Shittalpati
आज भानु जयन्ती मनाइँदै

पाल्पा, नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २११ औँ जन्मजयन्ती आज देश तथा विदेशका विभिन्न स्थानमा विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ । विसं. १८७१ असार २९ गते तनहुँको चुँदीरम्घा गाउँमा जन्मिएका भानुभक्तको स्मरण गर्दै उनको जन्मजयन्ती मनाउन लागिएको हो ।

संस्कृत भाषामा लेखिएको रामायणलाई भावानुवादसहित नेपाली भाषामा प्रस्तुत गरेका थिए । उनले लेखेको रामायण अहिले पनि नेपालीहरूको घर–घरमा सस्वर लयका साथ पाठ गर्ने गरिन्छ । पृथ्वीनारायण शाहले भौगोलिक रूपमा एकीकरण गरेको नेपाललाई आदिकवि भानुभक्तले भाषा, साहित्य र संस्कृतिमार्फत एकीकरण गरेका थिए । ‘जन्मिएपछि राम्रो काम गरेर नाम कमाउनुपर्छ’ भनी अर्ती उपदेश दिएकाले उनी रामायणलाई नेपाली भाषामा अनुवाद गर्न प्रेरित भएका थिए । ‘बधुशिक्षा’ उनको अर्को प्रसिद्ध कृति हो । यसैगरी उनका ‘प्रश्नोत्तर’, ‘भक्तमाला’, ‘रामगीता’, फुटकर रचनालगायत कृति छन् । कुमारी चोकको हिसाब मिलाउन नसकेर झ्यालखानामा परेका आदिकवि भानुभक्तले सरकारी कार्यालयमा हुने ढिलासुस्ती र ‘भोलिवाद’को कट्टर विरोधी भएर कवितामा भोलिको विरोध गर्दै लेखेका थिए– ‘भोलिभोलि भन्दैमा सब घर बितिगो बक्सियोस् आज झोली’ । नेपाली जातीय एकता, राष्ट्रिय पहिचान र नेपाली सांस्कृतिक चेतना जगाउन र राष्ट्रिय संस्कृतिलाई बलियो बनाउनमा उनको ऐतिहासिक योगदान रहेको छ । त्रिभुवन विश्वविद्यालयबाट आचार्यबारे स्नात्तकोत्तरमा थुप्रै शोधग्रन्थ लेखिएका छन् । भानुभक्तको जन्मजयन्ती भारतको दार्जिलिङ, सिक्किमलगायत नेपाली भाषा भाषी धेरै रहेका स्थानमा पनि मनाइन्छ । भानुभक्तको निधन वि.सं १९२५ असोजमा भएको थियो । भाषा, साहित्य र संस्कृतिका क्षेत्रमा काम गर्ने संस्थाले आज विभिन्न कार्यक्रम गरी भानुजयन्ती मनाउँदै छन् ।

प्रकाशित मिति: शनिबार, असार २९, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update