Shittalpati
कमनसेन्स र यसको अन्तर्य

स्वभाविक ज्ञान, सहज बुद्धि सबैमा हुन्छ । प्रकृति  प्रदत्त ज्ञान सहज ज्ञान हो । मनुष्य र सारा प्राणीमा कुन काम गर्न हुन्छ र हुदैँन भन्ने ज्ञान जन्म देखिनै जुन हुन्छ त्यो सहज ज्ञान हो । अंग्रेजी वाक्य कमन सेन्स नेपालीको पनि बोलिचाली बनेको छ । दुई वा सो भन्दा बढी व्यक्तिले गर्ने कार्य,समूूह, साझा प्रयोग कमन हो । कमन वेडरुम, कमन वाधरुम जस्ता बोलि सहजै बोलिन्छ । भाव, इन्द्रिय, होस, हवास, लवज, मतलव, अर्थ, माने, आशय, अभिप्राय, तुक, सार, संज्ञा, संवेदना, अभिधेय, समझ, विवधा, छनक आदि सेन्स हुन् । अ नेचुरल एप्लिकेसन अफ  अविलिटी सेन्स हो । सामान्य भन्दा सामान्य बुद्धिको उपयोग वा  अभ्यास गर्नु कमनसेन्स हो ।

अन्टसन्ट बोल्ने, असभ्य वोल्ने  र अस्वभाविक व्यवहार गर्नेलाई कस्तो कमन सेन्स नभएको भनेर टिप्पणी गरिन्छ । यस्तोलाई नेपालीमा सोमत नभएको पनि भनिन्छ । राम्रो किसिमको आनीवानी, सभ्य आचरण ,सभ्यपन, शिष्टता, भ·ता छ भने सोमत भयो नत्र सोमत नभएको, कमन सेन्स नभएको भयो । कमन सेन्स शारिरीक र मानसिक दुई रुपमा हुन्छ । दृष्टि, शव्द, गन्ध, स्वाद, स्पर्श शारिरीक सेन्स हुन् । तरकारी नुनिलो चिया गुलियो पकाउनु कमनसेन्स हो । कुनै विषयमा यथोचित बुझकी हुनु कमनसेन्स हो । स्वस्थ्य र प्रज्ञावान निर्णय कमन सेन्सका मानक हुन् । अर्थात् पक्षपातरहित, पूर्वाग्रहरहित व्यवहार । उचाईबाट हाम फाले अंगभंग हुन्छ, मरिन्छ, आगो वा तातोले पोल्छ, वरफ वा हीऊं चिसो हुन्छ कमनसेन्स हो । जाडोमा न्याना वाक्ला  कपडा र गर्मिमा हल्का कपडा लगाउनु कमन सेन्स हो । भोक लागे भोजन, प्यास लागे पानी, निद्रा लागे सुत्नु,थकाई लागे आराम गर्नु,बिरामी भए उपचार गर्नु पर्छ भन्ने ज्ञान कमन सेन्स हो । ठूूलालाई आदर, सानालाई माया, दुखिलाई दया गर्नु कमन सेन्स हो ।

सहज ज्ञानका सहज कुरा गरिसकेपछि सहज ज्ञानका हाम्रो अभ्यासको अवस्था नियाल्दा हामी सहज छौँ कि असहज । आदर्श आचरण  र पालना, मान्यजन्य प्रतिको पालना, शिक्षा, तालिम, शिक्षण प्रक्रिया, सार्वजनिक सेवा दिदा र लिदाका अवस्था र व्यवहार, अदप, नियमितता, सुव्यवस्था, संयंम्, आत्म संयममा  हामीमा कमन सेन्स कस्तो छ ? सामाजिक, नैतिक, धार्मिक, राजनीतिक  नियमावली भित्र रहेर तत् व्यवहार गरेका छौ कि देखावटी । सिंहदरबारले सेवा र सुविधा  प्रवाह गर्दैन तर सिर्जना गर्छ । सिर्जना गर्ने ठाउमा प्रवाह गर्ने जनशक्ति खचाखच तर प्रवाह गर्ने कार्यालय अझ मोफसलमा दरवन्दी कम र पूर्ति कम भएपछि धेरैको काम थोरैले गर्दा हुने विलम्वमा खप्कि र दप्कि बेहोर्नेका बेथा न जनताका कमन सेन्समा छ न खटन पटन गर्नेका । कुनै काम लिन के–के कागजात  लिएर जाने र पालो कुर्ने भन्ने कमन सेन्स भन्दा पनि भनसुन गराउने र चिनजानको खोज्ने कमन सेन्स स्थापित छ । संसदमा माननीयहरु निदाउएर घुर्नु हुन्छ उपसभामुखकै मुखबाट उजगार हुँदा संसद सांसदको निदाउने ठाउँ हो भन्ने कमन सेन्स लगाउन नमिल्ला र ? विश्वास, अविश्वासको र राष्ट्रपतिले वाचन गर्ने बैठक बाहेक विपक्षी दलका नेता, ठूूला दलका प्रमुख संसदमा उपस्थित हुन सुहाउँदैन भन्ने कमन सेन्स लगाउने कि नाई ? संसदको बैठकमा एक सिटे चित्रबहादुर र  प्रेम सुवाल नहुने हो भने ज्ञानेन्द्र शाही नहुने हो भने कसले बोलेको सुन्ने नियमित विषयमा । अझ खुद्रे पसल बन्द गराउ रे । थोक पसल त सरकार बनाउने र गिराउने  विषयमा खुल्छन्, अघिपछि धानेकै खुद्रे पसलेले हो । खुद्रे पसल बन्द गराउने हो भने थोक पसल खुली रहनु पर्‍यो नि होइन र कमन सेन्स । प्रधानमन्त्री  निवास दलका र क्वाविनेट बैठक गर्ने ठाउँ हो भन्ने कमन सेन्स भएको छ । जुन दलको मन्त्री छ, उनका  दल सम्बन्धी  बैठक पनि मन्त्रालयमा गर्दा तारे  होटलका  खाजा खर्च मन्त्रालयकै कामको हुने कमन सेन्स छ ।

