पनि बढ्ने गर्दछ । बर्खा लाग्नु भनेको खेतीपातीको याममात्रै होइन यो विपद् र सरुवा रोगको प्रकोप देखा पर्ने याम पनि हो । वर्षाका कारण बाढीपहिरोका घटनाहरु बढेका छन् । यसले सरुवा रोगको प्रकोपलाई समेत बढवा दिएको छ ।
पानीजन्य रोगहरू दूषित पानीको संसर्ग, सेवन र पानीमा हुने अनावश्यक रसायनका कारण लाग्ने गर्दछ । खोला तथा दहको जमेको दूषित पानीमा पौडी खेल्दा खुला एमिबाको संक्रमण हुन्छ । पानीमा आर्सेनिकको मात्रा उच्च भएमा आर्सेनिकोसिस रोग लाग्ने सम्भावना हुन्छ । वर्षायाममा खासगरी दूषित पानीको सेवनले झाडापखाला, आउँ, टाइफाइडको समस्या देखिन्छ । वर्षासँगै आउने भेलले मानिस र जनावरका मलमूत्रलाई जमीनमुनि र बाहिरको पानीको स्रोतमा मिसाउनाले पानी दूषित बन्छ । पानीको मुहान नजिकै दिसापिसाब गर्दा, सुरक्षित भण्डारण र आवश्यकता अनुसार निर्मलीकरण नगर्दा पनि पानी दूषित हुन्छ । गर्मी मौसममा पानीको अभाव हुने भएकाले दूषित पानीको सेवन र समस्या बढेको देखिन्छ ।
वर्षाद्का बेला अधिकांश पानीको मुहान दूषित बनेका छन् । खानेपानीको समस्याले गर्दा कतिपयले बाध्यतावश दूषित पानी पिइरहेका हुन्छन् । वर्षायाममा पानीका मुहान दूषित हुने र जताततै पानी जम्मा हुने कारण किटाणुको प्रकोप पनि बढी हुन्छ । जसले डेँगु, मलेरिया, आँखा पाक्ने, टाइफाइड, भाइरल ज्वरो, निमोनिया, हैजा र झाडापखालाजस्ता रोगहरु निम्त्याउने गर्दछ । विशेषगरी वर्षाद्को बेला पानी उमालेर पिउने बानी बसाल्ने हो भने सरुवा रोगको संक्रमणबाट जोगिन सकिन्छ । टाइफाइड, हैजा, आउँ, झाडापखाला र रुघाखोकीजस्ता सरुवा रोग दूषित पानी, हावा र खानाको माध्यमबाट सर्ने गर्छ । एक व्यक्तिबाट अर्को व्यक्तिमा छिटो सर्ने रोग भएकाले यसको समयमा उपचार हुन नसके बिरामीको मृत्युसमेत हुनसक्छ । तसर्थ वर्षासँगै दूषित पानीका कारण हुन सक्ने सरुवा रोगको जोखिमबाट बच्न उच्च सर्तकता अपनाउन जरुरी छ ।