Shittalpati
सरकारलाई स्थिरताको शुभकामना !

मुलुकको राजनीति जहिल्यै अस्थिरतामै गुज्रिरहयो । दलहरुको स्वार्थका कारण राजनीतिले कहिल्यै पनि निकास पाउन सकेन । दलहरु सत्ता लिप्तका कारण एक आपसमा सरकार बनाउने र भत्काउने खेलमै सिमित भए । संसदीय प्रणालीमा कुनै पनि पार्टीले बहुमत लिन नसकेका कारण सत्ता सञ्चालनका लागि एक अर्को दलसँग गठबन्धन गरेर सरकार सञ्चालन गर्नुपर्ने अवस्थाका कारण पनि यस्तो अवस्था सिर्जना भएको हो । गठबन्धन गरेका दलहरु आफु अनुकूल काम नभएपछि गठबन्धन तोडेर पुनः अर्को बनाउने प्रवृत्तिले अहिले सरकार स्थिर हुन सकेको छैन ।

जसले गर्दा आमनागरिकले सरकार भएको अनुभूति गर्न पाएका छैनन् । अहिले भने संसदका ठूला दल नेकपा एमाले र काँग्रेसबिच सत्ता समिकरण भई नयाँ सरकार बनेको अवस्था छ । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले संसदमा विश्वासको मत लिन नसकेपछि काँग्रेसको समर्थनमा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार गठन भएको छ । लामो समयपछि यी ठूला दलबिच भएको सत्ता साझेदारले स्थिरताको संकेत भने गरेको देखिन्छ । यो सत्ता समीकरण केवल सत्ताका निम्ति मात्र नभई, संविधान संशोधनमार्फत देशलाई सुस्थिरता दिने उद्देश्य देखिएकाले त्यसले नयाँ उत्साह र स्थिरताको संकेत गरेको छ । यो आफैमा सकरात्मक छ ।

डेढ वर्षअघि नेपाल कम्युनिपष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष ‘प्रचण्ड’ प्रधानमन्त्री बनेका थिए । नेपाली कांग्रेससँग गठबन्धन गरी जनादेश हासिल गरे पनि सरकार गठनका निम्ति भने गठबन्धन कायम रहन सकेन । यसबिचमा उनले कहिले एमालेसँग त कहिले काँग्रेस गठबन्धन गरी सत्ता चलाए । उनको अस्थिर चालका कारण अन्नत: नेपाली कांग्रेस र नेकपा (एमाले) बिच नयाँ सहकार्य बन्यो । सोमबार नयाँ सरकारको नेतृत्व गर्दै केपी ओलीले २१ सदस्यीय मन्त्रीपरिषद विस्तार गरेका छन् । अब यो सरकारले स्थिरता र समृद्धितिर आफूलाई अग्रसर गर्नुको विकल्प छैन । सधैँ अनावश्यक विवाद र गलफत्तीमा अल्झिएर बस्ने छुट किमार्थ छैन । एउटा गति लिएर काम गर्नुपर्ने बाध्यात्मक परिस्थिति छ । पछिल्ला केही समय केवल सत्ता समीकरण भत्काउने र बनाउने एक मात्र अभियानमा मुलुक रुमल्लियो । अब बिग्रिएको राजनीतिक कोर्सले सही बाटो पक्रेपछि स्थिरताको सङ्केत देखिएको छ । आगामी समय मुलुकमा राजनीतिक स्थिरताको सन्देश प्रवाहित गर्नु परेको छ । वर्तमान समीकरणले पाँच वर्षको बाँकी अवधि पूरा गर्नेतिर इमानदार प्रयास गर्नुको विकल्प देखिँदैन । मुस्किलले बनेको विश्वासको वातावरण अब कसैले चाहँदैमा भत्कने अवस्था पनि छैन । तसर्थ अहिलेको सरकारलाई जनताको चाहना, आवश्यकतालाई केन्द्रविन्दुमा राखेर आवश्यता अनुसार संविधानलाई संशोधन गर्ने दिशामा सफलता मिलोस् । स्थिरताको शुभकामना !

प्रकाशित मिति: बुधबार, साउन २, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update