Shittalpati
बुटवल बसपार्कमा बालमैत्री र अपांगमैत्री स्नानगृह सञ्चालनमा

बुटवल, बुटवलको नयाँ बसपार्कमा सुविधा सम्पन्न स्नानगृह सञ्चालनमा आएको छ । बुटवल उपमहानगरपालिकाले पहिलो चरणमा बालमैत्री र अपांगमैत्री स्नानगृह सञ्चालनमा ल्याएको हो ।

स्नानगृहको उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले एक औपचारिक कार्यक्रमकाबिच उद्घाटन गरेका हुन् । गृहको उद्घाटन गर्दै उनले नयाँ बसपार्कलाई व्यवस्थित र सुविधासम्पन्न बनाउने उद्देश्यका साथ स्नानगृह सञ्चालनमा ल्याइएको बताए । उनले बसपार्कमा हाइमास्ट लाइट, क्यान्टिन, चार्जिङ स्टेशन, कोशेली घर र बहुतले पार्किङ भवन निर्माण हुने बताए । ‘हाइमास्ट लाइट जडान भइसकेर परीक्षणको क्रममा रहेको छ, विद्युतीय गाडीहरुको चार्जिङ स्टेशन सञ्चालनमा आएका छन्’ उनले भने–‘क्यान्टिन अब छिटै सञ्चालन हुनेछ भने कोशेली भवन र पार्किङ भवन निर्माणका लागि प्रक्रिया अघि बढिसकेको छ ।’  प्रमुुख पाण्डेले बसपार्क सुरक्षित र सुविधासम्पन्न हुनुपर्ने भन्दै त्यसअनुसारका सुविधाहरु थप गर्दै लगेको बताए ।

कार्यक्रममा पश्चिम नेपाल बस व्यवसायी प्रालिका प्रबन्ध सञ्चालक रामचन्द्र भुसालले बसपार्क सुधार गर्ने उपमहानगरपालिकाको अभियान राम्रो भएको बताए । उनले बसपार्कलाई व्यवस्थित बनाउनका लागि आफुहरुको साथ रहने बताए । बसपार्कमा निर्माण भएको स्नानघरमा ११ वटा शौचालय, १७ वटा युरिनल, ४ वटा बाथरुम तथा २ वटा बालमैत्री, २ वटा अपांगमैत्री शौचालय रहेका छन् । स्नानगृहमा मौसमअनुसार चिसोतातो पानीका लागि सोलार प्यानल जडान गरिएको र शौचालयको फोहोरबाट बायोग्यास उत्पादन गरी स्नानगृहको उपयोगमा ल्याउने गरी व्यवस्था मिलाइएको इन्जिनियर रुक्मागत बस्यालले बताए ।

 

प्रकाशित मिति: बिहीबार, साउन ३, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update