केही दिन अगाडि फ्रान्सको एक अनलाईन पत्रिकाले नेपालमा विगत १५ बर्षमा १४ जना प्रधानमन्त्री फेरिएको भन्दै नेपाल राजनीतिक अस्थिरताको लागि विश्व च्याम्पियन भएको र सोहि कारण नेपालमा रोजगारी सिर्जना गर्न नसक्दा युवाहरुको देश छोड्ने संख्या अत्याधिक बढ्दै गएको एक समाचार प्रकाशन गर्यो । सत्ता केन्द्रीत राजनीति र राजनीतिक अस्थिरतामा रमाउने राजनीतिक नेतृत्वलाई यसले खासै असर गरेन होला तर सच्चा देशभक्त जनतामा भने यसले थप निराशा उत्पन्न गरायो ।
देश र जनताको अवस्था सुधारका लागि हजारौंको ज्यान जाने जनयुद्ध हुँदै व्यवस्था र देशको संरचना नै परिवर्तन गरी सत्ता परिवर्तनको आलोपालो अभ्यास गरिरहेका नेपालका राजनीतिक दलहरुले दशकौं समय बेथित गर्दै गर्दा जनतामा सकरात्मक सन्देश दिन नसकेको यथार्थ हो । राजनीति स्थिरता र स्थिर सरकार आर्थिक विकास र समृद्धि प्राप्तिका महत्वपूर्ण पक्षहरु हुन् तर आर्थिक समृद्धिका नारा र भाषण गर्ने राजनीतिक नेतृत्वले यस पक्षको प्राप्तिमा खासै ध्यान दिएको भने देखिदैन् । यसको बदलमा झन् झन् राजनीतिक अस्थिरता र सरकार परिवर्तनको दरमा वृद्धि गर्दै लगेको देखिन्छ । राजनीतिक दल र तीनका नेतृत्वले नैतिकता गुमाउँदै सत्ता केन्द्रीत राजनीतिक प्रवृत्ती बढाउदै लगेको देखिन्छ भने नयाँ देखि पुराना राजनीतिक नेतृत्व यस पक्षमा को भन्दा को कम जस्तै गरी प्रतिस्पर्धा गरेको देखिन्छ । राजनैतिक दल र तीनका नेतृत्वले एक अर्काबिच नैतिकता, प्रतिवद्धता र इमान्दारीता गुमाउँदै छन् भने जनतबाट विश्वास र आस्था । किन नेपालको राजनीतिक नेतृत्व र राजनैतिक दलमा पछिल्लो समय उनीहरुको नैतिकता माथि प्रश्न उत्पन्न भै रहेको होला ? यसैसँग सम्बन्धित विविध पक्षलाई लिएर यहाँ चर्चा परिचर्चा गर्ने प्रयास गरिएको छ ।
नैतिकता र नेपालको राजनीतिः
विश्व, देश, समाज तथा घरपरिवार एक अर्काको नैतिकता र विश्वासमा अडिएको छ । नैतिकताले नीति सिद्धान्त र असल आचरणलाई जोड दिने गर्दछ तर आज भोली विशेष गरेर नेपालको राजनीतिक नेतृत्वले भाषणमा चर्को रुपमा नैतिकता र नैतिक शिक्षाको महत्व र आवश्यकताको कुरा गरेता पनि व्यवहार र क्रियाकलाप भने यस विपरीत देखाउदै लगेको देखिन्छ । चुनावको अवधिमा जती जनता र राष्ट्रलाई प्राथमिकतामा राखेर काम गर्ने भाषण, घोषणा पत्र जारी गर्ने नेपालका राजनीतिक दलका नेतृत्वहरु जब चुनाव सकिन्छ, व्यवहार र कार्य शैलीलाई छेपारोले रंग फेरे झै फेर्ने गरेको अनुभव र अनुभुती नेपाली जनताले गरेका छन् । हुन् पनि गणतान्त्रिक साशन व्यवस्था अभ्यासको करीब दुई दशकको अवधिमा नेपालका जनता र देशको सेवाका लागि राजनीति गरेका हौ, साशन सञ्चालन गरेका हौं भन्ने राजनीतिक दलका नेतृत्वले नैतिकता, इमान्दारीता र राजनीतिक संस्कार क्रमश गुमाउँदै गएको कुरामा दुईमत रहँदैन् । जसको कारण राजनीतिक दल, तीनका नेतृत्वप्रती आमजनतामा निराशा, असन्तुष्टि तथा आलोचनात्मक दृष्किोणमा वृद्धि हुँदै गएको देखिन्छ ।
किन नैतिकता गुमाउँदै छन् त राजनीतिक दलहरु ?
