Shittalpati
प्रधानमन्त्री ओली र २१ मन्त्रीले लिए शपथ

काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओली र उनको नेतृत्वको सरकारमा गएका २१ मन्त्रीले शपथ लिएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधामन्त्री ओली, दुई उपप्रधानमन्त्री र १९ मन्त्रीलाई आज पद तथा गोपनीयताको शपथ गराएका हुन् ।

काँग्रेसबाट प्रकाशमान सिंह र एमालेबाट विष्णु पौडेल उपप्रधानमन्त्री बनेका छन् । सिंहलाई सहरी विकास र पौडेललाई अर्थमन्त्रालयको जिम्मेवारी दिइएको छ । सिंह र पौडेल विगतमा पनि पटक पटकमन्त्री भएका व्यक्ति हुन् । कांग्रेसबाट प्रमुख सचेतक रहेका रमेश लेखकले गृह मन्त्रालयको जिम्मा पाएका छन् । नयाँ सरकारमा काँग्रेसकी आरजु राणा परराष्ट्रमन्त्री बनेकी छन् । त्यस्तै दीपक खड्का ऊर्जा, अजय चौरसिया कानुन, ऐनबहादुर शाही वनमन्त्री बनेका छन् । तेजुलाल चौधरी युवा तथा खेलकुद मन्त्री बनेका छन् । काँग्रेसको शेखर कोइरालाबाट स्वास्थ्यमन्त्रीमा प्रदीप पौडेल, पर्यटनमा बद्री पाण्डे र कृषिमा रामनाथ अधिकारीले जिम्मेवारी पाएका छन् । एमालेबाट उपमहासचिव पृथ्वीसुब्बा गुरुङ सञ्चारमन्त्री बनेका छन् । राजकुमार गुप्तालाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मा दिइएको छ । त्यस्तै मानवीर राई रक्षामन्त्री बनेका छन् । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रीमा बलराम अधिकारी र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी बनेका छन् । त्यस्तै शिक्षामन्त्रीमा विद्या भट्टराई र देवेन्द्र दाहाल भौतिक पूर्वाधार मन्त्रस् बनेका छन् । लोसपाबाट शरदसिंह भण्डारी श्रममन्त्री बनेका छन् । त्यस्तै जसपाबाट नवलकिशोर साह सुडी महिला बालबालिका तथा जेष्ठ नागरिक र प्रदीप यादव खानेपानी मन्त्री बनेका छन् ।

शपथ समारोहमा उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री ओली, प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल, निवर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, पूर्वप्रधानमन्त्रीहरु शेरबहादुर देउवा, झलनाथ खनाल, डा. बाबुराम भट्टराई, विभिन्न राजनीतिक दलका नेताहरु, सांसद, नेपाल सरकारका विशिष्ट अधिकारी, सुरक्षा निकायका प्रमुख, नेपालस्थित विदेशी कूटनीतिक नियोगका प्रमुख एवं प्रतिनिधि तथा सामाजिक जीवनका विभिन्न क्षेत्रमा योगदान पु¥याएका विशिष्ट व्यक्तित्वहरुको सहभागिता थियो । 

प्रकाशित मिति: सोमबार, असार ३१, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update