Shittalpati
सिमलताल बस दुर्घटना : तीनजना पौडिएर बाँचे

चितवन, नारायणगढ–मुग्लिन सडकखण्डको सिमलतालमा गएको पहिराले त्रिशूलीमा बस खस्दा बाच्न सफल भएका तीनजनाको भरतपुरका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । एकजनाको भरतपुर अस्पतालमा र दुईको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ ।  

उनीहरू बिहीबार साँझ ७ः३० बजे काठमाडौँबाट रौतहट गौरका लागि छुटेको गणपति डिलक्स बसमा सवार थिए । तीमध्ये रौतहटका नन्दन यादवले बसको सिसा फुट्दा झ्यालबाट निस्किएर बाँच्न सफल भएको बताए । ‘बसमा हामी ३० देखि ३५ जना थियौँ । त्यसमध्ये तीनजना त्रिशूलीमा खसेको बसको सिसा पुटेपछि बाहिर निक्सियौँ, पौडिएर बाँच्न सफल भयौँ ।’ खाना खाएर बस चढेको एक घण्टापछि बस दुर्घटना भएको उनले सुनाए । ‘हामी गाडीबाट कसरी बाहिर निस्कियौँ भन्नेसमेत थाहा छैन, एकैपटक पानीमा झरेपछि मात्र सबै थाहा पायौँ’, उनले थपे, ‘बस पानीमा धेरै मुनी पुगेको थियो । हामी झ्यालबाट खसेपछि पौडी खेल्दै खेल्दै नदी किनारमा आएर बाँच्न सफल भयौँ ।’ टाउँकोमा चोट लागेका यादवको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । उपचार गररेर फर्किँदै गरेका गरुडा–९ रौतहटका जुगेश्वर राय यादवले आफ्नो परिवारका चारजना बाहिर निस्किन नसके पनि आफू त्रिशूलीबाट बाहिर निस्किएको सुनाए । बसमा उनका ३५ वर्षीय छोरी, १० वर्षीय छोरा, सात वर्षीया नातिनी र दुई वर्षीय नाती सवार थिए । काठमाडौँमा उपचार गरेर घर फर्कँदै गर्दा उनको परिवारका पाँचजना दुर्घटनामा परेका हुन् । ‘काठमाडौँमा छ दिनसम्म उपचार गरेर फर्किँदै थियौँ । एक्कासी नसोचेको घटना घट्यो । पाँचपटक बस ठक्कर खाएर बल्ल नदीमा पुगेको थियो’,उनले स्मरण गरे,‘पहिरोमा परेर तल खस्दा सबै यात्रु कराइरहेका थिए । अरूको अवस्था के होला, अहिलेसम्म थाहा छैन ।

बसको चालक र सहचालक पनि त्यही डुब्नुभयो ।’ बस पहिरोमा पर्नुअघि आधा घण्टा जति जाम परेको भन्दै उनले सुनाए, ‘जाम खुलेसँगै विस्तारै अघि बढ्ने क्रममा त्रिशूलीमा खसेको हो । बसको सिसा फुटेपछि बाहिर निस्कन सफल भए, अर्को गाडीको सहयोगमा उपचारका लागि अस्पताल पुगेको हुँ ।’ उनको पनि चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । भरतपुर अस्पतालमा उपचाररत रौतहटकै सरोजकुमार गुप्ताको डिस्चार्ज भएको छ । सामान्य अवस्थामा रहेका उनको उपचारपछि डिस्चार्ज गरिएको हो । हाल बेपत्ता बसको खोजिकार्य जारी छ । नेपाली सेना र सशस्त्र प्रहरीको गोताखोर टोली बसको खोजी र सवार यात्रुको उद्धारमा लागेको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए ।

प्रकाशित मिति: शुक्रबार, असार २८, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update