पुराना र आफुलाई स्थापित राजनैतिक दल र नेतृत्व भन्नेहरुको त कुरै नगरौं । आफुलाई विशिष्ट राजनीतिक दलको नेता मान्य, फरक शैलीको दलको नेता मान्यहरु पनि स्थापनाको छोटो समयमै राजनैतिक नैतिकता र संस्कार गुमाउने र राजनैतिक अस्थिरता ल्याउने कार्यमा अग्रपक्तिमा रहेको देखिन्छ । किन राजनैतिक दलका नेतृत्वहरु नैतिकता र जनताबाट विश्वास र आस्था गुमाउँदै छन् । यहाँ केही पक्षलाई उल्लेख गर्ने प्रयास गरिएको छ ।
एकै पटक आठ वटा सरकार गुमाउनु पर्ने अवस्था :
संघीयताको अभ्याससँगै केन्द्रसहित आठ वटा सरकारहरुबाट देशको साशन सञ्चालनको अभ्यास गरिएको छ । सत्ताबाट बाहिरीनु पर्ने अवस्था आउने बित्तीकै विगतमा जस्तो एक सरकार मात्रै गुमाउनु पर्ने अवस्था अहिले देखिदैन् । एकै पटक आठ वटा सरकारहरु गुमाउनु पर्ने देखिन्छ । सरकार गुमाउनु भनेको शक्ति गुमाउनु पर्ने अवस्था भएकाले राजनीतिक दलले सत्ताका लागि मरिमेट्ने गरेको देखिन्छ ।
विगतको भष्ट्राचार र बेथितीबाट बच्न :
पछिल्लो समय राजनीतिक स्टाण्ड बाजी र जनताबाट सस्तो लोकप्रियता प्राप्तिका लागि सत्तामा रहेका राजनीतिक दलहरुले भष्ट्राचार र सुशाशन स्थापनका लागि केही गरेझै नाटक गरेको देखिन्छ भने विगतमा यसैमा रमाएकाहरु भने त्रसित देखिन्छन् कतै छानबिन र कारवाहीमा परिने हो की ? यहि कारण नयाँ पुराना राजनीतिक दलहरु सत्ता बाट बाहिर बस्ननै नसक्ने अबस्थामा पुगेको देखिन्छ । सत्ता प्राप्तिका लागि जुनसुकै किसिमको हर्कत गर्न पनि पछि नपर्ने गरेको देखिन्छ । उनीहरु नैतिकता र इमान्दारीता गुमाउदै सत्ता प्राप्ती र सत्ताबाट बाहिर जान नपर्नै खेलमा लागि रहेको देखिन्छ । यसको एउटा उदाहरण हो पछिल्लो समय १८ महिनामा तीन बटा सत्ता समिरण परिवर्तन । कारण हो हरेक दलका मूख्य नेतृत्वले कुनै न कुनै भष्ट्राचार र बेथितीको कार्य गरेको र सत्ता बाहिर हुने बित्तीकै सरकारको कारवाहीमा परिने, छानबीन हुने, राजनीति समाप्त हुने, जेल जानु पर्ने डर र त्रास ।
डन र गुटको इच्छा मुताविक :
पछिल्लो समय हरेक राजनीतिक दलहरु भित्र झाँगिदै गएको एक प्रवृत्ती हो गुट, उपगुट र नेता पिछेका चम्चे र डनहरु । यीनैहरुको स्वार्थ परिपूर्तीका लागि राजनीतिक दलहरुलाई दिने सल्लाहका कारण राजनैतिक नेतृत्वले नैतिकता र इमान्दारीता गुमाउदै गएको देखिन्छ ।
चुनावी खर्च व्यवस्थापनको आधारः
पछिल्लो समय राजनैतिक दलहरुले चुनावी परिणामलाई आफ्नो पक्षमा पार्नका लागि जस्तो सुकै हर्कत गर्न पनि पछि नपर्ने गरेको सुनिन्छ/देखिन्छ ।
यसका लागि करोडौ रकम खर्च गर्न राजनैतिक नेतृत्व पछि नपरेको देखिन्छ । यसरी गरिएको खर्च उठाउने आधार सरकार रहेको र सरकारमा जाने, मन्त्री हुने विभिन्न गैर कानुनी क्रियाकलाहरु गरेर रकम जम्मा गर्नका लागि नै जस्तोसुकै नैतिकता गुमाएर, लाज पचाएर गठबन्धन बनाउने, फेर्ने गरेको देखिन्छ । एउटै उद्देश्य जनताको दैनिकी र जीवनस्तर सुधारको लागि नभएर पार्टी र आफ्नो लागि आगामी चुनाव खर्च जुटाउनु रहेको देखिन्छ ।
बजेटको दुरुपयोग गर्न पाईने :
