Shittalpati
साउने संक्राति र असारे ठूला एकादशी 

जगन्नाथ पन्त

संक्रान्ति भनेको एक विन्दुबाट अर्कोमा प्रवेश गर्नु, शुरुवात पनि हो । त्यसैले सबै महिनाका संक्रान्तिमा महिना शुभ र लाभदायक हुने अपेक्षा गरि सत्कर्मबाट कार्यारम्भ गर्ने चलन छ । कुनै महिना, बार, गते ,दिन मात्र शुभ र अशुभ भन्ने होइन ,सबै बराबर हुन् ।साउने संक्रातिका दिन बिहानै भलायको पातमा जंगली काडे कुरिलो राखेर दलिनमा घुसार्ने दिन हो । भलायो र कुरिलो राख्नाले महामारीजन्य रोग  नलाग्ने र गर्जो नपर्ने विश्वास रहेको छ ।

लामो समय हिलो माटोमा काम गर्दा हात, खुट्टा र आौलाका कापमा चोट, खत लागेकालाई निको पार्न ओषधिय गुण भएको तिउरी नामको बनस्पति फूललाई पिसेर हात खुट्टामा सुत्ने समयमा लगाई पिडालुको पात (गवदा) ले बेरेर राखेपछि तिउरीको रंङ बस्छ र करिव एक महिना रहन्छ । साउने संक्रातिका दिन यो लगाउने चलन छ । आजकल केमिकलयुक्त मेहन्दिका चित्र बनाएर लगाउने गलत फेसनले बजार पाएको छ । स्वदेशको बस्तु छोडेर विदेशी वस्तुले श्रृङ्गारिनु गौरवको विषय होइन र संस्कृति पनि होइन ।देखासिखी अझ तडकभडक गरी हरिया चुरा, पोते, साडी लगाउँदैमा पतिको आयु बढ्दैन, पति र पत्नी एकअर्काको सुख दुखको सहयात्री बने मात्र परस्पर मानसिक र शारिरीक स्वस्थ्य भै आयु बढ्छ ।

साउने संक्रातिमा लुतो फाल्ने चलन पनि छ । लुते कटेरो (सानो झुपडी ) बनाई सल्लाको खोटोयुक्त दाउरा (दियालो) बालेर, एकछिन आगो तापेर राप लिदा खोटोको रापले लुतो आदि खटिराजन्य चर्म घाऊ निको हुने हुँदा लुदो फाल्ने चलन चलाइएको हो । आफुलाई रिस, डाहा गर्ने मान्छेको नाम चिच्चाएर काडेर मेरो लुतो लैजा भनेर बलेको दियालो उसै दिशातिर फाल्नु रिस मार्ने जुक्ति पनि हो । साउने संक्रातिका साझ कर्णालीका हिमाली भेगमा माटाका छाना भएका घरका छतमा सल्लाको दियालो, चुरोको थुप्रो बनाएर बाल्ने चलन छ । जसले दुई/तीन घण्टा बस्ति झलझल उज्यालो  हुँदा निकै रमाईलो हुन्छ । उच्च पहाडी भेगमा मार्सि धान पसाउने समय हुने र किरा फट्याङ्ग्राको नोक्सानीबाट जोगाउन पनि आगो बालेपछि किरा फटेंग्रा डडेर सकिने हुँदा यसो गर्नुको कृषि विज्ञान पनि छ । साउन र माघ पवित्र महिना मांसाहार गर्नु हुँदैन भन्ने छ । साकाहारी हुन सके राम्रै हो तर यो दुई महिना मात्र पवित्र भन्ने होईन, सबै महिनाको महिमा उस्तै हो । भोलि  असारे ठूला एकादशी हो । ओषधीय गुणलेयुक्त, प्रचुर अक्सिजन दिने र पवित्र वनस्पति  तुलसीको विरुवा रोपण गर्ने दिन  असारे ठूला एकादशी ।

पुराणहरुमा एकादशीमा उपवास बस्नु, फलहार गर्नु भन्ने कथा पाइन्छ । फलहार गर्नु भनेको अल्पआहार गर्नु भनेको हो । उपवास भनेको अन्न नखानु हो भनेर गलत अर्थ लगाएर अन्न नखाने नाममा घिऊ, दुधमा झन् धेरै गरिष्ट परिकार बनाएर खाने, एक महिनालाई पुग्ने गरी फल खाने जस्तो चलन अज्ञान हो । अल्पआहार गर्नु र जाग्रत रहेर भगवान नाम संकृतन गर्नु भन्छ शास्त्रले । अन्न खानु कुनै दोष छैन् । फलफूल भनेर टन्न खानु र सुत्नुमा  दोष, पाप छ । उपवासको विषयमा वेदले भनेको नबुझेर अल्पज्ञानी, अज्ञानीले गलत चलाएको चलन अवलम्बन नगरौ । वेद मन्त्र बराहोपनिषद् मन्त्र : उपसमीपे योवासः जीवात्म् परमात्मनोः, उपवासस्यविज्ञेयो नतुकायस्य शोषणम् । यसको अर्थ बुझौं । उप भनेको सामुन्ने वा सामु र वासको अर्थ बस्नु, रहनु हो । जीवले भगवानको नजिक वास गर्नु मनलाई भगवानमा लगाउनु उपवास हो, न कि भोको राखेर शरिर (काया) लाई दुख दिनु, शोषण गर्नु उपवास हो । तसर्थ फल खाए पनि, अन्न खाए पनि थोरै खानु, जाग्रत रहनु, भगवन नाम संकृतन गर्नु र तुलसीका बिरुवा जति सकिन्छ धेरै संख्यामा लगाउनु र बढेपछि, पात, डाठको बहुउपयोग गर्नु  बुद्धिमानी हुनेछ । अन्त्यमा  ए फलाना ...मेरो लुतो लैजा !

              –जगन्नाथ पन्तको फेसबुकबाट साभार

प्रकाशित मिति: मंगलबार, साउन १, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update