Shittalpati
मनसुनको वितण्डा

मनसुन सक्रिय हँदै जाँदा त्यसबाट उत्पन्न हुने असरले वितण्ड मच्याएको छ । अविरल वर्षासँगै आएको बाढी पहिरोका कारण देशका विभिन्न जिल्लामा ठूलो मानविय तथा भौतिक क्षति हुन पुगेको छ । विगतमा भन्दा यस वर्षको मौसमले आवश्यकताभन्दा बढी सक्रियता देखाएर चौतर्फी विध्वंस मच्चाइरहेको छ ।

अहिले मध्यबर्खाको समय छ मनसुन सक्रिय हुनु, पानी पर्नु ऋतुकालीन विशेषता हो तर अतिले खति गर्छ भन्ने उखान हालका दिनहरूमा चरितार्थ भइरहेको छ । मनसुनको बढी सक्रियताले गर्दा निरन्तर पानी परिरहेको छ । जसले गर्दा ठाउँ ठाउँमा पहिरो र बाढीले आम नागरिकलाई प्रताडित बनाईरहेको छ । अविरल वर्षाका कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा बाढीपहिरोलगायत भएका विपद्का घटनामा एक सय तीन जनाले अकालमै ज्यान गुमाउनु परेको छ ।

गत विहिबार अविरल वर्षाका कारण पहिरोले पुरिएर कास्कीमा एकै घरका ७ सहित ११ जनाको मृत्यु भएको छ । पहिरोले बगाएर नारायणगढ–मुग्लिन सडकखण्डको सिमलतालमा दुई वटा बस त्रिशूली नदीमा पु¥याएको छ । बसमा ६५ जना सवार रहेको बताइएको छ । तर यो सम्पादकीय तयार पार्दासम्म बेपत्ता यात्रु र बस भेटिएका छैनन् । यो अन्त्यन्तै दुखको कुरा हो । हरेक वर्ष मनसुन सक्रिय हुँदा नेपालीले यस्तै नियति भोग्नु परेको छ । तर पछिल्लो दशकमा यी विपद्का रौ· रूपले हामीलाई अकल्पनीय रूपमा पिरोल्न थालेको छ । विपद् बाजा बजाएर आउँदैन ।

आइपरेमा के–कस्तो तयारी गर्ने भन्ने विषयमा पूर्वतयारी गर्नुपर्ने हुन्थ्यो । तर नेपालमा आइपरेपछि मात्र हारगुहार गर्ने चलन छ, जसले गर्दा ठूलो क्षति भोग्नुपर्ने अवस्था छ । पहिरो बाढीमा परेर मानविय क्षति मात्र भएको छैन, विद्युत् उत्पादन केन्द्रहरू बन्द भएका छन् भने खानेपानीका मुहानहरू पुरिन पुगेका छन् । बाटाहरू अबरुद्ध छन् र यात्रुहरू अलपत्र पर्नुपरेको छ । यस्तो अवस्थामा सबैले सर्तकता अपनाउन आवश्यक छ । अहिलेको अवस्थामा जोखिमपूर्ण यात्रा गर्नु र त्यस्तो स्थानमा बस्नु पनि हुँदैन । बाढीपहिरोमा बहादुरी देखाएर नजिक जाने काम पनि गर्नु हुँदैन । अर्कोतर्फ सरकारको जिम्मेवारी एकातिर छँदैछ भने अर्कातिर नागरिकहरू पनि सरकारको मुख ताकेर बसिरहनु हुँदैन । आफ्नो उद्धार सरकारले गरिदिन्छ भनेर जोखिमपूर्ण ठाउँमै बसिरहनु उचित हुँदैन । यसर्थ स्वय नागरिक समेत यस्तो अवस्थामा सचेत हुन जरुरी छ । 

प्रकाशित मिति: आइतबार, असार ३०, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update