Shittalpati
प्रधानमन्त्री दाहाललाई राजीनामा दिन दवाब

पाल्पा, अल्पमतमा परेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’माथि राजीनामा दिन दवाब बढ्दै गएको छ । नेकपा एमाले, नेपाली काँग्रेस र राप्रापाका नेताहरुले लगातार रुपमा प्रधामन्त्रीलाई तत्काल राजीनामा दिन दवाब बढाएका हुन् ।

संसदमा बहुमत गुमाइसकेका प्रधानमन्त्री प्रचण्डले नैतिकताका आधारमा राजीनामा गरेर नयाँ सरकार गठनका लागि मार्गप्रशस्त गर्नुपर्ने भन्दै उनीहरुले दवाब बढाएका छन् । अल्पमतमा परेको काम चलाउ सरकारले अविलम्ब राजीनामा दिनुपर्ने काँग्रेस एमाले र राप्रपाका नेताहरुको भनाई छ । काम चलाउन सरकारका प्रधानमन्त्रीले लामो समय राजीनामा नदिइ पदमा बस्नु अनुचित रहेको उनीहरुको तर्क छ । काम चलाउ सरकारलाई कुनै पनि महत्वपूर्ण निर्णय नगर्न समेत नेताहरुले आग्रह गरेका छन् ।

जनमत गुमाइसकेको सरकारले मुलुकलाई दुरगामी असरपर्ने निर्णय गर्नु संविधानविपरीत हुने भन्दै एमालेको बैठकले समेत सरकारलाई सचेत गराएको छ । तर, प्रधानमन्त्री प्रचण्ड भने राजीनामा नदिई संविधानअनुसार संसद्बाट विश्वासको मत लिने अडान राख्दै महत्वपूर्ण निर्णयहरु गर्न थालेका छन् । संविधानले नै सरकारमा सहभागी दलले समर्थन फिर्ता लिए ३० दिनभित्र विश्वासको मत लिनुपर्ने व्यवस्था गरेकाले पनि प्रचण्डले त्यो बाटो अपनाएका हुन् । प्रतिनिधिसभाको बैठकमा समेत नेपाल कम्युनिस्ट पार्टी (एमाले), नेपाली कांग्रेस, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सहितका दलहरूका सांसदले शून्य समयमा बोल्दै बहुमत गुमाइसकेका प्रधानमन्त्री प्रचण्डले नैतिकताका आधारमा राजीनामा गरेर नयाँ सरकार गठनका लागि मार्गप्रशस्त गर्नुपर्ने बताउँदै आएका छन् । तर, नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का सांसदहरूले संविधानले नै समर्थन फिर्ता लिएपछि ३० दिनभित्र विश्वासको मत लिनुपर्ने व्यवस्था गरिएकाले नैतिकताको पाठ नसिकाउन जवाफ फर्काएका छन् । प्रधानमन्त्रीले यही असार २८ प्रतिनिधिसभामा विश्वासको प्रस्ताव प्रस्तुतिका लागि संघीय संसद्लाई पत्र पठाइसकेका छन् । तर उनले राजीनामा नदिएमा एमालेले प्रस्तावको विपक्षमा मतदान गर्ने निर्णय गरेको छ । यही असार १७ गते नेपाली कांग्रेस र एमालेबीच राष्ट्रिय सहमतिको सरकार गठन गर्ने सहमति भएको थियो । उक्त सहमतिपछि एमालेले यही असार २० गते वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिँदै सबै मन्त्री सरकारबाट बाहिरिएका थिए ।
 

प्रकाशित मिति: मंगलबार, असार २५, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update