Shittalpati
सहमतिपछि पत्रकार महासंघमा लागेको ताला खुल्यो

पाल्पा, नेपाल पत्रकार महासंघको सदस्यता विवादपछि नेपाल प्रेस युनियन पाल्पाले तानसेनस्थित महासंघको कार्यालयमा लगाएको ताला आइतबारबाट खुलेको छ । असार १५ गते लगाइएको ताला सहमतिमा खुुला गरिएको युनियनकी जिल्ला अध्यक्ष मन गहिरेले बताईन् ।

महासंघको निर्वाचनका लागि तयार गरिएको मतदाता नामावलीमा प्रक्रियामा आएर पनि छुट्न गएका सक्रिय पत्रकारहरुको हकमा प्रेस युनियनले देखाएको चासो र मागलाई सम्बोधन गर्न महासंघ र युनियनबिच केन्द्रमा सहमति भएपछि पाल्पासहित देशैभर लगाइएका ताला खुला गरिएको हो ।

महासंघका केन्द्रीय अध्यक्ष विपुल पोख्रेल र नेपाल प्रेस युनियनका केन्द्रीय अध्यक्ष शिव लम्सालबिच युनियनले राखेका माग पुुरा गर्ने सहमति भएपछि आन्दोलनका सबै कार्यक्रम फिर्ता लिइएको युनियनले जनाएको छ ।

युनियनले पत्रकारको शुद्धीकरण र नयाँ सदस्यता वितरणको विषयमा असमति जनाउँदै महासंघले देशैभर महासंघका कार्यालयमा ताला लगाएको थियो । सदस्यताको सुरुआत र किनारा लगाउने वैधानिक विधि हुँदा हुँदै केन्द्रले एकपक्षीय ढंगबाट सदस्यता वितरण गर्दा क्रियाशील पत्रकारलाई अन्याय भएको भन्दै केन्द्रीय निर्देशन अनुसार नै महासंघमा ताला लगाइएको थियो । महासंघले असार २२ गतेका लागि निर्वाचनको मिति तोकेको थियो । विवादपछि निर्वाचन मिति अनिश्चितकालका लागि स्थगित  गरिएको छ । 

प्रकाशित मिति: आइतबार, असार ३०, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update