Shittalpati
पाल्पामा सकियो ७० प्रतिशत धान रोपाइँ

पाल्पा, असारको पहिलो हप्तादेखि धान रोपाइँ सुरु भएको पाल्पामा साउनको पहिलो हप्ता सकिनै लाग्दा करिब ७० प्रतिशत रोपाइँ सकिएको छ । यस वर्ष समयमै पानी परेकाले यहाँका अधिकांस फाँटहरुमा एक महिनामै ७० प्रतिशत रोपाइँ भएको हो ।

कृषि ज्ञान केन्द्र पाल्पाका प्रमुख सन्तोष कुमार चौधरीले मकै रहेका खेत बाहेक अन्य फाँटहरुका खेतमा करिब ७० प्रतिशत रोपाइँ सकिएको बताए । उनले भने ‘रामपुरका फाँटहरुमा अझै पनि मकै छन्, मकैं खाली गरेर मात्र किसानले धान रोप्ने तयारी गरेका छन्, खाली भएका खेतमा भने धान रोपाइँ सकिसकेको छ ।’  यस वर्ष मकै छर्ने बेलामा लामो खडेरी परेकाले ढिला गरी किसानले मकै छरेकाले ति ठाउँहरुमा रोपाइँमा केही ढिला हुन गएको प्रमुख चौधरीको भनाई छ । उनले बाँकी रहेको ३० प्रतिशत रोपाइँ साउन १०/१२ सम्म सकिने बताए ।

विगतमा साउनको पहिलो सातापछि मात्र रोपाइँ शुरु हुने यहाँका केही फाँटहरु यति बेला भने हरियाली बन्न थालेका छन् । समयमै पानी परेकाले किसानहरु उत्साहित हुँदै रोपाइँमा व्यस्त रहे । मानो छरेर मुरी उब्जाउने समय भएकाले पनि किसानहरु यतिबेला रोपाइँमा व्यस्त रहेका छन् । विशेषगरी अन्नको भण्डारको रुपमा लिइने तानसेनको माडी फाँट, अर्गेली, रम्भा गाउँपालिकाको हुँगी, हेक्लाङ, रामपुरको रामपुर फाँट, पूर्वखोलाका केही फाँट, निस्दी गाउँपालिकाको ढुँनावेसी, तिनाउ गाउँपालिकाको कचल, झ्याङ्ला, रिब्दीकोट र रैनादेवी छहराका तल्ला फाँटहरुमा धान खेती गरिदै आइएको छ । रामपुरका केही फाँटहरुमा रोपाइँ चलिरहेको छ भने केही ठाउँमा मकै निकालेर रोप्ने तयारीमा किसान जुटेका छन् । जिल्लामा ८ हजार २ सय ४० हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुँदै आएको केन्द्रका प्रमुख चौधरीले बताए । जिल्लामा करिव ६ सय ५० हेक्टर क्षेत्रफलमा भने चैते धानको खेती हुँदै आएको छ । यहाँका किसानले ठूला–ठूला फाँटमा आधुनिक कृषियन्त्रको प्रयोग गरेका छन् भने टारी खेतहरुमा अझै पनि हल गोरु लगाएर रोपाइँ गर्दै आएका छन् । जिल्लाको दोस्रो मुख्य बालीका रुपमा स्थापित धान खेती यसवर्ष समयमा नै रोपाइँ हुँदा उत्पादन समेत राम्रो हुने कृषकहरु बताउँछन् । विगतमा बाँझो रहेका यहाँका केही खेतहरुमा समेत यसवर्ष रोपाइँ भएको छ ।

प्रकाशित मिति: शुक्रबार, साउन ४, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update