Shittalpati
अर्थतन्त्र सुधार्ने अवसर

अस्थिर राजनीतिकाबिच मुलुकमा दुई ठूला राजनीतिक दलहरु मिलेर सरकार गठन भएको छ । संसदीय राजनीतिमा विरलै हुने घटनाक्रमका रूपमा अहिलेको सत्ता सहयात्रालाई लिन सकिन्छ । यद्यपि नेपालमा दुई ठूला दल मिलेर सरकार बनाएको यो पहिलो पटक भने होइनरु। विगतमा पनि बेला बेलामा यस्ता सहमति भएका छन् ।

लामो समयपछि भएको दुई ठूला दलबिचको सत्ता सहयात्राले अहिले जनतामा केही आशा भने पलाएको छ । राजनीतिक अस्थिरताका कारण देशको अर्थतन्त्र नै कमजोर बन्दै गएका बेला त्यसलाई सुधार गरेर जाने अवसर अहिलेको सरकारलाई छ । त्यो अवसरबाट सरकार चुक्नु हुँदैन । वितरणकारी र सस्तो लोकप्रियतावादी अर्थनीतिले मुलुकलाई कमजोर बनाएको छ । अर्थतन्त्रका बाह्य सूचक सकारात्मक छ । तर, त्यतिले अर्थतन्त्र सबल हुन्न । अर्थतन्त्र चलायमान नभएको मात्रै होइन, शिथिलै छ । यस्तो बेला दुई शक्तिशाली दल नेपाली काँग्रेस र नेकपा एमाले मिलेर बनेको बहुमतको सरकारमा विष्णु पौडेलले अर्थ मन्त्रालयको बागडोर सम्हालेका छन् । उनलाई नेपालको अर्थतन्त्रमा गुणात्मक योगदान दिने पाँचौं अवसर प्राप्त भएको छ । पटक–पटक अर्थमन्त्री भइसकेका उनीसँग लामो अनुभव पनि छ । जनताका आकांक्षाबारे पनि उनी जानकार नै छन् । यी अनुकूलताका माझ शिथिल अर्थतन्त्रलाई चलायमान बनाउने अवसर उनीसामु छ तर त्यो कार्य एकदमै चुनौतीपूर्ण छ, असम्भव भने छैन् । व्यावसायिक र उद्यमको वातावरण कमजोर छ, त्यसैले पनि अर्थतन्त्र चलायमान नभएको हो ।

राजस्व संकलन, पुँजीगत खर्च, सरकारी खर्चमा रहेको बेथिति, व्यापार घाटा, लगानीको वातावरणको अभाव जस्ता समस्या छन् । अर्थमन्त्री पौडेलको सफलताको मापन पनि यी र यस्तै विषयमा आउने सुधारबाट हुनेछ। यतिबेला राजस्व उठाउन नसक्ने र पुँजीगत खर्च गर्न पनि नसक्ने अवस्थामा हामी छौं। यस्तो अवस्था अनावश्यक सरकारी खर्च घटाउनैपर्ने छ भने पूँजीगत खर्च बढाउनैपर्छ । अहिले देखिएको अर्थतन्त्र सुुधारका लागि  सरकार र अर्थमन्त्री पौड्यालाई ठूलो अवसर हो । यो अवसरले मात्रै उनीहरुको सफलता मापन हुन्छ । यसर्थ मुलुकको अर्थतन्त्र सुधारमा गम्भीर भएर लाग्न जरुरी छ ।

प्रकाशित मिति: शुक्रबार, साउन ४, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update