Shittalpati
विश्व जनसंख्या दिवसको सन्दर्भ

विश्व जनसंख्या दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै छ । संयुक्त राष्ट्रसंघले सन् १९८९ मा हरेक वर्ष ११ जुलाई अर्थात् आजको दिनलाई विश्व जनसंख्या दिवसका रूपमा मनाउने घोषणा गरेको थियो । जनसंख्याको मुद्दा र पर्यावरण तथा विकासका सम्बन्धमा जागरुकता फैलाउनु यस दिवसको मुख्य उद्देश्य हो ।

विश्वको जनसंख्या करिब ५ अरब पुगेको अवसरमा भएको पपुलेशन समिटले यो दिवस मनाउने घोषणा गरेको थियो । यो दिवसले अहिले लामो समय पार गरिसकेको छ । विशेषगरी जनसंख्यासँग सम्बन्धित रहेका मुद्दाहरुलाई केन्द्र बिन्दुमा राखेर देखिएका समस्याहरुलाई सम्बोधन गर्ने हेतुले दिवसको प्रारम्भ भएको मानिए पनि त्यसपछिको समयमा बढेको तीव्र जनसंख्याका कारण उत्पन्न परिस्थितिमाथि नियन्त्रण पाउन भने नसकिएको अवस्था छ । हाल विश्वको जनसंख्या ८ अर्बभन्दा बढी छ, जुन साढे तीन दशक अवधिभित्रमा ३ अर्बले वृद्धि हुन पुगेको छ । समग्र जनसंख्याको वृद्धिदरलाई हेर्दा त्यसले अहिले चिन्तालाई बढाइरहेको छ । यद्यपी जनसंख्या वृद्धि वास्तवमा अवसर हो या चुनौती भन्ने विषयमा भने विवाद शुरु भएको छ । वातावरण गम्भीर रूपमा बिग्रनुको कारण मानवीय व्यवहारलाई लिने गरिएको छ । मानवकै अज्ञानको कारणबाट नै वन विनाश, भूक्षय आदि हुने गरेको छ । तर सधैँ जनसंख्या वृद्धि नकारात्मक पनि हुँदैन्, अहिले विश्वका विकसित मूलुकहरुमा आफ्नो खस्कँदो जनसंख्याका कारण देशको भविष्य नकारात्मक विन्दुमा पुगेका घटनाहरूले डरलाग्दो अवस्थाको सिर्जना गरेको छ । मान्छेहरु बच्चा जन्माउन भन्दा पनि काम, विकास र नवप्रर्वतनमा लागेकाले यसो भएको हो । जनसंख्या थोरै भएमा थोरै श्रोतले पनि गुणस्तरयूक्त जीवन धान्न मिल्ने तथ्य आफ्नो ठाँउमा छ तथापि विकास अनि समृद्धिका लागि चाहिने जनशक्तिको पूर्णता पनि जनसंख्याले नै गर्ने त हो । तर राज्यगत तहबाटै जनसंख्याप्रतिको दायित्वमा भेदभाव हुनुले वर्गीय, जातीय, लैङ्गीय तवरमै समानताको पहुँच पुग्न सकिरहेको छैन । अझ त्यसमा पनि धार्मिक अधिकारमा अङ्कुश लगाएर, यौन हिंसालाई बढवा दिएर, अपाङ्गताहरुको अधिकारबाट बञ्चित गराएर भैरहेका भेदभाव र उत्पीडनले जनसंख्याको ठूलो हिस्सा प्रभावित बनिरहेको छ । सिङ्गो विश्वलाई आदर्शको रुपमा लिइन थालिएको दशकौँ भए पनि त्यसले मूर्तरुप पाउन नसक्ने खतरा भने झन्झन् बढ्दै गैरहेको छ ।

नेपालको सन्दर्भमा कुरा गर्दा जनसंख्याप्रतिको अहं दायित्वअन्तर्गत सुरक्षाको प्रत्याभूति, रोजगारीको सुनिश्चितता र शिक्षाको सुविधा देशमै उपलब्ध गराउन अब ढिलो गर्नं हुँदैन । गरिबी र अभावले देशमा रहेको जनसंख्याको ठूलो हिस्सा निरन्तर पलायन भैरहने नियतिलाई अब पनि रोक्न सकिएन भने आउँदा दिनमा थप क्षति बेहोर्नपर्ने अवस्था आउनेछ ।  तसर्थ विदेश पलायन हुने जनसंख्यालाई स्वेदशमै रोक्न सकिएन भने दिवस मनाउनुुले सार्थकता प्राप्त गर्न सक्दैन ।

प्रकाशित मिति: बिहीबार, असार २७, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update