Shittalpati
भोली बीपी स्मृति दिवस : पाल्पा र गुल्मीमा काँग्रेसका यस्ता छन् कार्यक्रम

पाल्पा, प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको ४२ औँ स्मृति दिवस विभिन्न कार्यक्रम गरी भोली देशैभर मनाइँदैछ । कोइरालाको स्मृतिका अवसरमा नेपाली काँग्रेस र पार्टीका भ्रातृ संगठनले देशभर कार्यक्रम तय गरेका छन् ।

पाल्पा र गुल्मी काँग्रेसले पनि बीपी स्मृतिका लागि एक हप्ता अघि नै कार्यक्रम सार्वजनिक गरेका छन् । बीपीको सम्झना गर्दै बीपी विचार गोष्ठी, अन्तक्र्रिया, ऐतिहासिक तथा धार्मिक क्षेत्रमा वृक्षारोपण, विरामीहरुलाई फलफूल वितरण जस्ता कार्यक्रम आयोजना गर्न लागिएको नेपाली काँग्रेस पाल्पाका सभापति हिमालदत्त श्रेष्ठले जानकारी दिए । उनका अनुसार नेपाली काँग्रेसको शुभेच्छुक संस्था सहिद स्मृति प्रतिष्ठानको आयोजनमा पाल्पा अस्पतालमा फलफूल वितरण, पाल्पाको ऐतिहासिक, पर्यटकीय तथा धार्मिक स्थल भैरवस्थान मन्दिर परिषरमा नेपाली काँग्रेस वडाको आयोजनामा वृक्षारोपणसँगै खुला अन्तक्र्रिया र रामपुरको बीपी स्मृति पार्कमा फूलहरु रोप्ने कार्यक्रम तय भएको छ ।  

उता गुल्मी काँग्रेसले पनि वडातहदेखि जिल्ला तहमा छुुट्टाछुट्टै कार्यक्रम गर्न लागेको छ । जिल्ला कार्यसमितिले बीपीका विचार र वर्तमान सन्दर्भ विषयक गोष्ठी आयोजना गरेको छ भने वडा र पालिकाहरुमा वृक्षारोपण, विरामीहरुलाई फलफूल वितरण, सरसफाई र अन्य सामाजिक कार्य गरी  भव्य रुपमा स्मृति दिवस मनाउन लागिएको पार्टी सचिव जगदीश भट्टराईले बताए ।  

बीपीको यस्तो छ जीवनी

नेपालमा प्रजातन्त्रको स्थापनाका लागि कठोर संघर्ष गरेका कोइरालाको विसं १९७१ भदौ २४ गते जन्म भएको थियो । जहानियाँ राणा शासनको विरोधमा उनका पिता कृष्णप्रसाद कोइरालाले गरिब किसानले पहिरेको कपडा राणा प्रधानमन्त्री चन्द्रशम्शेरलाई पार्सल गरी पठाएपछि कोइराला परिवार भारत निर्वासनमा जानुपरेको थियो । भारत निर्वासनमै बीपीले भारतको स्वतन्त्रता संग्राममा पनि भाग लिए । भारत स्वतन्त्र भएपछि नेपालमा प्रजातन्त्र स्थापनाका लागि सहज हुन्छ भन्ने सोचले उनी त्यो आन्दोलनमा सक्रिय बने । भारत निर्वासनकै क्रममा जहानियाँ राणा शासनको अन्त गर्न विसं २००३ मा बीपीको नेतृत्वमा नेपाली राष्ट्रिय कांग्रेस स्थापना भएको थियो । प्रजातन्त्र स्थापनाको मुख्य लक्ष्य लिएर सुवर्ण शम्शेरको नेतृत्वमा विसं २००६ मा स्थापना भएको नेपाल प्रजातन्त्र कांग्रेसका बीच एकता भएपछि विसं २००७ को क्रान्ति सफल भयो । क्रान्तिको सफलतापछि मोहन शम्शेरको नेतृत्वमा बनेको राणा–कांग्रेस सरकारमा बीपी गृहमन्त्री बने ।

विसं २०१५ को आम निर्वाचनमा कांग्रेसले दुईतिहाइ बहुमत प्राप्त गरेपछि प्रथम जननिर्वाचित प्रधानमन्त्री बनेका कोइरालाले नेपालमा राष्ट्रियता, प्रजातन्त्र र समाजवाद स्थापनाका लागि राजनीतिक नेतृत्व प्रदान गरेका थिए । प्रधानमन्त्रित्व कालमा उनले बिर्ता उन्मूलन गरी ‘जग्गा जोत्नेको हुनुपर्छ’ भन्दै किसानको पक्षमा महत्वपूर्ण कार्यक्रम घोषणा गरेका थिए । विसं २०१७ पुस १ गते शाही नेपाली सेनाको शक्तिका भरमा जननिर्वाचित सरकार अपदस्त गरिएपछि कोइरालालगायत नेतालाई सिंहदरबारमा बन्दी बनाइएको थियो । एक महिनापछि सेनाको सुन्दरीजल आर्सनलका प्रमुखको सरकारी निवासलाई वरिपरि पर्खालले घेरेर नेता कोइराला, संसद्का प्रथम सभामुख कृष्णप्रसाद भट्टराई, नेता गणेशमान सिंहलगायत मन्त्रीलाई सुन्दरीजल बन्दीगृहमा बन्दी बनाइयो ।

विसं २०२५ मा स्वास्थ्य परीक्षणका लागि जेलमुक्त भएका कोइरालाले आठ वर्षसम्म भारतमा निर्वासित जीवन बिताएका थिए । भारतमा निर्वासित भएर प्रजातन्त्र पुनःस्थापनाका पक्षमा संघर्ष गर्दा राष्ट्रियता कमजोर भएको विश्लेषण गरी आठ वटा ज्यान मुद्दाको प्रवाह नगरी विसं २०३३ पुस १६ गते राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई उनी स्वदेश फर्किएका थिए । उनले अपनाएको राष्ट्रिय मेलमिलापको नीति आज पनि मुलुकको राजनीतिमा उत्तिकै सान्दर्भिक छ । क्यान्सर रोगले बीपीको विसं २०३९ साउन ६ गते निधन भएको थियो । उनले नेपाली साहित्यका क्षेत्रमा पनि महत्वपूर्ण योगदान पुर्याएका छन् ।

प्रकाशित मिति: शनिबार, साउन ५, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update