नेपालीले विदेशी प्रवेशाज्ञा लगाएर विदेश गयो भने उसको सहज ज्ञान अर्कै हिसावले पलाउछ । नेपालमा बसो भने अर्कै हिसावले । स्वदेशमा कुकुरलाई सडकमा, अर्काको गेटमा, अन्य सार्वजनिक स्थानमा मुताउँछ, हगाउछ, आफ्नो घरको फोहोर  खालि ठाउँमा, खोलामा  सुटुक्क मिल्काउछ, यहाँ छदा लाइन बस्न, पालो कुर्न पर्द रिसाउछ, घरमा गिलास, थाल पिलेट सफा गर्न लजाउछ । नुहाएपछि कट्टु धुन्न, पखाली हालो भने सुकाउन्न, सुकाइहालो भने उठाउन्न, जीउ पुछेर चिसो टावेल सुकाउन्न । उसको सहज ज्ञानले यसो गर्न दिदैन । उता गएपछि रेष्टुरेन्टमा भाडा माच्छ, सार्वजनिक ट्वाइलेट टल्काउछ, उताका बुढाबुढीलाई नुहाइदिन्छ, खुवाइ दिन्छ, धुवाइ दिन्छ । अनि  फेसबुक, इन्स्ट्राग्राम, वाट्सएपमा पोष्ट गर्छ, ट्वीट गर्छ, नेपालका नेता र कर्मचारीलाई सराप्छ देश विगारे भनेर । भन्छ नेपालमा काम गर्ने वातावरण नै छैन् । उता कोदाको बाला टिप्छ, केरा बोक्छ, स्याउ, सुन्तला प्याक गर्छ,ऊट चराउँछ, चार घण्टामा निद्रा पुर्‍याउछ । यता हुँदो सोह्र घण्टा सुत्छ, पल्सर कुदाउँछ, सुकुटे  जान्छ, त्रिशुली जान्छ, माछा चपाउछ, वियर निल्छ, बाउआमालाई सताउछ, धम्काउछ, लुट्छ, गलफ्रेण्ट, व्यायफ्रेण्ड भन्छ अल्लारिन्छ, बरालिन्छ । ट्राफिक नियम मान्दैन, जान्दा पनि जान्दैन । सडक पेटी नभएका ठाउँमा दाया पट्टिबाट पैदल हिड्न जानेन, सिकेन, सिकाएनन् । बाँया लेन ड्राइभि· भएको देशमा पैदल यात्री दायाँबाट भन्ने न बाउले जाने  नआमाले, न चालकले, न ट्राफिकले, न पाठ्यक्रमले, न शिक्षकले । लेफ्टसाइड ड्राइभि· भएका ठाउँमा दायाबाट हिड्दा बाँयाबाट हिड्ने गाडी पर पर्छ, र सामुन्नेबाट आाउने गाडी सजिलै देख्न मिल्ने भइ बढी सुरक्षित हुन्छ भन्ने कमन सेन्स जानेकै छैन्, आकासे पुल देख्दैन, जेव्रा क्रसिङमा रोक्दैन । नाक मुख नछोपी हाछिउ गर्छ, खोक्छ, सडकमै थुक्छ, गुट्का, खैनिका खोल, चुरोटका ढुटा, चकलेट, चाउचाउ, विस्कुट, कुरकुरे, चिप्सका खोल सडकमै फाल्छ अनि भन्छ सरकारले सफा गर्दैन । उता यसो गरे जरिवाना, जेल हुन्छ भन्ने बुझेको छ, अरुलाई पनि सिकाउछ  आखिर हो त नेपाली सहज ज्ञान भने फरक–फरक अवलम्वन गर्छ । विदेशी पल्टनमा भर्ति खुल्यो, उमेर पुगेन बढायो, बढी भयो घटाएर दुईवटा नागरिकता लिने, भर्ति मिलेन खाडी गयो यो कमनसेन्स अहिले ई पासपोर्टले समात्यो नमिल्ने भए पहिले किन दियो यस्तो छ कमनसेन्स । जान्ने मान्छे ठूूला मान्छेले  एउटा रद्द गरायो, झन् ठूूलो पद खायो, मिल्लात नि भनेर लहलहैमा गर्नेले थुन्छ रे भनेर अनागरिकझै  बनेर गुपचुप छ, फरक छ कमनसेन्सको बुझाइ र भोगाई ।

