Shittalpati
आज रुपन्देहीका ५ स्थानीय तहमा सार्वजनिक बिदा

 बुुटवल, इस्लाम धर्मावलम्बीको महान पर्व मोहर्रमको अवसरमा रुपन्देहीका ५ स्थानीय तहमा आज सार्वजनिक बिदा दिइएको छ ।  यहाँका लुम्बिनी साँस्कृतिक नगरपालिका, कोटहीमाई गाउँपालिका, मर्चवारी गाउँपालिका, रोहिणी गाउँपालिका र सम्मरीमाई गाउँपालिकाले बिदा दिएका हुन ।

बिदाको दिन पालिकाका कार्यालय, मातहतका सम्पूर्ण वडा कार्यालय, शैक्षिक तथा स्वास्थ्य संस्थाहरुमा (आकस्मिक तथा आवश्यक सेवाबाहेक) विदा दिइएको छ ।

मुस्लिम धार्मिक गुरु हजरत इमामे हुसैनको सम्झनास्वरुप मनाइने यो पर्वमा मुस्लिम धर्मगुरुको प्रतीकस्वरुप तहजियाको पूजा गर्ने प्रचलन रहेको छ । मुस्लिम समुदायले घर–घरमा स्थापना गरेका ताजिया सामूहिक रूपमा आज घर नजिकै रहेका कर्बलामा विसर्जन गर्छन् । मोहर्रमको अन्तिम दिन घरघरमा राखिएका ताजिया बोकेर स्थानीय कर्बलामा पुगी ताजिया सेलाएपछि मोहर्रम सकिन्छ ।    

आफ्नो आर्थिक हैसियतअनुसार ताजिया स्थापना गरिने परम्परा भए पनि पछिल्ला केही वर्ष ठूलो ताजिया राख्ने अस्वस्थ प्रतिस्पर्धा देखिएको छ । हिन्दूलगायत अन्य धर्म समुदायले समेत मनाउन थालेपछि मोहर्रम पर्व धार्मिक सद्भावको रूपमा विकसित हुँदै गएको छ । भाकल गरी घरमा स्थापना गरिएको ताजियालाई पूजाअर्चना गर्नाले पारिवारिक सुख, समृृद्धि तथा मनोइच्छा पूरा हुने विश्वास रहेको छ ।

प्रकाशित मिति: बुधबार, साउन २, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update