Shittalpati
शिक्षकसँग पुष्पलाल : कम्युनिष्ट नेताहरु पुष्पलालको विचारलाई तिलाञ्जली दिएर पद र सत्ताका पछाडी दौडिए

पाल्पा, पुष्पलाल स्मृती प्रतिष्ठान नेपाल पाल्पाले शिक्षकसँग पुष्पलालको योगदानको परिचर्चा गरेको छ । प्रतिष्ठानले ४६ औं पुष्पलाल स्मृती दिवसको अवसरमा पाल्पाली शिक्षकहरुसँग अन्तक्र्रिया गरेको हो ।

कार्यक्रममा सहभागी शिक्षकहरुले देशलाई समाजवादतर्फ अघि बढाउन समाजवादी शिक्षा लागु गर्नुपर्ने बताएका छन् । उनीहरुले उत्पादन र श्रमसँग जोडिने शिक्षा नीति कार्यान्वयन नहुँदासम्म संविधानमा लेखे अनुसार देश समाजवादतर्फ जान कठिन रहेकोमा जोड दिए । भाषणमा समाजवादी कुरा गर्ने सत्तामा पुगेपछी पुँजीपती बर्गको पछाडी दौडिने प्रवृत्ति नेपालका सबै कम्युनिष्ट नेताहरुमा रहेको सहभागीहरुले बताए । पुष्पलालको नीति र सिद्धान्तहरुलाई तिलाञ्जली दिएर पद, सत्ता र पैसाको लागि जस्तो सुकै गलत कामको लागि कम्युनिष्ट नेताहरु हाम फाल्ने प्रवृत्तिको अन्त्य भए मात्र पुष्पलालको सच्चा सम्मान ठहरिने शिक्षकहरुले औल्याए ।

नेपालमा बामपन्थी धारबाट पुष्पलाल र प्रजातान्त्रिक धारबाट बीपी कोईरालाले प्रतिपादन गरेको राजनीतिक सिद्धान्तलाई नेताहरुले चर्का चर्का भाषण गरे पनि व्यवहारमा कार्यान्वयन नगरेको बक्ताहरुले बताए । कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख टंकनाथ खनालले पुष्पलालले सधै सत्ता पैसा र परिवारवाद भन्दा माथि उठेर काम गरे पनि वर्तमान नेताहरु पुष्पलालको नीति, सिद्धान्त विपरित सत्तामा मात्र ध्यान दिएको बताए । प्रतिष्ठानका संरक्षक अशोक कुमार शाहीले पुष्पलालले गरेका काम विचार सिद्धान्त, दर्शनहरु समाजका विभिन्न पक्षहरुबाट जनतासम्म लैजानु पर्नेमा जोड दिए । पुष्पलालको विचार अनुसार नेपालमा परिवर्तन हुन नसकेको संरक्षक शाहीको विश्लेषण रहेको छ  ।

कार्यक्रममा नेपाल राष्ट्रिय शिक्षक संगठनका केन्द्रिय सदस्य रामप्रसाद ढकाल, प्रगतिशिल राष्ट्रिय शिक्षक संगठनका केन्द्रिय सचिव अच्युतराज नेपाल, नेपाल शिक्षक महासंघ पाल्पाका सह अध्यक्ष दिपक पौडेल, नेपाल राष्ट्रिय शिक्षक संगठनका जिल्ला अध्यक्ष मोहन सापकोटा, जनता माविका प्रधानाध्यापक हरि प्रसाद घिमिरे, प्रेस चौतारी नेपालका केन्द्रिय सदस्य मिलन विश्वकर्मा र शिक्षक तिर्थ गौतम लगायतले पुष्पलालको विचार, दर्शन, नीति सिद्धान्तको बारेमा चर्चा गरेका थिए । कार्यक्रममा प्रतिष्ठानका सदस्य सन्तोष खनालले पुष्पलालको राजनीतिक यात्रा, पुष्पलालको योगदान, राणा शासन तथा पञ्चायत विरोधी आन्दोलनमा खेलेको भूमिका विषयमा जानकारी गराएका थिए । पुष्पलालको यही श्रावण ७ गते स्मृती दिवस परेको छ । पुष्पलालको जन्म १९८१ असार १५ र मृत्यु २०३५ श्रावण ७ गते भएको थियो । प्रतिष्ठानका अध्यक्ष गोविन्द भट्टराईको अध्यक्षता, प्रतिष्ठानका कोषाध्यक्ष  झपेन्द्र गहिरेको स्वागत र सदस्य सन्तोष खनालको सञ्चालनमा कार्यक्रम भएको थियो ।

प्रकाशित मिति: शनिबार, साउन ५, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update