Shittalpati
गुरूप्रति सम्मान

आज गुरु पूर्णिमा हो । असार शुक्ल पूर्णिमालाई गुरुपूर्णिमा भनिन्छ । यस दिन गुरुपूजा तथा व्यास जयन्ती मनाइने गरिन्छ । आजको दिन गुरुहरूको विशेष सम्मान गरिन्छ र गर्नुपर्छ भन्ने मान्यता छ । आफूलाई शिक्षा प्रदान गर्ने गुरूप्रति श्रद्धाभाव प्रकट गरी यो पर्व मनाउने गरिन्छ ।

गुरुको अर्थ हुन्छ अन्धकारलाई रोक्ने वा हटाउने । जसले जीवनमा अज्ञानरूपी अन्धकारलाई हटाएर ज्ञानको ज्योति बालिदिन्छन्, उनीहरू नै सच्चा गुरु हुन् । अज्ञानरुपी अन्धकारबाट ज्ञानतर्फ डोर्‍याउने गुरु र गुरुत्वको सम्मान र स्मरण गर्नु आफैमा राम्रो परम्परा हो । वैदिक सनातनी हुन् वा बौद्ध, इसाई वा इस्लाम सबैको जीवनमा गुरू र गुरूत्वको महत्व समान हुन्छ । उनीहरुकै कृपा र सहयोग भएमात्र मानवजातिले ज्ञान, सिप ग्रहण गर्दछ । त्यही ज्ञान र सिपका आधारमा जीवन गति र व्यवहार सञ्चालन हुन्छ । गुरुको प्रार्थना गर्न जति सजिलो छ वास्तवमा सद्गुरु भेट्टाउन त्यति सहज नहुन पनि सक्छ । जन्मलाई कृतार्थ गराउनसक्ने ज्ञान दिने तथा मार्गदर्शन गरिदिने गुरु प्राप्त गर्न गाह्रो पर्छ । जन्म पूर्वजन्मको ज्ञान हुनसक्ने मार्गदर्शन गरिदिने, आत्म ज्ञानको ढोका उघारीदिने सक्षम गुरु वास्तविक सद् गुरु कहलाउँदछ ।

हामी गुरु शब्द सहज रूपमा उच्चारण गछौं । वास्तवमा गुरु शब्दले दिन खोजेको संदेश के हो भन्ने विषयमा कमै चिन्तनशील हुन्छौं । गुरू औपचारिक ज्ञान दिने मात्र होइन आफूभन्दा उमेर, ज्ञान, सीप र चेतनाले जो अघि छन् ती सबै गुरू हुन् । गुरूको पूजा भनेकै ज्ञान र सीपको पूजा हो । मानिसलाई ठीक–बेठीक, सत्य–असत्य, न्याय–अन्याय, प्राकृतिक र कृत्रिमको भेद सिकाउने चेतना नै गुरूत्व हो । आजको दिन गुरुप्रति भक्ति प्रकट गर्नेहरुका लागि अति उत्तम हो । तर यो अवसर आज मात्र लिने होइन, सधैँभरी लिनुपर्छ । गुरुको सम्मान एक दिन मात्र होइन सधंैव गर्न सकियो भने मात्र गुरु पूर्णिमा मनाउनुको सार्थकता रहन्छ । यसर्थ गुरु पूर्णिमाको अवसरमा सम्पूर्ण गुरुप्रति सम्मान ।

प्रकाशित मिति: आइतबार, साउन ६, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update