Shittalpati
पाल्पा ‘पूर्ण खोप’ सुनिश्चितता जिल्ला घोषणा

पाल्पा, जिल्ला ‘पूर्ण खोप’ सुनिश्चित तथा दिगोपना घोषणा भएको छ । १६ महिनादेखि ५ वर्षमुनिका बालबालिकाहरुले पूर्ण खोप पाएपछि मंगलबार एक समारोहकाबिच जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको हो ।

लुम्बिनी प्रदेशका सभामुख तुलराम घर्ती मगर (बसन्त)ले खोप समन्वय समितिका संयोजक टंकनाथ खनाललाई जिल्ला घोषणाको प्रमाण हस्तान्तरण गर्दै पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरेका हुन् । जिल्लाका १० वटै स्थानीय तहका ८१ वटै वडामा घरधुरी सर्वेक्षण गरी जन्मेदेखि १५ महिना मुनिका ३ हजार ३ सय ८ जना बालबालिका र छुट्टै १६ महिना देखि ५ वर्ष मुनिका १० हजार ५ सय ६० जना बालबालिका मध्ये सर्वेक्षण गर्दा भेटिएका ६ जना बालबालिका ड्रप आउट भएकाहरुलाई सबै पूर्ण खोप पाएको सुनिश्चित गरिएको जिल्ला खोप समन्वय समितिका सदस्य सचिव तथा स्वास्थ्य कार्यालय पाल्पाका प्रमुख डा.राजेन्द्र गिरीले बताए । स्थानीय तह र वडासँगको समन्वयमा घरधुरी सर्वेक्षण गरी प्राप्त प्रतिवेदनको आधारमा जिल्लालाई पूर्ण खोप सुनिश्चित तथा दिगोपना घोषणा गरिएको उनको भनाई छ । पूर्ण खोप सुनिश्चितताका लागि ९५ प्रतिशत सूचकांक पुरा गर्नु पर्ने हुन्छ । यहाँका सबै स्थानीय तहले ९५ प्रतिशत सूचकांक पुरा गरेको स्वास्थ्य कार्यालयले जनाएको छ । जिल्लाका दशवटै स्थानीय तहहरुले पूर्ण खोप सुनिश्चितता र दिगोपना घोषणा गरिसकेकाले सोहि प्रावधान बमोजिम जिल्लालाई पनि घोषणा गरिएको कार्यालय प्रमूख गिरीको भनाइ छ । पाल्पालाई पहिलो पटक २०७० साल फागुन १३ गते पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको थियो । हरेक वर्ष जिल्लालाई पूर्ण खोप सुनिश्चित गर्नुपर्ने प्रावधान रहेको छ । प्रदेशस्तरीय पूर्ण खोप प्रदेश घोषणा भने २०७९ भाद्र ३१ गते गरिएको थियो । विगत ३ वर्षदेखि जिल्लालाई दिगोपना सुनिश्चितता घोषणाको निरन्तरता दिइएको स्वास्थ्य प्रमुख गिरीले बताए । उनले तीन आर्थिक वर्षको नियमित खोप कार्यक्रमको प्रगति अवस्था तुलना गर्दा पूर्ण खोपको सूचक लक्ष्य अनुसार प्रगति कम देखिएको, जनसंख्या वृद्धिदर ऋणात्मक अवस्था रहेको, लक्षित बालबालिकाको जनसंख्या नमिल्नु, सुरुमा खोप लगाए पनि उमेर बढ्दै जाँदा खोपको पूर्णमात्रा बारे जानकारीको अभाव र खोप सम्बन्धी परामर्श कमी जस्ता चुनौती रहेको बताए । उनले भने ‘पूर्णखोप घोषणा गर्नु आफैमा एक महत्वपूर्ण कार्य भएता पनि यसको दीगोपना कायम गरी निरन्तर पूर्णखोप प्राप्त गरेको सुनिश्चितता गर्नु अझ अपरिहार्य र महत्वपूर्ण कार्यका साथै चुुनौतीको विषय हो ।’

