Shittalpati
पानीजन्य रोगबाट बचौं

वर्षाको समय भएकाले पानीका मुुहानहरु दूषित हुने सम्भावना बढी रहेको छ । वर्षाद्का कारण पानीको मुहानहरुमा फोहोर पानी प्रवेश गरेर दूषित हुने गर्दछ । यस्तो दूषित पानी पिउनाले विभिन्न रोगहरु लाग्ने गर्दछ । दूषित पानी प्रयोग गर्दा बान्ता हुने, पेट दुख्ने, झाडापखाला, हैजा, टाइफाइड जस्ता रोगहरु लाग्न  सक्छ ।

कसैकसैमा दिसामा आउँ पर्ने, रगत देखिने र कसैकसैलाई ज्वरो आउनेसमेत हुन्छ । झाडापखाला, टाइफाइड,जण्डिस गराउने भाइरस (हेपाटाइटिस) पनि पानीकै कारणले हुने गर्छ । यस्ता पानीजन्य संक्रमण रोगहरुको जोखिम बढी हुने भएकाले खानपिन तथा सरसफाइमा विशेष ध्यान दिनुपर्छ । यस्तो अवस्थामा पानीलाई सकेसम्म उमालेर पिउने, यदि त्यस्तो सम्भावना नभएमा पीयूष तथा अक्वा ट्याब्सजस्ता क्लोरिन हाली उमालेर खानुुपर्दछ । यति मात्र नभई बर्सादको समयमा खानेकुरा राम्रोसँग पकाएर खाने र उमालेको पानीलाई सफा भाँडोमा छोपेर राखी आवश्यकताअनुसार पिउने गर्नुपर्छ । यसका साथै बासी खानेकुराहरु समेत खानुहुँदैन । त्यस्तै सागसब्जी, फलफूल पनि राम्रोसँग धोएर मात्र खानुपर्छ । दिसापिसाब शौचालयमा नै गएर गर्ने, सरसफाइमा ध्यान दिनेजस्ता विषयमा पनि जनचेतना हुनुपर्छ । विद्यार्थीको स्वास्थ्य सुरक्षाका लागि विद्यालयमा पनि पिउने पानी र खाजाका साथै ट्वाइलेट जाँदा हात धुने साबुन–पानीको व्यवस्था हुनुपर्छ । यसै गरी सार्वजनिक शौचालय र अस्पतालका शौचालयहरुमा समेत सरसफाइका लागि पानी–साबुनको व्यवस्था अनिवार्य हुनुपर्छ । अस्पतालका वार्डहरुमा राखिएका खुल्ला बाल्टिनलगायतका डस्टबिनमा फालेका फोहोर, खानेकुरा, डाइपर, ग्लोब्स, प्याडजस्ता सामग्री कुकुरले छर्ने र यत्रतत्र फैलाउने गरेको देखिन्छ । यस्तो फोहोरजन्य सामग्रीको व्यवस्थापनमा अस्पताल व्यवस्थापनले पनि ध्यान दिनुुपर्छ ।

 सरसफाइमा पर्याप्त ध्यान नपुर्याइएका होटलहरूको खाना खानु हुन्न । खास गरी सडक छेउछाउ बेचिने खानेकुराबाट पनि हैजा फैलिएको देखिएकाले यसतर्फ पनि सबै सावधान रहनुपर्छ । यी कुराहरुमा पर्याप्त सावधानी नअपनाइए पानीजन्य अरू संक्रमण फैलने सम्भावना पनि त्यत्तिकै हुन्छ । सामान्य नियमको पालना ठीक तरिकाले गरिए मात्र पनि पानीजन्य रोगबाट बच्न सकिन्छ । मानिसको समान्य लापरवाहीले गर्दा पनि ठूलो समस्या नित्याउन सक्छ । तसर्थ यसतर्फ सबै सचेत हुन जरुरी छ ।

प्रकाशित मिति: बिहीबार, साउन ३, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update