Shittalpati
त्रिशूलीमा बगेको बसका एक यात्रुुको शव फेला

चितवन, सिमलताल पहिरोमा परी त्रिशूली नदीमा हराइरहेका बसका एक यात्रुुको शव फेला परको छ । शनिवार खोजी गर्ने क्रममा पहिरो गएको स्थानबाट अन्दाजी ५० किमि तल राप्ती नदी र नारायणी नदी मिसिने स्थान गोलाघाटमा एक यात्रुुको शव फेला परेको हो ।

भारत विहार सीतामडी जिल्ला बर्गनिया थानाग्राम जमुवा बस्ने २८ वर्षीय ऋषिपाल साहको शव भेटिएको प्रहरीले जनाएको छ । खोलाले बगाएर बाहिर फ्याँकेको अवस्थामा उनको शव स्थानीयले भेट्टाएपछि प्रहरीलाई खबर गरेका थिए । साहको शव भेटिएको र उनको परिवारले सनाखत समेत गरिसकेको चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए ।

त्रिशूली नदीमा हराइरहेका दुई यात्रु बसको खोजी शनिबार पनि बिहानैदेखि जारी छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाल आर्मीका जवानहरुले शनिबार बिहान ८ बजे देखि खोजी कार्य गरिरहेका छन् । घाम लागेर नदीमा पानीको सतह केही घटे पनि यात्रु बस अझै भेटिएका छैनन् ।

नारायणगढ–मुग्लिन सडकको भरतपुर महानगरपालिका–२९ सिमलतालमा शुक्रबार बिहान गएको पहिरोमा परेर वीरगन्जबाट काठमाडौं जाँदै गरेको वाग्मती प्रदेश ०३–००६ ख १५१६ नम्बरको एञ्जल यातायातको बस र काठमाडौंबाट रौतटहटको सदरमुकाम जाँदै गरेको ०३–००१ ख २४९५ नम्बरको गणपति डिलक्स बसलाई त्रिशूलीले बगाएको थियो । दुवै बसमा कम्तीमा ६५ जना यात्रु सवार रहेको बुुझिएको छ । 

प्रकाशित मिति: शनिबार, असार २९, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update