Shittalpati
अशक्तलाई घरमै पुुगेर नागरिकता प्रदान

गुल्मी,साउन गुल्मीमा अपाङ्ता भएका व्यक्तिलाई उनीहरुको घरमै पुगेर नागरिकता प्रदान गर्न थालिएको छ ।  अपाङ्ता भएका धुर्कोट गाउँपालिका– १ स्थित नयाँगाउँका १७ वर्षीय अन्मुल घर्तीलाई प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले उनकै घरमै पुगेर नागरिकता प्रदान गरेका हुन् ।

जिल्ला प्रशासन कार्यालयले पछिल्ले समय जिल्लामा अशक्त र अपाङ्ता भएका व्यक्तिलाई घरमै पुगेर सेवा प्रवाह गर्ने अभियान सञ्चालन गरिरहेको प्रजिअ शर्माले जानकारी दिए । ‘हामीले हरेक पालिकामा पुग्दा त्यहाँका जनप्रतिनिधिलाई त्यस्ता प्रकारका अशक्त र अपाङ्ता भएका व्यक्ति भएमा जानकारी गराउनु होला, हामी घरमै आएर सेवा प्रवाह गर्छौँ भनेका छौँ,’ उनले भने । अपाङ्ता र अशक्त भएका व्यक्तिलाई नागरिकता लिनका लागि जिल्ला प्रशासन कार्यालयसम्म आउन समस्या हुने र आर्थिक भार समेत थपिने भएकाले उनीहरुलाई कार्यालयबाट कर्मचारी घरमै पुगेर नागरिकता प्रदान गरिने व्यवस्था मिलाइएको प्रजिअ शर्माले बताए । अन्मुलका बुबाले छोराको समस्याको बारेमा जिल्ला प्रशासन कार्यालयमा आएर गुनासो पोखेपछि प्रजिअ शर्माले घरमै पुगेर नागरिकता दिने प्रतिवद्धता जनाएका थिए ।

आफुले गुनासो राखेपछि मंगलबार घरमै आएर छोरालाई विस्तारामै नागरिकता दिँदा आफूहरु निकै खुसी बनेको अन्मुलका बुबा धु्रव घर्तीले बताए । ‘यत्ति कामका लागि यो छोरालाई तम्घास लैजान ल्याउन कति समस्या हुन्थ्यो, अहिले घरमै आएर, नागरिकता दिनुभयो, हामीलाई त भगवान आएजस्तै भयो,’ घर्तीले भने । स्वस्थ नै जन्मिएका अन्मुल जन्मेको चार दिनपछि कमलपित्तका कारण अपाङ्ता हुनुपरेको बताइएको छ । अपाङ्ता भएपछि अन्मुल १७ वर्षदेखि ओछ्यानमै छन् । उनी बोल्न र केही गर्न सक्दैनन् । उनको हेरचार र स्याहार सुसारका लागि परिवारलाई नियमित रुपमा खटिरहनुपर्ने बाध्यता छ । धध्रुवको तीन सन्तानमध्य उनी माइलो सन्तान हुन । बृद्ध हुनलागेका बाबुआमा यतिबेला त्यही छोरालाई हेर्दैै आफ्नो जीवन कटाइ रहेका छन् । जिल्ला प्रशासन कार्यालयले यसअघि पनि जिल्लाको रेसुङ्गा, मुसिकोट, ईस्मा लगायतका पालिकाहरुमा पुगेर यस्तै प्रकारको सेवा प्रदान गरेको थियो । प्रशासनले जिल्लामा विपद् प्रभावितलाई परिवारहरुलाई पनि घरमै पुगेर राहत उपलब्ध गराउने व्यवस्था मिलाएको प्रजिअ शर्माले बताए ।

प्रकाशित मिति: बिहीबार, साउन ३, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update