Shittalpati
एमाले पाल्पाले जनप्रतिनिधिलाई भन्यो ‘विकास र सुशासनमा केन्द्रित भएर काम गर्नुहोस्’

पाल्पा, नेकपा एमाले पाल्पाले एमालेबाट निर्वाचित जनप्रतिनिधिहरुलाई विकास र सुशासनमा केन्द्रीत भएर काम गर्न आग्रह गरेको छ । संघ, प्रदेश र स्थानीय तहबाट निर्वाचित जनप्रतिनिधीहरुलाई जनता केन्द्रित, जनता मैत्री भएर विकास निर्माण र सुशासनमा केन्द्रीत रहेर काम गर्न एमालेले आग्रह गरेको हो ।

सुखी नेपाली संमृद्ध नेपालको अभियान पुरा गर्न जिल्ला जिल्लाबाट काम गर्न एमालेबाट निर्वाचित ३ वटै तहका जनप्रतिनिधीहरुलाई एमालेले निर्देशन गरेको छ । केन्द्रमा पार्टी अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार निर्माण भएका बेला स्थानीय तहबाटै सुखी नेपाली संमृद्ध नेपालको राष्ट्रिय अभियान सफल पार्न सबै जनप्रतिनिधिलाई एमालेले निर्देशन गरेको हो ।  

पाल्पामा दुई वटै संघीय निर्वाचन क्षेत्र, चार प्रदेश निर्वाचन क्षेत्र मध्ये दुई निर्वाचन क्षेत्र, दश स्थानीय तह मध्ये ६ वटामा प्रमुख, पाँचमा उप–प्रमुख, जिल्ला समन्वय समिति र ८१ वटा वडाहरु मध्ये ४१ वटा वडामा एमालेका उम्मेदवारहरु निर्वाचित भएका छन् । एमाले पाल्पाले ति सबै जनप्रतिनिधिहरुलाई एकै ठाउँ राखेर जनताको आवश्यकतालाई मध्यनजर गरी विकास निर्माणका काम गर्न, आ–आफ्नो क्षेत्रमा सुशासनका कायम गर्न अनुरोध गरेको छ । जनताको भावना अनुसार काम गरेर मिसन ८४ मा एमालेको पक्षमा जनलहर ल्याउने गरी काम गर्न जिल्लाबाट निर्वाचित ३ वटै तहका जनप्रतिनिधीहरुलाई एमाले लुम्विनी प्रदेशका अध्यक्ष राधाकृष्ण कडेलले आग्रह गरे । उनले जनताले पाल्पामा एमालेलाई सधै पहिलो पार्टी बनाएकाले आगामी दिनमा पनि त्यसलाई कायम राख्नुपर्नेमा जोड दिए ।

पार्टीबाट उम्मेदवार भई जनताबाट निर्वाचित जनप्रतिनिधीहरुले आ–आफ्नो घोषणापत्र, पार्टीको घोषणापत्र, स्थानीय जनताको भावना र आवश्यकता अनुसार कामहरु भएका छन् की छैनन् भनेर समीक्षा गरी भावी योजनाका विषयमा छलफल केन्द्रित भएको एमाले अध्यक्ष ओमबहादुर घर्तीमगरले बताए । छलफलमा एमाले जिल्लाका पार्टी पदाधिकारीहरु, पाल्पा क्षेत्र नंं १ का प्रतिनिधीसभा सदस्य नारायण प्रसाद आचार्य, प्रदेश सदस्यहरु राजु प्रसाद श्रेष्ठ, खेमबहादुर सारु, ईन्द्रा गहतराज, जिल्ला समन्वय समितिका प्रमुख टंकनाथ खनाल, उपप्रमुख काशिका गैरे सहित ६ वटा पालिकाका प्रमुख, उपप्रमुखहरु, १० वटै पालिकाका पार्टी अध्यक्षहरुको  सहभागिता रहेको थियो । 

कार्यक्रममा संघीय सांसद नारायण प्रसाद आचार्यले जनताको आवश्यकताको आधारमा पाटीले घोषणापत्र बनाएर, घोषणापत्रलाई आधार बनाएर आफुहरुले काम गर्दै आएको बताए । स्थानीयतहका पालिका प्रमुखहरुले जनताको घरदैलो बस्ती बस्तीमा पुगेर, जनताको हरेक दुःखमा साथ दिएर, पार्टीको मुल उद्देश्य पुरा हुने गरी काम गर्दै आएको बताए । पार्टी अध्यक्ष ओमबहादुर घर्तीमगरको अध्यक्षता, पार्टी उपाध्यक्ष विमल काफ्लेको स्वागत र उपसचिव दीपक विश्वकर्माको सञ्चालनमा कार्यक्रम भएको थियो ।

प्रकाशित मिति: शनिबार, साउन ५, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update