Shittalpati
पाल्पा आँखा अस्पतालको वार्षिक समीक्षा तथा गोष्ठी

पाल्पा, तानसेनमा आँखा अस्पतालको वार्षिक समीक्षा तथा गोष्ठी भएको छ । नेपाल नेत्रज्योति संघ र पाल्पा लायन्स लाकोल आँखा अस्पताल तथा यस अन्तर्गत  रहेका आँखा उपचार  केन्द्रहरुको वार्षिक समीक्षा तथा गोष्ठी गरिएको हो ।

कार्यक्रममा अस्पताल र अस्पताल अन्तर्गतका संस्थाहरुले आ–आफ्नो संस्थाको वार्षिक कार्यप्रगति सार्वजनिक गरेका  छन् । पाल्पा लायन्स लाकोल आँखा अस्पतालका आउटरिच कोर्डिनेटर सन्तोष दर्जी, कालीगण्डकी आँखा उपचार केन्द्रका इञ्चार्ज सुन्दर राना, तिनाउ आँखा उपचार केन्द्रका इञ्चार्ज रमेश साहनी र रैनादेबी छहरा आँखा उपचार केन्द्रका इञ्चार्ज मनोज शर्मा लगायतले आ–आफ्नो अस्पताल र उपचार केन्द्रहरुको वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । सोही अवसरमा लायन्स लाकोल आँखा अस्पतालका लेखापाल जीवनाथ गैरेले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका छन् ।

कार्यक्रममा कालीगण्डकी आँखा उपचार केन्द्रका संयोजक भीमविश्व भट्टराईले रामपुर आँखा उपचार केन्द्रको समस्याहरुका बारेमा जानकारी गराएका थिए । कार्यक्रममा अस्पताल र उपचार केन्द्रहरुलाई दातृ तथा स्थानीय निकाय, जिल्लामा रहेका विभिन्न सामाजिक संघ सस्थाहरुसँग समन्वय गरेर अगाडि बढ्नु पर्ने, आँखा उपचार सेवालाई थप गुणस्तरीय र प्रभाकारी बनाउनु पर्ने, सरकारले चस्मामा लगाएको करले सेवाग्राहीहरु मारमा परेकाले त्यस विषयमा अस्पतालले सम्बन्धित निकायसँग पहल गर्नु पर्नेमा सहभागीहरुले जोड दिएका छन् । अस्पतालका डाक्टर  सुचेन पुनले अस्पताल र उपचार केन्द्रको स्तरवृद्धिका लागि आफ्नो योजना राखेका थिए । संघका अध्यक्ष बुद्धिप्रसाद शर्मा अध्यक्षता, उपाध्यक्ष भिमसेन कार्कीेको स्वागत, सचिव राजेन्द्र लिगलको सञ्चालनमा कार्यक्रम भएको थियो ।  

प्रकाशित मिति: शनिबार, साउन ५, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update