Shittalpati
साउने संक्रान्ति: घर घरबाट फ्याँकियो लुतो

पाल्पा, मंगलबार साउने संक्रान्ति पर्व मनाइएको छ । परम्परागत चाडपर्वका रुपमा मनाउँदै आएको साउने संक्रान्ति राँको बाल्दै लुतो फाल्ने परम्परागत संस्कृतिलाई अनुशरण गरी मनाइएको हो ।

साँझ घर–घरका छत/आगनबाट लुतो फ्याँकिएको छ । साँझमा आँगनमा दियो, गणेश र कलशको पूजा गरेपछि सल्लाको काठ बालेर बनाइएको अगुल्टो सुरहरूका प्रमुख कण्डारकलाई अर्पण गर्दै घरको चारै दिशामा फ्याँक्ने परम्परा अनुरुप लुतो फालिएको बगनासकाली गाउँपालिका बराङ्दीका हरी बस्यालले बताए । आफ्नो बाल्यकालमा यो अवसलाई उत्सवकै रूपमा मनाउने गरेपनि अहिले त्यो परम्परा लोप हुँदै गएकामा भने उनी चिन्तित छन् । विशेषत : पहाडी जिल्लाका गाउँहरुमा आगोको राँको बालेर लुतो फाल्ने गरिन्छ । आगोको राँका बालेर शरीरमा पुछेर फालेमा वर्षभरीको दुःखकष्ट रोगग्रह जाने र घरमा शान्ति आउने जनविश्वास रहेको छ । यो समयमा राँको बालेर सपरिवार एक गाउँकाले अर्को गाउँका मानिसहरूलाई आफ्नो रोग व्यथा सबै जाओस् भनेर गाली पनि गर्ने प्रचलन छ । घरपरिवारको सुख शान्ति आउने भएकाले साउने संक्रान्ति विशेष रुपमा लिने गरिन्छ । धान रोपाइँको काम सकिएको अवसरमा किसानहरुले साउने संक्रान्ति मनाउने गर्दछन् ।

महिनाभरी हिलोमा बसेर खेतिपाती गर्नु पर्दा शरीर चिलाउने, खटिरा तथा लुतो आदि आउन सक्ने भएकाले जीउलाई सफा सुग्घर गरी लुतो फाल्ने गरिन्छ । लुतो फाल्न वा राक्षसको पूजा गर्न भलायोका पात, तिउरी, पानीसरो, देवीसरो, कुकुरडाइनुको लहरो, धसिङ्गरेका बोट, उन्यू जातको नागबेली, कुरिलो, सिउँडी, सिस्नु, जरै सहितको पानीअमला, नासपाती आदि औषधिका रुपमा समेत प्रयोग हुने वनस्पति राखेर कण्डारक नाम गरेका राक्षसको पूजा गरी अगुल्टो फाल्ने गरिन्छ । चारै दिशामा बलेको अउल्टो फ्यांकेर सबै रोगब्यादी लैजा भन्ने गरिन्छ । साउन महिना भगवान् शिवको महिना भएकाले विश्वास पनि रहेकाले यो अवधिमा महिनाभर शिवालयमा दर्शनार्थीको भिड लाग्छ । विशेष गरी महिलाहरू साउने संक्रान्तिका दिनदेखि एक महिना सौभाग्यको प्रतीक हरियो चुरा र मेहन्दी लगाएर शिवलाई प्रसन्न पार्न सोमबारे व्रत बस्ने गरेका छन् । यसै दिनदेखि सूर्य उत्तरी गोलाद्र्धबाट क्रमशः दक्षिणी गोलाद्र्धतर्फ जाने हुनाले दिन छोटो र रात लामो हुँदै जान्छ ।

प्रकाशित मिति: बुधबार, साउन २, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update