Shittalpati
हाम्रो यात्रा ३० वर्षमा

हामी २९ वर्ष पूरा गरी ३० वर्षको यात्रामा लागेका छौँ । पाल्पाबाट विगत २९ वर्षदेखि निरन्तर प्रकाशित नवजनचेतना राष्ट्रिय दैनिक (तत्कालीन साप्ताहिक) ले आज आफ्नो नियमित साप्ताहिक/दैनिक प्रकाशनको तीन दशकको अविराम यात्रामा सक्रिय हुँदा अनेक आरोह–अवरोहको अनुभव गरेको छ । आजको यो उत्सवको समयमा हामी विगतका सबै पीडाहरूलाई भुल्दै अब नवीन भविष्यको परिकल्पनामा अग्रसर छौँ ।

विगतका अनुभवलाई पाठकका रूपमा लिई नयाँ यात्रामा नयाँ जोश, नयाँ उत्साह, नयाँ संकल्प र नवीन ऊर्जाका साथ संलग्न हुनुपर्छ भन्ने हाम्रो विश्वास छ । विगतका वर्षहरुमा जस्तै यो वर्ष पनि हामीले ३ सय ४६ अंक प्रकाशित गर्दै आजदेखि ३० बर्षमा प्रवेश गरेका छौं । नेपालका धेरै जसो दैनिकहरुले वर्ष दिनमा ३ सय अंक समेत प्रकाशन गर्न नसकेको अवस्थामा पाल्पा जस्तो पहाडी जिल्लाबाट ३ सय ४६ अंक प्रकाशन गरेर पाठकको घरदैलोमा पुर्‍याउन पाएकोमा खुशी छौं । आरोह, अवरोह र चुनौतीलाई पार गर्दै यो रुपमा आइपुग्दा यहाँहरुको माया, सुझाव, सल्लाह, सहयोगको ठूलो हात छ ।


मोफसलमा रहेर समाचारमूलक पत्रिका प्रकाशन गरी यो यात्रा तय गर्नु पक्कै पनि सामान्य कार्य हैन । अहिले छापा माध्यमसामु अनेकौँ चुनौती छन् । खासगरी विद्युतीय माध्यमहरूले विस्तारै कागजी माध्यमलाई विस्थापन गर्न लागेको यो समय हामी मात्र होइनौँ संसारभरका छापा माध्यमहरू अफ्ठेरोमा परिरहेको अवस्था छ । तर, छापा माध्यमहरूको अनिवार्यतालाई कसैले पनि अस्वीकार गर्न सक्दैन । छापा माध्यमलाई सुरक्षित गर्नु प्रवद्र्धकसहित संस्थामा आबद्ध वा शुभेच्छुकहरूबाट मात्र सम्भव हुँदैन । सरकारको नीति सहयोगी हुनुपर्छ । अहिले विज्ञापनदेखि अनेक सन्दर्भमा छापा माध्यमहरूले अप्रिय अवस्थाको सामना गरिरहनु परेको छ । यो बेलामा सरकारले स्पष्ट नीतिका साथ छापा माध्यमहरूको सुरक्षाको लागि उचित नीति र निर्णय गरोस् भन्ने हाम्रो आग्रह छ । भूकम्प जस्ता महाविपत्तिमा होस् वा कोरोना महामारीका बेला हामी निरन्तर स्थानीयस्तरका समाचार, दुर्गम क्षेत्रका जनताको आवाज मिडियासम्म ल्याउन तल्लीन रहयौं । कठिन यात्रामा अविचलित रुपमा अगाडि बढेरै हामीले २९ वर्षको यात्रा सफलतापूर्वक पार गरेका हौं ।

स्वच्छ र स्वतन्त्र पत्रकारिताको सिद्धान्तलाई आत्मसात गर्दै पत्रिकाको प्रकाशन सुरु गरेका हामीले, प्रकाशनको यो अवधिमा स्वतन्त्र पत्रकारिताको सिद्धान्तलाई पूर्णतया पालना गर्ने प्रयास गरेका छौं । कही कतैबाट भुलवश कुनै कमी कमजोरी भएमा त्यसको मूल्याङ्कन पाठकवर्गले गर्नुहुने विश्वास समेत लिएका छौं । दक्ष जनशक्तिको अभाव, महंगो प्रविधि तथा त्यही प्रविधि पनि सहजताका साथ उपलब्ध नहुँदा प्रकाशनलाई निरन्तरता दिन निकै कठिन भइरहेको छ । केन्द्र, प्रदेश र स्थानीय सरकारहरु, आम पाठकवर्ग, विज्ञापनदाता, सञ्चारकर्मी, शुभचिन्तकहरुको निरन्तर सहयोगले हामी चुनौतीहरुलाई पार गर्दै यो अवस्थासम्म आइपुगेका छौं । हामी समाज, राष्ट्र, जनता र वर्तमान संघीय लोकतान्त्रिक गणतन्त्रका मूल्यहरूप्रति इमानदारीपूर्वक प्रतिबद्ध छौँ । कुनै पनि सर्तमा हामी मूल्यच्यूत हुनेछैनौँ । हामी विगतमा जस्तै गरी पूर्ण प्रेस स्वतन्त्रता, मानव अधिकारको रक्षा, सामाजिक न्यायको विकास, निमुखा, विपन्न र सीमान्तकृतहरूको दबिएका स्वरलाई सतहमा ल्याउने प्रयत्न गरिरहने छौँ ।

विगत केही वर्षदेखि यो दैनिकलाई अनलाइन संस्करण (शितलपाटी डटकम) मा समेत सँगसँगै अगाडि बढाएका छौं । मोफसलमा पत्रकारिताको यात्रा अझै पनि चुनौतीपूर्ण छ, तर यो चुनौतीलाई स्वीकार गरेरै हामी निरन्तर अगाडि बढ्ने अठोट गरेका छौं । यस अवधिमा हामीले जे गर्‍यौँ, पाठकले मूल्याङ्कन गर्ने कुरा हो तर हामी यतिमै चित्त बुझाएर बस्ने छैनौं । सूचना, विचार र बहस सँगसँगै राष्ट्र र समाजलाई दिशानिर्देश गराउन सकियो भने मात्र हामी हाम्रो उद्देश्य र कर्ममा सफल भएको ठान्नेछौँ ।

हाम्रो यात्रालाई तीन दशकसम्म ल्याइपुर्‍याउन धेरै सहयोगी सहकर्मीहरूको योगदान रहेको छ । जसलाई हामी बिर्सन सक्दैनौँ । अन्त्यमा, यो यात्रामा साथ दिनुहुने समस्त पाठक, विज्ञापनदाता र शुभेच्छुक, लेखक, संवाददाता र कार्यालयमा कार्यरत सम्पूर्ण कर्मचारीहरुप्रति हार्दिक आभार व्यक्त गर्दै निरन्तर सहयोग र सहकार्यको अपेक्षा गरेका छौँ । आगामी दिनमा स्वतन्त्र पत्रकारिताको मूल मर्मलाई हृदयङ्गम गर्दै आम पाठकको अपेक्षा अनुरुप प्रकाशनलाई निरन्तरता दिनुका साथै स्तरयुक्त सामग्री पस्किरहने प्रतिवद्धता समेत व्यक्त गर्दछौ । –प्रधान सम्पादक 

प्रकाशित मिति: मंगलबार, साउन १, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update