पाल्पा, साउनको पहिलो दिन अर्थात साउने संक्रान्ति । खेती–किसानीमा आधारित ग्रामीण समाजका लागि आज विशेष दिन हो । यस दिनलाई ‘लुतो’ फाल्ने र तिउरी लगाउने दिनको रुपमा लिइन्छ ।
साउने संक्रान्तिका दिन कण्डारक नाम गरेको रात्रिचर (राति हिँड्ने) को पूजा गरी बलेको अगुल्टो फालेपछि बर्खाभर खेतबारीको काम गर्दा लागेको छालाको रोग, खटिरा, लुतो आदि निको हुने शास्त्रीय मान्यता रहेको छ । सोही मान्यता अनुरुप नेपाली समाजमा ‘लुतो फाल्ने’ चलन चलिआएको हो । प्रत्येक वर्ष साउने संक्रान्तिको साँझ यस्तो चलन खासगरी ग्रामीण पहाडी भेगमा अद्यापी छ ।
लोकोक्ति अनुसार केटाकेटीलाई दुःख दिने रातमा हिंड्ने कण्डारक नामको राक्षसलाई मन्सिएर भगाउन बलिरहेको अगुल्टो घरको चारैतिर ‘लुतो लैजा’ भनेर कराउँदै फालिन्थ्यो । त्यही परम्परा लुतो फाल्ने चलनका रूपमा कायम रहेको हो । तर हिजो आज भने यो चलन विस्तारै बिर्सिदै जान थालिएको छ । पुराना पुस्ताका व्यक्तिहरुले जसोतसो यो चलन धान्दै आए पनि नयाँ पुस्ताका व्यक्तिहरुमा भने कुनै चासो छैन । ‘मेरो लुतो लैजा’ भन्दै आँगोको राँको फाल्ने गरेको सम्झना बगनासकालीको पोखराथोककी ६९ वर्षीया सीता गहिरेलाई अहिले पनि ताजै छ । लुतो फाल्ने भनेपछि दिनभर साथीभाइ जम्मा भएर भलायो, कुकुरडाइनो, लुतेझार, पानीसरो, रातपाते जस्ता वनस्पतिहरु खोजेर ल्याइन्थ्यो र घरको पूर्व, पश्चिम, उत्तर, दक्षिण चारैतिर ति वनस्पती राखिन्थ्यो, साँझा घर छेउबाट आगाको अगुल्टो फाल्दै पल्लो गाउँकाहरुलाई मेरो लुतो लैजा भन्दै, चिच्याइन्थ्यो’, उनले भनिन्, ‘अचेलकालाई त्यसको महत्व नै थाहा छैन ।’
लुतो फाल्ने संस्कृति विस्तारै हराउँदै गएकोमा तानसेन– ७ काजीपौवाका रोमबहादुर रायमाझीको गुनासो छ । उनलाई पनि विगतमा आगाको अगुल्टो फाल्दै लुतो फाले झलझली याद आउँछ । ‘हामी साना साना केटाकेटी हुँदा कति रमाइलो गर्दै लुतो फालिन्थ्यो तर अहिले त त्यस्तो कतै देखिदैन ।’ रायमाझीले भने । अहिले त छोरा, नातीहरुले लुतो फालेको कहिल्यै नदेखेको उनको भनाई छ । लुतो फाल्ने संस्कृतिले जेनतेन निरन्तरता पाउँदै आएपनि पछिल्लो समय विस्तारै कम हुँदै गएको छ । नयाँ पुस्ताले त्यसतर्फ खासै चासो नदेखाउँदा यो संस्कृतिमा कमी आएको हो । ज्योतिष शास्त्रानुसार सौरमासका हिसाबले साउने संक्रान्तिदेखि सूर्य कर्कट राशिमा प्रवेश गर्ने हुनाले यस दिनलाई ‘कर्कट संक्रान्ति’ पनि भनिन्छ ।
‘मानो खाई मुरी उब्जाउने’ प्रचलित कथनअनुसार असार महिनाभर गरिएको खेतीपातीका कारण थाकेका किसान हिलोमैलो पखाली घरपरिवार र आफन्तका साथ रमाइलो गरी यस दिन भोज खाने गर्छन् । असारभर गरिने खेतीपातीका क्रममा हिलोका कारण फैलिन सक्ने लुतो, दाद आदि चर्मादी रोगबाट मुक्ति पाउन लुतो फाल्ने प्रचलन रहेको हो । परम्पराअनुसार कागभलायो, कुकुरडाइनो, लुतेझार, पानीसरो, रातपातेजस्ता औषधीय गुण बोकेका वनस्पतिका साथै कागती, निबुवा, अम्बा, अनार, नास्पाती आदि फलफूलसहित कण्डारक नामक राक्षसको पूजा गरी घरको चारैतिर बलिरहेको अगुल्टो फ्याँक्ने गरिए पनि कतिपय ठाउँमा यी सामग्री लोप समेत भइसकेका छन् भने कतिपय ठाउँमा पछिल्लो पुस्ताले ती सामग्री पहिचान गर्न सकेका छैनन् । अर्कोतर्फ महिलाहरु साउने सङ्क्रान्तिका दिनदेखि एक महिना सौभाग्यको प्रतीक हरियो चुरा र मेहन्दी लगाउनाका साथै शिवलाई प्रसन्न पार्न सोमबारे व्रत बस्छन् देवी पार्वतीले साउन महिनाभरि निराहार रही कठोर व्रत बसेकीले सोमबारको व्रतको महत्व छ । साउन महिना भगवान् शिवको महिना भएकाले यो महिनाभर शिवालयमा दर्शनार्थीको अत्यधिक भीड लाग्ने गर्दछ ।