संयुक्त राज्य अमेरिका, अमेरिकी रिपब्लिकन पार्टीद्वारा पेन्सिल्भेनिआमा आयोजित ¥यालीमा गोली प्रहार हुँदा रिपब्लिकन पार्टीका तर्फबाट राष्ट्रपतीय निर्वाचनका उम्मेदवार तथा भूतपूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प घाइते भएका छन् । उनको कानबाट रगत आएको देखिएको छ ।
उनको हत्या गर्ने उद्देश्यले भएको ठानिएको उक्त घटनालगत्तै ट्रम्पलाई उक्त स्थानबाट बाहिर निकालिएको छ । उक्त घटनापछि ट्रम्पले आफ्नो दायाँ कानमा हात राखेको देखिन्छ । उक्त र्यालीमा स्थिति नियन्त्रणमा लिनुअघि पटकपटक गोली चलेको आवाज सुनिएको प्रत्यक्षदर्शीले बताएका छन् । गोलीको आवाज आएपछि सुरक्षाकर्मीहरूले ट्रम्पलाई तत्कालै मञ्चबाट निकालेर गाडीतर्फ लगेका थिए । आफैँले खोलेको सामाजिक सञ्जाल ‘ट्रथ सोशल’मा सन्देश लेख्दै ट्रम्पले आफू ‘सकुशल रहेको’ र स्थानीय स्वास्थ्य संस्थाले आफ्नो उपचार गरिरहेको उल्लेख गरेका छन् । ट्रम्पले लेखेका छन् , ‘र्यालीमा सुइँयय गरेको आवाज सुन्नेबित्तिकै मलाई केही गडबड छ भन्ने लाग्यो, गोली चलेको र मेरो छाला खुइल्याउँदै गोली गएको मलाई महसुस भयो ।’ ‘धेरै रगत बगेपछि के भएको हो भन्ने मैले थाहा पाएँ,’ उनले थपे । उनलाई बचाउन सुरक्षा अधिकारीहरू दौडादौड गरेको दृश्यबीच उनको कान र अनुहारमा रगत बगेको स्पष्ट रूपमा देखिएको थियो ।