Shittalpati
सुनको मूल्य हालसम्मकै उच्च, प्रतितोला डेढ लाख नजिक

पाल्पा, बुधबार नेपाली बजारमा सुनको मूल्यले हालसम्मकै उच्च रेकर्ड कायम गरेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार प्रतितोलामा दुुई हजार रुपैयाँले बढेर उच्च रेकर्ड कायम गरेको हो ।

मूल्य बढेर डेढ लाख नजिक पुगेको छ । महासंघका अनुसार छापावाला सुनको प्रतितोला मूल्य १ लाख ४९ हजार ८ सय कायम भएको छ । यो अघिल्लो दिनको तुलनामा २ हजार रुपैयाँ बढी हो । अघिल्लो दिन प्रतितोला १ लाख ४७ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै तेजावी सुनको मूल्य पनि २ हजार रुपैयाँले बढ्दै प्रतितोला १ लाख ४९ हजार १ सय रुपैयाँ कायम भएको छ । अघिल्लो दिन तेजावी सुनको मूल्य प्रतितोला १ लाख ४७ हजार १ सय रुपैयाँ कायम थियो । चाँदीको मूल्य भने घटेको छ । सो दिन चाँदीको मूल्य २० रुपैयाँले घट्दै प्रतितोला १ हजार ८ सय ५५ रुपैयाँमा कारोबार भईरहेको छ । अन्तर्राष्ट्रिय बजारमा पनि सुनको भाउले पुनः नयाँ रेकर्ड बनाएको छ । सुनको भाउले यतिबेला विश्व बजार नै तातेको छ । अन्तर्राष्ट्रिय बजारमा एकपछि अर्को उचाइ लिएको सुनले नेपालमा पनि नयाँ कीर्तिमान बनाइरहेको छ । अन्तर्राष्ट्रिय कमोडिटी बजारमा हुने माग र आपूर्तिले सुनको मूल्य निर्धारण हुन्छ । जब अन्तर्राष्ट्रिय कमोडिटी बजारमा सुनको माग र आपूर्ति बढी प्रभावित हुन्छ, मूल्य पनि उच्च दरमा घटबढ हुन्छ । यतिबेला अन्तर्राष्ट्रिय बजारमा सीमित आपूर्तिबीच सुनको माग उच्च दरले बढ्दा मूल्यमा असर परिरहेको छ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढ्नुको प्रमुख कारण नै अमेरिकाले ब्याजदर कटौती गर्ने सुनिश्चितता गर्नु हो ।

नेपालमा हाल दैनिक २० किलो सुन आयात गर्न सक्ने व्यवस्था छ । वैदेशिक रोजगारमा रहेकाले ५० ग्रामसम्म सुनका गहना ल्याउन पाउने व्यवस्था छ । सुनको मूल्य बढ्दा नेपालबाट बाहिरिने विदेशी मुद्रा बढ्न जान्छ । विदेशी मुद्रा सञ्चिति घटेका बेला यसले नकारात्मक असर पार्न सक्छ ।

 

प्रकाशित मिति: बुधबार, साउन २, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update