Shittalpati
इस्मा गाउँपालिका–२ को आफ्नै भवन

गुल्मी, जिल्लाको इस्मा गाउँपालिका– २ वडा कार्यालयको आफ्नै भवन निर्माण भएको छ । कार्यालयको छल्दी पनाहामा  भवन निर्माण गरिएको हो । 

नवनिर्मित भवनको गाउँपालिका अध्यक्ष भगतसिंह खड्काले उद्घाटन गरेका हुन् । भवनको उद्घाटन गर्दै अध्यक्ष खड्काले वडाका कार्यालयको सेवा प्रवाहलाई छिटो, छरितो र प्रभावकारी बनाउन भवन निर्माणले महत्वपूर्ण टेवा पुग्ने विश्वास व्यक्त गरे । उनले आफ्नै भवन नहुँदा वडाबाट दिने सेवामा असज आएको बेला जग्गादाताहरुको सहयोगले भवन निर्माण भएसँगै सहज हुने बताए । 

वडा कायालयसँगै छल्दीटारी आधारभूत स्वास्थ्य सेवा केन्द्रको पनि उद्घाटन गरिएको छ । १ करोड ४० लाखको लगानीमा वडा कार्यलय र ९० लाखको लगानीमा आधारभुत स्वास्थ्य सेवा केन्द्रको भवन निर्माण गरिएको  पालिका उपाध्यक्ष पार्वती कुंवरले बताईन् । उनले पालिकाको भवन निर्माण हुन नसके पनि वडा कार्यालयको भवन निर्माण हुनु खुसीको कुरा रहेको उल्लेख गरिन् । 
उपाध्यक्ष कुंवरले भनिन् ‘ विवादका कारण गाउँपालिकाको केन्द्र हालसम्म टुंगो लागेको छैन् यस सम्बन्धी मुद्दा सर्वोच्च अदालतमा विचाराधीन अवस्थामा रहेकाले छिट्टै किनार लागेपछि त्यसको टुँगो लाग्ने छ ।’ 

वडा कार्यालय भवनमा निर्माणका काम अझै बाँकी रहे पनि विस्तारै पूरा गर्दै जाने वडाअध्यक्ष लोकनाथ आचार्यले बताए । उनले भने ‘ वडा कार्यालय र स्वास्थ्य कार्यालयको आफ्नै भवन नहुँदा वषौंदेखि भाडाको भवनबाट सेवा दिँदै आएका थियौं, भवन निर्माण भएसँगै अब कर्मचारी र जनप्रतिनिधिलाई काम गर्न र सेवाग्राहीलाई सेवा लिन सहज हुने छ ।’ वडा भवन निर्माणका लागि जग्गा  सहयोग गर्ने स्थानीय टीका रेश्मी, छल्दीटारी आधारभूत स्वास्थ्य सेवा केन्द्रको भवन निर्माणका लागि जग्गा दिने बमबहादुर रेश्मी र रामबहादुर रेश्मीलाई वडाले सम्मान समेत गरेको छ ।

 

 

प्रकाशित मिति: शनिबार, असार २९, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update