जिल्लालाई सुनिश्चितता तथा दिगोपना घोषणा गर्दै लुम्बिनी प्रदेश सभाका सभामुख तुलराम घर्तीले घोषणा गर्नु ठूलो कुरा नभई त्यसलाई दीगो रुप दिनु महत्वपूर्ण हुने बताए । उनले स्वास्थ्य संवेदनशील विषय भएकाले सरोकारवाला निकाय गम्भीर बन्नुपर्नेमा जोड दिए । सभामुख घर्तीले शिक्षा र स्वास्थ्यलाई राज्यले समेत प्राथमिकतामा नराख्ने प्रवृत्ति रहेको उल्लेख गरे । सभामुख घर्तीले भने ‘भौतिक मन्त्रालयमा १२ अर्ब बजेट जान्छ तर शिक्षा र स्वास्थ्यमा २ अर्ब बजेट पनि जाँदैन ।’ शिक्षा र स्वास्थ्य तीनै तहका सरकारको प्राथमिकतामा पर्नुपर्नेमा उनले जोड दिए ।

कार्यक्रममा प्रदेश सांसद तथा पूर्वमन्त्री वीरबहादुर रानाले घोषणा गर्नुलाई अभिनयका रुपमा नलिई अभियानका रुपमा लिनुपर्ने बताए ।  उनले हरेक कार्यक्रम घोषणालाई अभिनयका रुप लिने प्रवृत्तिका कारण सार्थकता पाउन नसकेको उल्लेख गर्दै सुनिश्चितता तथा दिगोपना घोषणा कार्यक्रमलाई अभिनयका रुपमा नलिई अभियानका रुपमा लैजान सरोकारवाला निकायलाई आग्रह गरे । अर्का प्रदेश सांसद खेमबहादुर सारुले शिक्षा र स्वास्थ्य एक अर्कोका परिपूरक भएकाले यी दुवै सुनिश्चितता नहुँदा बसाईसराई बढ्दो रहेकाले त्यसतर्फ सबैले ध्यान दिनुपर्ने बताए । कार्यक्रममा माथागढी गाउँपालिकाका अध्यक्ष यमबहादुर चिदी, तानसेन नगरपालिकाका प्रवक्ता यादवसिं कार्की, महिला स्वास्थ्य सामुदायिक स्वंयमसेवीका पाल्पाकी संयोजक सावित्रा अधिकारी लगायतले पूर्णखोप सुनिश्चिततासँगै यसको दिगोपना प्रभावकारी कार्यान्वयनमा विशेष ध्यान दिनुपर्नेमा जोड दिएका थिए । जिल्ला खोप समन्वय समितिका संयोजक एवं जिल्ला समन्वय समितिका संयोजक टंकनाथ खनालले नेपालको संविधानको धारा ३५ र स्थानीय सरकार संञ्चालन ऐन, ०७४ ले नै प्रत्यक बालबालिकालाई पूर्ण खोप पाउनै पर्ने कानुनी ब्यवस्था गरेको र विश्व स्वास्थ्य संगठनको प्रावधान अनुसार पनि वर्षेनि पूर्ण खोप सुनिश्चिता र दिगोपना घोषणा गर्ने गरिएको  बताए । स्वास्थ्य निर्देशनालयका प्रतिनिधि कुमार थापाले जिल्ला घोषणाको प्रमाणपत्र वाचन गरेका थिए । सोही अवसरमा पूर्ण खोप सुनिश्चित गर्न सहयोग पुर्‍याएका महिला स्वास्थ्यकर्मी, स्वास्थ्य कार्यालयका कर्मचारी, स्थानीय सरकार र विभिन्न संस्थाहरुलाई सम्मान समेत गरिएको थियो । कार्यक्रम जिल्ला खोप समन्वय समितिका संयोजक तथा जिल्ला समन्वय समितिका प्रमुख टंकनाथ खनालको अध्यक्षता, स्वास्थ्य कार्यालयका लेखनाथ अर्यालको सञ्चालनमा कार्यक्रम भएको थियो ।

जिल्ला घोषणा गर्नुअघि बैशाख २० गते पूर्वखोला गाउँपालिका, वैशाख २७ गते रिब्दीकोट गाउँपालिका, बैशाख ३१ गते माथागढी गाउँपालिका, जेठ १ गते रैनादेवी छहरा गाउँपालिका, जेठ २ गते तिनाउ गाउँपालिका, जेठ ४ गते रम्भा गाउँपालिका, जेठ ७ गते निस्दी गाउँपालिका, जेठ १४ गते बगनासकाली गाउँपालिका जेठ २४ गते तानसेन नगरपालिका र जेठ ३० गते रामपुर नगरपालिका  पूर्णखोप दिगोपना सुनिश्चिता घोषणा भएका थिए ।

प्रकाशित मिति: मंगलबार, असार २५, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update