नेपालका प्राचीन संस्कृतिअनुरूप साउन १ गते साँझ घर–घरमा लुतो फाल्ने प्रचलन छ । हरेक वर्षजस्तै आज पनि लुतो फाल्न लागिएको छ । ज्योतिष शास्त्रानुसार सौरमासका हिसाबले साउने संक्रान्तिदेखि सूर्य कर्कट राशिमा प्रवेश गर्ने हुनाले यस दिनलाई ‘कर्कट संक्रान्ति’ पनि भनिएको हो । वर्षभरका दिनहरु मध्य साउने संक्रान्ति १ गते सबै भन्दा लामो दिनको हुन्छ । बेलुका लुतोफाली धार्मिक महत्वको साथ संक्रान्ति मनाइन्छ । बर्खायामको मध्यविन्दु विशेष गरी पहाडी भेक तथा समुदायमा यस संक्रान्तिलाई विशेष पर्वका रूपमा मनाउने गरिन्छ । अधिकांश नेपाली खेतीमा लाग्ने भएकाले असार महिनाभर कृषि कर्ममा व्यस्त हुन्छन् । त्यसक्रममा हिलोमैलोले लाग्ने छालासम्बन्धी रोग निको पार्न साउने संक्रान्तिको अवसरमा लुतो फाल्ने गरिन्छ । वर्षभरका संक्रान्तिमध्ये साउन र माघ गरी दुई वटालाई महत्वका साथ लिइन्छ ।
असारभर गरिने खेतीपातीका क्रममा हिलोका कारण छालामा कुनै रोग नलागोस् भन्दै लुतो फाल्ने प्रचलन परापूर्वकालदेखि चल्दै आएको हो । लुतो उधुम चिलाउने चर्म रोग हो । केटाकेटीलाई दुःख दिने रातमा हिंड्ने कण्डारक नामको राक्षसलाई मन्सिएर बलिरहेको अगुल्टो वारी गाउँले, पारी गाउँले लुतो लैजाऔं भनेर कराउँदै फाल्ने प्रचलन छ । साँझमा अगुल्टो फाल्दा त्यससँग कुरिलो, पैयाको हाँगा, तितेपाती पनि फाल्ने गरिन्छ । अनि घरको निरालमा भलायोका पात, कुस आदि राख्ने चलन कायमै छ । कतै भाण्टालाई दुलो पारेर चौबाटोमा फालिदिएर नुहाएमा समेत लुतोबाट छुटकरा पाइने जनविश्वास छ । तर पछिल्लो समय लुतो फाल्ने प्रचलन हराउँदै गएको छ । पुरानो पुस्तालाई यसबारे जानकारी भएपनि नयाँ पुस्ताले यसको महत्व बुझ्न नसक्दा यो प्रचलन हराउँदै गएको हो । यसो हुनु अत्यन्त दुःखको कुरा हो । लुतो फाल्ने प्रचलनले संस्कृतिको सरक्षण मात्र होइन वनस्पतिको संरक्षण समेत हुन्छ । लुतो फाल्ने परम्पराको साँस्कृतिक र औषधी महत्व हुँदा हुँदै पनि यसको वेवास्त गरिएको छ ।
नयाँ पुस्तालाई परम्पराको महत्व बारेमा जानकारी गराउनु अहिलेको आवश्यकता हो । चाडपर्व र संस्कृति आफैमा नेपाली पहिचान र गहना पनि हुन । यसर्थ नेपाली संस्कृति र पहिचानको रुपमा रहेको लुतो फाल्ने परम्परालाई जोगाई राख्न सबैले आ–आफ्नो ठाउँबाट लागौं ।