Shittalpati
मेहन्दी र हरियो चुरामा युवतीहरुको बढ्दो मोह

पाल्पा, साउन सुरु भएसँगै तानसेन भगवती टोलकी मनिषा आलेले दुबै हातका पाखुराभरी हरिया चुरा लगाइन । चुरा मात्रै होइन उनले दुबै हत्केलामा बुट्टेदार मेहन्दी पनि लगाएकी छन् । आमा, दिदीहरुले गर्दै आएको परम्परालाई निरन्तरता दिएको उनले बताइन् । ‘हरियो रंग, प्रेम र वातावरणको प्रतिक मानिन्छ, हत्केलामा जति बढी गाढा मेहेन्दीको रंग राख्यो, उति नै बढी श्रीमानको माया पाइन्छ भन्ने धार्मिक विश्वास पनि छ,’ खै साउनमा हरियो चुरा लगाउँदा चिताएको पुग्छ भन्छन् ।’ उनले जस्तै बगनासकाली खानेगाउँकी नारायणी गाहाले पनि हातमा चुरा र मेहन्दी लगाएकी छन् । साउनमा हरियो लगाउने र सोमबार व्रत बस्ने चलनलाई आफुले पनि पछ्याएको उनले बताईन् । गाहाले भनिन् ‘यो लगाउँदा के हुन्छ भन्ने त थाहा छैन, साउन महिनाभरि सबैले लगाउने गरेको हुँदा मैले पनि लगाएँ ।’

माथागढी घर भई अध्ययनको लागि तानसेनमा कोठा भाडामा बस्दै आएकी रुपा रेस्मी तेस्रो सडकस्थित पोते पसलमा हरियो पोते रोज्दै थिइन् । साउन ५ गते उनको आमाको जन्मदिन परेको हँुदा आमालाई उपहार दिन पोतेको छनोट गर्दै थिइन् । उनी भन्छिन्,‘ आमालाई जन्मदिनमा हरियो पोते उपहार लैदिउँ भनेको, कस्तो खालको पोते लैजाउ क्न्फ्युज भए ।’ उनले सँगै गएकी साथीको सल्लाह अनुसारको पोते किनिन् । हरियो पोते पहिलो पटक किन्न आएको उनले बताइन् । ‘आमालाई सौभाग्यको समान दिएर, सप्र्राइज दिने योजनामा छु’ उनले हाँस्दै भनिन् ।

आले र गाहा मात्रै हैन अधिकांश युवतीहरूको हत्केलामा मेहन्दी र पाखुरामा हरियो चुरा देखिन थालेको छ । धेरैलाई सामान्य जानकारी भए पनि अहिलेका नयाँ पुस्तामा भने अर्काको देखासिकी गरेर साउनमा मेहन्दी र हरियो चुरा लगाउने मोह बढेको छ । साउनभरि हरियो, पहेंलो, रातो रंगका पहिरन, चुरापोते, मेहन्दी लगाउने युवतीहरु बढ्दै गएका छन् । साउन लागेसँगै सदरमुकाम तानसेन र आसपासका बजारका कस्मेटिक पसलमा समेत युवतीहरुको भरिभराउ देखिन्छरु। पछिल्लो समय चुरा र महेन्दीलगायत शृङ्गारका सामानको बिक्री बढेको तानसेनमा कस्मेटिक्सक सञ्चालन गर्दै आएकी अलिना महमोदको भनाइ छ । अरू बेलाभन्दा अहिले यस्ता सामग्रीको कारोबार बढेको छ, उनले भनिन्, ‘साउनभरि यस्तै सामग्रीको मात्र माग हुन्छ ।’ यो महिना हरियो चुरा र महेन्दी नलगाउने महिला तथा युवती भेटिँदैन । साउनको सुरुवातसँगै महिलामा छुट्टै उत्साह र उमंग छाएको पाइन्छ । 

स–साना बालिका, युवती हुन् या वृद्ध महिला, यतिवेला अधिकांश महिला हरियो र पहेँलो कपडामा सजिएको देखिन्छ । उनीहरूको नाडीमा हरिया, पहेँला चुरा र हातमा मेहेन्दी हुन्छ ।
 

प्रकाशित मिति: बिहीबार, साउन ३, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update