Shittalpati
प्रधानमन्त्री प्रचण्डले पाएनन् विश्वासको मत

पाल्पा, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत पाउन सकेनन् । प्रतिनिधि सभाले विश्वासको मत लिने प्रस्ताव बहुमतले अस्वीकृत गरेको छ ।

एमालेले समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री प्रचण्डले संविधानको धारा १०० (२) अनुसार विश्वासको मत मागेका थिए । तर उनले प्रतिनिधिसभामा बहुमत प्राप्त गर्न सकेनन् । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा उपस्थित २५८ मध्ये दाहालको पक्षमा ६३ मत मात्र प¥यो । प्रधानमन्त्री बन्नका लागि आवश्यक १३८ मत प्राप्त नभएपछि उनी पदमुक्त भएका छन्  । उनको विपक्षमा १९४ मत प¥यो । मत दिन्न भन्नेमा १ मत परेको थियो ।

१० पुस २०७९ मा प्रधानमन्त्री भएका प्रचण्डले पहिलो पटक २६ पुसमा विश्वासको मत लिँदा अभूतपूर्व समर्थन पाएका थिए । उनको पक्षमा २६८ मत परेको थियो भने विपक्षमा २ मत मात्र परेको थियो । दोस्रो पटक ६ चैत २०७९ मा १७२ मत पाए । तेस्रो पटक ३० फागुन २०८० र चौथो पटक ७ जेठमा विश्वासको मत लिँदा समान १५७ मत पाएका थिए । तर यो पटक कांग्रेस र एमालेले नयाँ सरकार बनाउने सहमति गरेसँगै उनी अल्पमतमा परे । साना दलहरूले समेत साथ दिएनन् । उनलाई आफ्नै दल माओवादीसँगै राष्ट्रिय स्वतन्त्र पार्टी र एकीकृत समाजवादीले मात्र मत दिएको छ ।

१८ महिनामा एमालेसँग दुई र कांग्रेससँग एक पटक गरेर तीन पटक गठबन्धन बदलेका प्रधानमन्त्री दाहालले कांग्रेस र एमालेबीच सत्ता साझेदारीका लागि सातबुँदे सहमति भएपश्चात् विश्वासको मत लिन शुक्रबार प्रतिनिधि सभामा उपस्थित भएका थिए ।  विश्वासको मत नपाएपछि संवैधानिक व्यवस्थाबमोजिम नै उनी पदमुक्त भएका छन् । अब नयाँ सरकार गठनको बाटो खुलेको छ ।

प्रकाशित मिति: शुक्रबार, असार २८, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update