Shittalpati
खानेपानीका मुहान संरक्षण गर्न वृक्षारोपण गर्दै तानसेन खानेपानी समिति

भरत शर्मा
पाल्पा, तानसेन खानेपानी उपभोक्ता समितिले तानसेनका विभिन्न ऐतिहासिक तथा धार्मिक क्षेत्रहरुमा वृक्षारोपण गरेको छ । समितिले ‘रुख रोपौं मूलको संरक्षण गरौँ’ भन्ने नारासहित अमर नारायण मन्दिर क्षेत्रका साथै तीनधारामा वृक्षरोपण गरेको हो ।

रुख विरुवाहरु मासिदै जाँदा पानीका मुहानहरु सुक्दै गएकाले त्यसको संरक्षण गर्न मुहान वरिपरी वृक्षारोपण थालिएको समितिका अध्यक्ष मोहन श्रेष्ठले बताए । उनले भने ‘हामीले भएका पानीका मुहानहरुको संरक्षण गरी तानसेनमा पर्याप्त पानीको व्यवस्था गर्न लागि परेका हौं ।’ समितिको पहलमा लगाईका विरुवाहरुका समिति आफैले संरक्षण गर्ने समेत उनले बताए । अध्यक्ष श्रेष्ठले विगत लामो समयदेखि तानसेनमा रहेको खानेपानी समस्या समाधानमा आफुहरु दिनरात लागेको र केही हदसम्म समाधान समेत भएको उल्लेख गरे । उनले उपभोक्ताको हितलाई ध्यानमा राखी खानेपानीको महशुल छिट्टै समायोजन गर्ने बताए ।

वृक्षारोपणका लागि संघीय, प्रदेश सांसद, स्थानीय जनप्रतिनिधि, राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, उद्योगी, व्यवसायी, सुरक्षा निकायका प्रमुख, सुरक्षाकर्मी, पत्रकार, कर्मचारीहरु शुक्रबार वृक्षारोपणस्थल पुगेका थिए । वृक्षारोपणका लागि अमर नारायण मन्दिर परिसर पुगेका संघीय सांसद ठाकुर गैरेले विरुवा रोप्नु मात्र ठूलो कुरा नभएकाले त्यसलाई हुर्काउन बढाउन सके मात्र वातावरण स्वच्छ हुनुका साथै पानीका मूल  संरक्षण हुने बताए । सांसद गैरेले ऐतिहासिक अमर नारायण मन्दिर क्षेत्रलाई विश्व सम्पदा सूचिमा समावेश गराउन सबैको सहयोग रहनु पर्ने उल्लेख गरे । गुठी व्यवस्थापन समिति पुर्नगठन गर्न नसक्दा यस क्षेत्रको विकासमा असर पर्दै गएकाले छिट्टै यसका लागि पहल गर्नुपर्नेमा उनले जोड दिए । लुम्बिनी प्रदेश सांसद वीरबहादुर रानाले पुर्खाले बनाएका सम्पदा संरक्षणमा सबैले चासो राख्नु पर्ने बताए । उनले  नारायणस्थान क्षेत्रमा विगतमा रहेका चमेरा लोप हुने र यहाँका पानीका मुहान सुक्ने अवस्थामा पुगेकाले यसलाई संरक्षण गर्न सबैको सहयोग आवश्यक रहेको उल्लेख गरे ।

सांसद रानाले भने‘ खानेपानी समितिले पानीको मुहान संरक्षणमा देखाएको सक्रियता प्रशंसनिय रहेको छ, यसमा हामी सबैले ध्यान दिनुपर्ने छ ।’ उनले विगतमा विरेन्द्र फुलबारी क्षेत्रको विकासका लागि ठूलो धन रासी खर्च भएता पनि पूर्ण हुन नसकेकाले यस क्षेत्रलाई पार्कको रुपमा विकास गर्न आफुले पहल गर्ने बताए । बढ्दो सहरीकरण र वन विनाशका कारण तानसेनमा रहेका ऐतिहासिक ढुङ्गेधारा सुक्न थालेको अवस्थामा खानेपानी उपभोक्ता समितिको सक्रियतामा गरिएको वृक्षारोपणको उचित संरक्षण गर्न सके मात्र हरेक वर्ष गरिने वृक्षरोपणले सार्थकता पाउने वृक्षारोपणमा पुगेका सहभागीहरुले बताएका छन् । जिल्लामा बेला बेलामा विभिन्न संघसंसथा, सरकारी निकायहरुले वृक्षारोपण गर्दै आए पनि त्यसको संरक्षणमा भने खासै ध्यान दिइएको पाइँदैन ।

प्रकाशित मिति: शनिबार, साउन ५, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update