बेलायतमा चुनाव भयो, मत गनिनसक्दै हार्नेले जित्नेलाई बधाई दियो, सरकार हस्तान्तरण गर्‍यो । भारतमा चुनावी गठबन्धन गरे । गठबन्धनको धेरै सिट पाउनेलाई प्रम चुने । यहाँ चुनाव सकियो जसको मतले जित्यो उसलाई छोडेर अर्कोसँग मिल्छ । धेरै ल्याउने थौरै ल्याउनेलाई सुम्पिनछ, जेठाले नदिए माइलाले दिन्छ, साईलाले र काईलाले हल्लाउछ, त्रसाउछ, छलाङ मार्छ, पालो पालो पछार्छ, फकाउछ, जिल्याउछ, डण्डा लाउछ लखट्छ फेरी रोटी देखाउछ चे चे भन्छ भुलाउछ । अरु मिले अपवित्र आफुसँग मिले पवित्र भन्छ । बहुमत पुग्ने भए चमत्कार छ भन्छ, नभए सजिलै दिम्लार खालास भन्छ । हुन पनि  जुगाड मिलाउन  अवधि सबैले लिएकै हुन । सहज ज्ञान भन्छ  दलका  राजनीतिक, कुटनीतिक, आर्थिक, सामाजिक, न्यायिक, सांस्कृतिक सिद्धान्त हुन्छ । दलका नेतागण  भन्छन् यात्राको सिद्धान्त जसरी, जसँग नि गठबन्धन हुन्छ, सके थाल भरी नभए कटौरामा भाग लगाईन्छ । आफु भए उपलब्धी अरु भए घेराबन्धी । काण्ड खोलिन्छ, कारवाही गरिन्छ । बुढाहरु पर्लान् र पालो आउला भनेका कुर्लन्छन् लौ खोल, गर कारवाही, ताकत देखा । बुढाहरु मुसुमुसु, सहमति नटुट्ने, घात नहुने भनेकै, मिल्ने भनेकै यसैमा हो, झर्ला र खालास । भुटानीमा, सुनमा, ललितमा देखिनस् र ?  के को वगान, सगान जस्ता कुरा गर्छस् । खै तेरो सहज ज्ञान, खै तेरो कमन सेन्स । यो सरकार पुरै अवधि टिक्छ, यो गठबन्धन बीस बर्ष चल्छ भन्छ भने आयु  सकिन लागेछ भनेर कमन सेन्स बनाए हुने भाछ । अब बन्नेले पनि कथित सहमतिको पालो सकिए पछि छोड्न मानेन् भने के हुन्छ ? कमनसेन्स लगाएकै होला । एउटासँग अर्काको विश्वास संशयपूर्ण छ, विगतका अभ्यासले राखेको कमन सेन्सेले भन्छ । नुन, तेल, चिनी, दाल, चामल, ग्यास जति पनि आपूर्ति छ भनेको सुन्ने वित्तिकै जनताले अतिरक्त भाउ तिरेर अतिरिक्त परिमाण जम्मा गर्ने देशमा कमनसेन्सको कमन सेन्स बुझ्न कठिन छ । यो वर्ष मनुसनले ताण्डव देखाउँदै छ । सुरक्षित बसौं, अलर्ट रहौं, अनावश्यक यात्रा नगरम कमनसेन्स लगाम ।

प्रकाशित मिति: बुधबार, असार २६, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update