Shittalpati
जंगली च्याउ नखाऔं

वर्षायाम सुरु भएसँगै जंगली च्याउ उम्रिन थालेका छन् । हरेक वर्ष यही समयमा देशका विभिन्न ठाउँहरुमा जंगली च्याउ खाएर यति जनाको ज्यान गयो, यति विरामी भए भन्ने समाचारहरु आउने गर्छन् । यस पटक पनि त्यस्तो अवस्था नआउँला भन्न सकिदैन । खेतबारी, बनजंगल वरपर यति बेला छपछपत्ति च्याउ उम्रिन थालेका छन् । च्याउ एक निःशुल्क पाइने पौष्टिक आहारा हो । तर, यसको खाने र नखाने प्रजाति हुन्छन् । जंगली च्याउ विषालु हुन्छन् । त्यस्तो च्याउ खाँदा गम्भीर बिरामी परिने र मृत्यु समेत हुन सक्दछ । मानिसले च्याउ पहिचान नै नगरी खाँदा मृत्युु समेत हुने गरेका थुुप्रै घटना छन् । पकाउँदा पनि जंगली च्याउमा हुने विष कम हुँदैन ।

च्याउ जरा र पात नभएको, फूल नफुल्ने सूक्ष्म रेसाहरूले बनेको सानो वनस्पती हो । विशेषज्ञहरूको अनुसार, जंगलबाट ल्याएको विषालु च्याउको सेवनले कलेजो, मृगौला, मस्तिष्क, मुटु, आँखा, मांसपेसी, फोक्सो लगायतमा असर पर्छ । अनि सेवनकर्ताको मृत्यु समेत हुन सक्छ । मानिस निकै हौसिने र लोभिने गर्छन्, च्याउ देखेपछि । च्याउ प्राचीन कालदेखि खाँदै र रमाउँदै आएको एक जंगली वनस्पति प्रजाति भए पनि यसको उचित पहिचान गाह्रो छ । नयाँ–नयाँ र उस्तै देखिने प्रजातिका च्याउ पनि उम्रिइरहेका छन् । पछिल्लो समयमा ग्लोबल वार्मिङ र अन्य वातावरणीय प्रभावका कारण पनि खाइरहेका च्याउमा विषादी देखिन थालेको छ ।

च्याउका प्रजातिको पहिचान र विषादी पहिचानको आवश्यकता छ । प्रजाति पहिचान र सतर्कतापछि मात्र मानिसको च्याउ खाँदा मृत्यु हुने सम्भावना कम हुनसक्छ । जंगली च्याउमध्ये कुन खान योग्य छ भन्ने कुरा प्रयोगशालामा वैज्ञानिक परीक्षण गरेपछि मात्र यकिन गर्न सकिन्छ, परम्परागत तरिकाको कुनै भर हुन्न । यद्यपी जंगली च्याउ जतिसुकै खानयोग्य लागे पनि नखानु नै राम्रो हुन्छ । तसर्थ बर्खायाममा जंगलमा च्याउ बढी मात्रामा उम्रने र त्यो विषालु हुने भएकाले नखाऔं ।  

प्रकाशित मिति: शुक्रबार, असार २८, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update