Shittalpati
बुटवल उपमहानगरपालिकाका : निर्माण कार्यको ठेक्का पहिलो चौमासिकमै गर्न निर्देशन

रुपन्देही, बुटवल उपमहानगरपालिकाले अन्तिम चौमासिकमा काम गर्ने र स्तरीय काम नहुने परिपाटीको अन्त्य गर्न पहिलो चौमासिकमै निर्माण कार्यको ठेक्का लगाउन सम्बन्धित शाखाका कर्मचारीलाई निर्देशन गरेको छ । बुधबार नगर प्रमुख खेलराज पाण्डेयले महाशाखा, शाखा प्रमुख र वडासचिवहरुसहितको बैठकमा भौतिक पूर्वाधार विकासतर्फका कामको टेण्डर पहिलो चौमासिकमा सक्ने र तेश्रो चौमासिक शुरुमै पूरा गर्ने गरी काम अगाडि बढाउन निर्देशन दिएका हुन् ।

‘गत आर्थिक वर्षमा केही सुधार भएको छ, उनले भने–यसलाई चालु आर्थिक वर्षमा पूर्ण रुपमा सुधार गर्नुपर्छ ।’ नगर प्रमुख पाण्डेयले सेवाग्राहीको काममा ढिलासुस्ती गर्ने र आलटाल गर्ने जस्ता गुनासा आउने गरेको भन्दै सेवाग्राहीको काम सकेसम्म छिटो र सरल प्रक्रियाबाट गर्न निर्देशन दिए । उनले सेवा प्रवाहमा गुनासो नआउने गरी काम गर्न र त्यसअनुसार सूचना र प्रविधिको व्यवस्थापन गर्न निर्देशन दिए । ‘कुनै पनि शाखा महाशाखा र वडाबाट सेवाग्राहीले काम भएन र आलटाल गरियो भन्ने गुनासो गर्नुभएन–उनले भने–त्यसअनुसार सबै कर्मचारीले काम गर्नुस्, हामीले सेवा दिनका लागि कुनै कमजोरी गर्नुहुन्न ।’ उनले सेवाप्रवाहका क्रममा संघ, प्रदेश र स्थानीय सरकारका कानुनहरुलाई ध्यानमा राख्न र त्यसअनुसार काम गर्न आग्रह गरे । ‘जुनसुकै काम गर्दा संघका कानुन, प्रदेशका कानुन र हामीले नगरसभाबाट पास गरेका र कार्यपालिका बैठकबाट पास गरेका कानुन र कार्यविधिहरु राम्रोसँग हेरेर बुझेर काम गर्नुस्–उनले कर्मचारीलाई भने–काम गरेकै आधारमा कसैले पनि जोखिम बेहोर्नुहुँदैन ।’ उनले कार्यसम्पादनका आधारमा कर्मचारीलाई पुरस्कृत र दण्डित गरिने भन्दै सेवाग्राहीलाई पहिलो प्राथमिकतामा राख्न आग्रह गरे ।

कार्यक्रममा उपप्रमुख सावित्रादेवी अर्यालले सेवाप्रवाहलाई स्तरीय बनाउदै बुटवलको गौरव बढ्ने गरी काम गर्न आग्रह गरिन् । उनले विकासका काममा विशेष चासो दिएर स्तरीय काम गर्न र गराउनुपर्ने बताइन् । प्रमुख प्रशासकीय अधिकृत मित्रमणि खनालले गुनासो नआउने गरी सेवाप्रवाह गर्न र विकासका कामलाई छिटो र स्तरीय ढंगबाट सम्पन्न गर्नका लागि खटिन कर्मचारीहरुलाई आग्रह गरे ।

प्रकाशित मिति: बुधबार, साउन २, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update