विश्व युवा दक्षता दिवस नेपालसहित विश्वभर आज विभिन्न कार्यक्रम गरी मनाइँदै छ । सन् २०१४ को डिसेम्बरमा संयुक्त राष्ट्रसंघको साधारण सभाले आजकै दिन अर्थात् जुलाई १५ मा दिवस मनाउने संकल्प गरेदेखि यो दिन मनाउन थालिएको हो । युवाहरुको सामाजिक–आर्थिक अवस्था सुदृढ गर्ने उद्देश्यले यो दिन दिवस मनाइन्छ । तर हरेक वर्ष यो दिवस मनाइए पनि नेपालमा धेरै युवाहरु आर्थिक रुपमा कमजोर छन् । योग्यता र क्षमता अनुसार स्वदेशमै काम नपाइँदा युवाहरु बरालिनु परेको अवस्था छ । यो अत्यन्त दुखको कुरा हो ।
कुनै पनि देशको विकास युवा जनशक्ति विना सम्भव छैन । युवा सबैभन्दा उर्जाशील जनशक्ति हो । उनीहरु विकासका लागि दरिलो र भरिलो आधारस्तम्भ समेत हुन् । आज इन्जिनियर, डाक्टर, शिक्षक, पाइलट, किसान, मजदुर आदि सबै क्षेत्रमा युवाको उपस्थिति बलियो छ तर राज्यको नीति बनाउने कुरामा अर्थात् राजनीतिमा अझै युवाको उपस्थिति कमजोर छ । नीतिगत तहमा युवाहरू पुगे पनि उनीहरूको न्यून संख्याले युवामैत्री, रोजगारीमैत्री काम गर्न सकेका छैनन् । आज पनि अधिकांश शिक्षित युवा औपचारिक शिक्षा आर्जनपछि खाडी मुलुक तथा मलेशियामा आफ्नो श्रम सस्तो मूल्यमा बेच्न विवस छन् । यो हाम्रा युवाहरूको लागि दुर्भाग्य हो भने राज्यका लागि लाजमर्दो हो । मुलुकको भविष्य कस्तो हुन्छ भन्ने कुरा देशका युवाको सोच र क्रियाकलापबाट हुन्छ । अवसरको अभाव तथा उद्यमशील कार्य संस्कृतिको अभावका कारण हाम्रो युवाहरू रोजगारी तथा अध्ययनका लागि विदेश जाने लर्को लागेको छ । विगतमा युवा र उनीहरुका सरोकारका विषयलाई सरकारका नीति, कानुन एवं कार्यक्रमले सही रुपमा सम्बोधन गर्न नसक्दा अवसरको खोजीमा विदेश जाने र उतै पलायन हुने समस्याले मुलुक समस्यामा छ ।
रोजगार बजारमा उपलब्ध दक्ष र योग्य युवालाई देशभित्र अवसर सिर्जना गर्न नसक्नु, जनशक्तिको माग र शिक्षाबीच सामञ्जस्य कायम हुन नसक्नु जस्ता धेरै कारण युवाहरु बेरोजगार बस्नु परेको छ । देशमा शिक्षा, रोजगारी तथा अन्य अवसरहरुको अभावमा देशको प्रमुख उर्जाको रुपमा रहेका युवाहरु विभिन्न कारणले पलायन हुने अवस्था सिर्जना हुनु अत्यन्त दुखद् हो । यसर्थ युवालाई सीपयुक्त, उत्पादशील र नैतिकवान बनाउन सकेमा मात्र राष्ट्रका लागि उपयोगी सामाजिक तथा आर्थिक मूल्य सिर्जना गर्नेक्षमता मात्रै राख्दैन दिवसले समेत सार्थकता प्राप्त गर्दछ ।