Shittalpati
त्रिभुवन बहुमुखी क्याम्पसले मनायो ७० औं वार्षिक उत्सव

 भरत शर्मा

पाल्पा, शैक्षिक इतिहासमा पश्चिम क्षेत्रकै पुरानो र शिक्षा क्षेत्रमा अग्रणी भूमिका निर्वाह गर्दै आएको त्रिभुवन बहुमुखी क्याम्पस पाल्पाले ७० औँ वार्षिक उत्सव मनाएको छ । क्याम्पसले विभिन्न कार्यक्रमको आयोजना गरी वार्षिक उत्सव मनाएको हो ।

 २०११ सालमा तत्कालिन गभर्नर तारकबहादुर शाहाको अध्यक्षतामा यु.पि बोर्डको कोर्स राखी त्रिभुवन इन्टर मिडियट कलेजको रुपमा स्थापना भएको यस क्याम्पसबाट लाखौ दक्ष जनशक्ति उत्पादन भैसकेको छ । वि.स २०३० देखि करिव २० वर्ष क्याम्पमा त्यस बेला पश्चिमाञ्जल विकास क्षेत्रमा रहेका १६ जिल्लाबाट अध्ययन गर्र्न आउँदा ७ देखि ८ हजार विद्यार्थी हुने गर्दथे । जसका कारण तानसेन बजार नै गुल्जार हुने गर्दथ्यो । समय बदलिदो परिस्थिती र विकास क्रमले अहिले त्यस्तो अवस्था रहेको पाइँदैन ।  क्याम्पसको ७० औं वार्षिक उत्सवका क्रममा क्याम्पस प्रमुख टंक प्रसाद भट्टराईले प्रतिवेदनमा यिनै कुराहरु औल्याएका  छन् । हाल क्याम्पसमा २ हजार ६ सय १० जना विद्यार्थी अध्ययनरत छन् ।
वार्षिक उत्सवकै अवसरमा तानसेन नगरपालिकाका नगर प्रमुख सन्तोषलाल श्रेष्ठले पूर्व क्याम्पस प्रमुख स्वर्गीय धिरेन्द्र प्रसाद श्रेष्ठको स्मृतिमा बनाइएको नवनिर्मित भवनको उद्घाटन गरेका थिए ।  कार्यक्रममा नगर प्रमुख श्रेष्ठले त्रिभुवन क्याम्पसको गरिमा र यसको शैक्षिक इतिहास बारे चर्चा गर्दै क्याम्पसले उत्वादन गरेका दक्ष जनशक्ति आज राष्ट्रिय अन्तर्राष्ट्रिय क्षेत्रमा रहेको बताए । उनले विगतको गौरवशाली इतिहास बोकेको  क्याम्पसको समय सापेक्ष शैक्षिक गुणात्मक विकासका  लागि सबै क्षेत्रबाट रचनात्मक सहयोगको आवश्यकता रहेको उल्लेख गरे ।

क्रार्यक्रममा नेपाली काँग्रेस पाल्पाका सभापति हिमालदत्त श्रेष्ठ, नेकपा एमालेका जिल्ला अध्यक्ष ओमबहादुर घर्ती नेकपा माओवादीका जिल्ला अध्यक्ष राजेन्द्र विश्वर्कमा,  राष्ट्रिय स्वतन्त्र पार्टीका जिल्ला अध्यक्ष सुमन गैरे, नेकपा समाजवादी जिल्ला अध्यक्ष अशोक कुमार शाही , राप्रपाका जिल्ला अध्यक्ष डुलबहादुर कुंवर, राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष विशाल दर्लामी, पूर्व क्याम्पस प्रमुखहरु चोलेश्वर शर्मा, मनमोहन श्रेष्ठ, केशवराज शर्मा लगायत सघंसस्था प्रमुखहरुले  वार्षिक उत्सवको सफलताको शुभकामना व्यक्त गर्दै क्याम्पस सबैको साझा संस्था भएकाले राजनीतिकरण नगरी विशुद्ध शैक्षिक संस्थाका रुपमा विकास गर्नुपर्नेमा जोड दिए । क्याम्पस प्रमुख टंक प्रसाद भट्टराईको अध्यक्षता, सहायक क्याम्पस प्रमुख कृष्ण बहादुर कार्कीको स्वागत र प्राध्यापक पुस्कर आचार्यको सञ्चालनमा कार्यक्रम भएको थियो ।     

 

 

प्रकाशित मिति: मंगलबार, असार २५, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update