Shittalpati
भानुभक्तको योगदानको कदर गरौं

नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको आज जन्म जयन्ती हो । उनको स्मरणमा हरेक वर्ष असार २९ मा भानुजयन्ती हर्षउल्लासका साथ मनाउने गरिन्छ । यस वर्ष पनि आज २११ औँ भानु जयन्ती मनाउन लागिएको छ । यो दिन नेपाली लोक लयमा आधारित नेपाली रामायणका रचनाकार आदिकविको सम्झना गरिन्छ । १८७१ असार २९ गते (आजैका दिन) भानुभक्तको जन्म भएको थियो ।

पृथ्वीनारायण शाहले भौगोलिक रूपमा एकीकरण गरेको नेपाललाई आदिकवि भानुभक्तले भाषा, साहित्य र संस्कृतिमार्फत एकीकरण गरेका थिए । नेपाली जातीय एकता, राष्ट्रिय पहिचान र नेपाली सांस्कृतिक चेतना जगाउन र राष्ट्रिय संस्कृतिलाई बलियो बनाउनमा उनको ऐतिहासिक योगदान रहेको छ । रामायणको सरल नेपाली अनुवादलाई भानुभक्तको मुख्य योगदान मानिन्छ । भानुभक्तको योगदान, आदिकवि उपाधि, उनका रचनामा भएको प्रगतिशीलताबारे बेलाबेला कोठे गोष्ठी हुँदै आए पनि पर्याप्त मात्रामा खुला बहस भने हुन सकेको छैन । अहिलेको सन्दर्भमा बहस हुनु आवश्यक छ । हरेक वर्ष जन्मजयन्तीमा भानुभक्तको शालिकमा माल्यार्पण गर्दैमा भानु जयन्तीको महत्व बढ्न सक्दैन । संस्कृतको रामायणलाई नेपाली भाषामा अनुवाद गरेर सम्पूर्ण नेपालीहरुलाई एकतावद्ध बनाउँदै भाषिक एकीकरणको सन्दर्भमा भानुभक्तले जुनरुपमा उल्लेखनीय भूमिका खेल्न पुगे, त्यसको महत्वलाई कम आँक्न सकिँदैन ।

अहिले भानुभक्तको योगदानलाई सबैले विर्सिएका छन् । यो अत्यन्त दुखद् कुरा हो । भानुभक्तप्रतिको  योगदान र सच्चा सम्मान उनको जन्मजयन्तीमा विविध कार्यक्रम गर्दैमा र उनको फोटो अनि शालिकमा माल्यार्पण गर्दैमा मात्र हुँदैन । उनीप्रति सच्चा सम्मान गर्नका लागि त आजका पुस्तालाई भाषा र साहित्यको महत्व दर्शाएर प्रारम्भिक समयमा यी दुवै क्षेत्रमा भानुभक्तले पुर्‍याएको योगदानको महत्व बुझाउन सक्नुपर्छ । नयाँ पुस्ताले पनि पुराना सर्जकको महत्वलाई बुझेर कदर र सम्मान गर्ने संस्कृतिको विकास गर्न सक्नु नै भानुभक्तप्रतिको वास्तविक सम्मान हुन्छ । तसर्थ भानुुक्तप्रतिको योगदानको अनुसरण गरी सबैले कदर र सम्मान गरौं । 

प्रकाशित मिति: शनिबार, असार २९, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update