Shittalpati
माथागढीकी बेपत्ता महिला खोलामा मृत फेला, कालिगण्डकी किनारमा अर्का पुरुष मृत भेटिए

पाल्पा, जिल्लाको माथागढी गाउँपालिका –४ झडेवाकी बेपत्ता भएकी एक महिला खोलामा मृत भेटिएकी छन् । गत असार २२ गते खेतमा काम गरी बेलुकी घर फर्किने क्रममा बेपत्ता भएकी झडेवाकी ७९ वर्षीया पदमकुमारी घर्ती नजिकैको खोलामा मृत अवस्थामा फेला परेकी हुन् ।

बेपत्ता घर्तीको खोजी गर्ने क्रममा झडेवा खोला किनारमा मृत अवस्थामा फेला पारिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक सुगन्ध श्रेष्ठले जाकारी दिए ।  प्रहरीले महिलालाई खोला तर्ने क्रममा बगाएको हुन सक्ने प्रारम्भिक अनुमान गरेको छ ।

खेतमा काम गर्न भनि गएकी र बेलुकी अबेरसम्म घर नफर्किएपछि परिवार र आफ्न्तले खोजीकार्य गरिदिन प्रहरीलाई अनुुरोध गरेका थिए । हराएकै दिनदेखि प्रहरी, आफन्तजन, स्थानीयबासीहरुले उनको खोजतलास गरेका हुन् । खोज्दै जाँदा गाउँपालिकाको केन्द्रदेखि केही तल खोलामा ६ दिनपछि उनी विहीबार मृत अवस्था भेटिएकी थिइन् । घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । यस्तै जिल्लाकै रम्भा गाउँपालिका–१, सर्दीस्थित कालीगण्डकी नदी किनारमा एक पुरुषको शव फेला परेको छ । नामथर, वतन नखुलेका अन्दाजी ४०/५० वर्षको जस्तो देखिने पुरुषको शव नदी किनारमा भेटिएको प्रहरीले जनाएको छ ।  

विष सेवनबाट ५९ वर्षीय पुरुषको मृत्यु

यस्तै  विष सेवनबाट एक पुुरुषको मृत्युु भएको छ । तानसेन नगरपालिका –११ बडहरबोटका  ५९  वर्षीय तिलबहादुर रानाभाटको विष सेवनबाट मृत्युु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । विहीबार कोही कसैलाई जानकारी नगराई घरबाट हिँडेका उनी घरदेखी अन्दाजी २ कि.मी. दक्षिणतर्फ रहेको प्रतिक्षालयमा फलामको बेञ्चमा विषादीको बट्टसहित सुतिरहेको अवस्थामा मृत फेला परेका थिए ।

जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षकको कमाण्डमा गएको प्रहरी टोलीले मृतकको नजिकै रोगो क्राउ लेखेको तरकारीमा छर्ने विषादीको बट्टा फेला पारेको थियो । प्रारम्भिक अनुसन्धानपछि शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल पठाईएको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

 

प्रकाशित मिति: शुक्रबार, असार २८, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update