Shittalpati
पाल्पामा कुपोषण, रक्तअल्पताको मारमा बालबालिका र किशोरी
स्रोत : स्वास्थ्य कार्यालय पाल्पा

पाल्पा, जिल्लामा कुपोषण र रक्तअल्पताको मारमा बालबालिका पर्ने गरेका छन् । मानिसको शरिरलाई चाहिन्ने पोषणको कमी भएको अवस्था कुपोषण हो भने शरिरमा रगतको कमी हुनु रक्तअल्पता हो ।

शरीरलाई आवश्यक पर्ने सन्तुलित आहार लामो समयसम्म प्राप्त नहुँदा यस्ता अवस्था निम्तिने गर्दछ । कुपोषण र रक्तअल्पता खासगरी गरिबी, अशिक्षा तथा जनचेतनाको कमीको उपज हो । जिल्लामा ४ हजार ५ सय ७८ जना बालबालिका कुपोषण र एक हजार २३ किशोरी रक्तअल्पताको मारमा परेका छन् । स्वास्थ्य कार्यालय पाल्पाले जिल्लाका सामुदायिक विद्यालयका किशोरीहरुको रक्तअल्पता र समुदायस्तरमा रहेका बालबालिकाहरुको स्वास्थ्य परीक्षणमा गरेको तथ्याङ्क अनुसार उक्त संख्यामा बालबालिका र किशोरी समस्यामा रहेको पाइएको हो । जिल्ला भित्रका पाँच वर्ष मुनिका ४ हजार ८ सय ३१ बलबालिका मध्ये ४ हजार ५ सय ७८ बालबालिकामा कुपोषण भेटिएको स्वास्थ्य कार्यालयको तथ्याङ्कमा उल्लेख छ । यहाँका रम्भा गाउँपालिका, पूर्वखोला गाउँपालिका, तानसेन नगरपालिका, रामपुर नगरपालिका, माथागढी गाउँपालिका, रिब्दीकोट गाउँपालिका, तिनाउ गाउँपालिका, बगनासकाली गाउँपालिका र निस्दी गाउँपालिकाका ४ हजार ८ सय ३१ बालबालिका मध्ये ४ हजार ४ सय २१ जनामा सामान्य, १ सय २९ जनामा मध्यम र २८ जनामा कडा कुपोषण देखिएको छ । यस्तै यहाँका १० वटै पालिकाभित्रका विद्यालयहरुका ४ हजार ३ सय २९ जना किशोरीहरुको रक्तअल्पता परीक्षण गर्दा २३ दशमलव ६३ प्रतिशत अर्थात् एक हजार २३ जनामा रक्तअल्पता देखिएको छ । उनीहरुको अवस्था पत्ता लगाउने र पानिजन्य रोगहरुको नियमित सर्भिलेन्स गर्न र खानेपानी गुणस्तर नियमित निगरानी गर्नको लागि लुम्बिनी प्रदेश सरकारले सञ्चालन गरेको  कार्यक्रम अनुसार स्वास्थ्य कार्यालयले यहाँका पालिकामा २०८० मंसिर १८ गतेदेखी माघ मसान्तसम्म परीक्षण अभियान सञ्चालन गरेको थियो । कुपोषण र रक्तअल्पताको समस्याले धेरै बालबालिका र किशोरी थलिएका छन् । पोषणयुक्त खाना खान नसक्ने तथा खाने र खुवाउने तरिका नमिल्दा पनि धेरै बालबालिकामा कुपोषण देखिएको स्वास्थ्य कार्यालयका प्रमुख डा. राजेन्द्र गिरीले बताए  ।

उनले भने ‘धेरै बालबालिका आमाको दूध नियमित नखुवाइँदा, बजारिया खाजाको भर पर्दा, खाना पकाउने र खुवाउने तरिका नजान्दा कुपोषित हुने गरेका छन् ।’ कुपोषणको प्रभाव शारीरिक र मानसिक दुवै रूपमा देखिने उनको भनाई छ । बालबालिकाको पोषण आमा र घरपरिवारसँग जोडिएको छ । २० वर्ष पुगेपछि स्वस्थ महिलाले मात्रै सन्तान जन्माउने र ६ महिनासम्म आमाको दूध मात्रै खुवाउने हो भने पनि धेरै शिशुलाई कुपोषणबाट बचाउन सकिने चिकित्सकहरु बताउँछन् । बालबालिकालाई बजारिया तयारी खाजा खुवाउनु राम्रो हुँदैन । ३/४ घण्टाको फरकमा दूध, लिटो, जाउलो, दालभात, तरकारीसँगै मौसम अनुसारका फलफूल, माछामासु, अण्डा र दूध खुवाउनुपर्छ । यसो भए बालबालिकालाई कुपोषण हुँदैन । भएको कुपोषण पनि निको हुन्छ । स्वास्थ्य कार्यालय पाल्पाले कुपोषण पहिचान कार्यक्रमलाई प्रभावकारी रुपमा सञ्चालन गर्नुपर्ने, विद्यालयहरुमा पोषण, स्वास्थ्य तथा सरसफाईको क्षेत्रमा एकिकृत योजना लागु गर्नुपर्ने, नियमित जाँच तथा अनुगमन गर्नुपर्ने, शिक्षा र स्वास्थ्य शाखाको उचित समन्वयमा हुनुपर्ने, पोषण स्क्रिनिङ्ग क्रियाकलापमा गुणस्तर सुधार हुनपर्ने,करेशाबारी सँधै भरि हरियो तरकारी अभियानलाई जोड दिने नीति ल्याउनुपर्ने औल्याएको छ ।

कुपोषण र रक्तअल्पताको अवस्था पाल्पासहित देशैभर उस्तै छ ।  स्वास्थ्य तथा जनसांख्यिक सर्वेक्षण २०२२ का अनुसार नेपालका ५ वर्षमुनिका २५ प्रतिशतमा पुड्कोपना र ८ प्रतिशतमा ख्याउटेपन छ । ५ वर्षमुनिका बालबालिकामा हुने कम तौल र ख्याउटेपन लुम्बिनीमा सबैभन्दा धेरै छ । लुम्बिनी प्रदेशका २५ प्रतिशत बालबालिकामा पुड्कोपन छ भने ख्याउटेपन १६ प्रतिशतमा छ । यस्तै पाँच वर्षमुनिका बालबालिकामध्ये ४९ प्रतिशतमा रक्तअल्पता छ । चिकित्सकका अनुसार गर्भावस्थामा हेमोग्लोबिनको मात्रा नौ ग्रामभन्दा कम हुँदा रक्तअल्पता मानिन्छ । गर्भवतीमा रगत बन्ने तत्वहरू आइरन, फोलिक एसिड, ‘भिटामिन बी १२’ र प्रोटिन नपुगेर रक्तअल्पता हुन्छ । रक्तअल्पता हुँदा गर्भवती अवस्थामा समेत रगत बग्छ भने प्रसूति भएपछि रगत बग्न नरोकिने र ज्यानै जान सक्ने जोखिम हुन्छ । आर्थिक वर्ष २०७९/८० मा लुम्बिनी प्रदेशमा ७४ महिलाले गर्भावस्था र सुत्केरी हुँदा ज्यान गुमाए । तीमध्ये २८ जनामा रक्तअल्पता रहेको प्रदेश स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति: बुधबार, साउन २, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update