नैतिकता गुमाउँदै, जनताकाबिचमा अलोप्रिय भएता पनि जुनसुकै कार्य र हर्कत गर्न पछि नपर्ने हाम्रा राजनैतिक दलका नेतृत्व भएको देखिन्छ । यसका लागि उनीहरुको पहिलो प्राथमिकता सरकार नै देखिन्छ । सरकारमा रहेपछि सरकारको बजेटलाई आफ्नो नीजि जस्तै गरि प्रयोग गर्न पाईन्छ । रातारात बजेटका शिर्षक र कार्यक्रमलाई परिवर्तन गर्न पाईन्छ । असमानुपातिक वितरण गर्दै बजेटको ठूलो अंश आफ्नो क्षेत्र, जिल्लामा लान पाईन्छ । कमिसन, आर्थिक प्रलोभनमा करका दरहरुमा, आर्थिक नीतिमा कुनै अदृश्य स्वार्थ समूहको उद्देश्य अनुरुप परिवर्तन गर्न पाईन्छ । यहि स्वार्थका कारण राजनैतिक दल र तीनका नेतृत्वले नैतिकता गुमाउदै गएको देखिन्छ ।
पद र शक्तिको दुरुपयोगः
पछिल्लो समय राजनीतिक दलले सरकारलाई शक्ति प्राप्तीको स्रोतको रुपमा प्रयोग गर्दै, प्राथमिकता राख्ने गरेको पाईन्छ । आसेपासेलाई विभिन्न क्षेत्रहरुमा नियुक्ति गर्न पाईने । देशभित्र र बाहिर राज्यको स्रोतको दोहन गर्दै भ्रमण गर्न पाईने । जता गयो त्यतै सत्ताको आडमा सम्मान पाईने । सरकारलाई शक्ति र आसेपासेलाई अगाडि पछाडी लिएर हिड्ने, राज्यका अंगहरुको दुरुपयोग गर्न पाईने आदि कारणले नैतिकता र राजनैतिक संस्कार गुमाउदै सत्तामा रहिरहने, सत्तामा पुग्नै पर्ने धारणा विकास भएको देखिन्छ ।
आन्तरिक तथा बाह्य शक्तिबाट परिचालि:
नेपाली राजनैतिक नेतृत्वले नैतिकता गुमाउँदै जानुको कारणको रुपमा कुनै अदृश्य शक्तिबाट परिचालित, आदेशपालक हुनु पनि रहेको छ ।पछिल्लो समय राज्यका हरेक निकाय, सरकारहरुमा आन्तरिक तथा बाह्य स्वार्थ समूहको हस्तक्षेप बढ्दै गएको र राजनीतिक नेतृत्व सत्तामा पुग्न र रहिरहन पालकको रुपमा उपस्थित भएको देखिन्छ । कार्यबाट जनतामा लोकप्रियता गुमोस् तर सिमित वर्गलाई खुसी पार्नका लागि जस्तो सुकै आघात पर्ने खालको काम गर्न र निर्णय गर्नपछि परेको देखिदैन् ।
नियुक्ति र भागवण्डा :
राज्यका हरेक निकायहरु र अंगहरुमा राजनैतिक भागबण्डाका आधारमा नियुक्तीको प्रवृित्त बढ्दै गएको देखिन्छ । यहि कारण पनि राजनैतिक नेतृत्व नैतिकता गुमाउदै सत्ता केन्द्रीत राजनीतिमा आर्कषित भएको देखिन्छ ।
निष्कर्ष :
जनताको साशन व्यवस्थामा छिटो छिटो सरकार परिवर्तनले जनतामा निराशा उत्पन्न भएको भन्दै दुई ठूला दलहरुले सहमती गर्दै स्थिर सरकारका लागि सहकार्य गरेका छन् । यसबाट जनतामा केहि आशा सिर्जना भएको छ । यो आशालाई निराशामा परिणत गर्ने छुट यी दललाई छैन् । विभिन्न स्वार्थ समूहको उद्देश्यलाई साथ दिदै सह कार्य तोड्ने छुट पनि यी दललाई छ्रैन् । साथै राजनीतिमा सिद्धान्त, नैतिकता र राजनैतिक संस्कार भएन भने तत्काल क्षणिक लाभ प्राप्त भएता पनि दिर्घकालमा भने आफैलाई समाप्त पार्ने भएकाले क्षणिक स्वार्थ परिपूर्तीका लागि जस्तोसुकै अनैतिक कार्य र इमान्दारीताको व्यापार गर्ने प्रवृत्ती आजैबाट राजनैतिक नेतृत्वले हटाउनु पर्ने जरुरी देखिन्छ । यसो भएमा राजनैतिक स्थिरता र स्थिर सरकारको आशा र परिकल्पना साकार हुने थियो ।
(लेखक अर्थशास्त्रका प्राध्यापक समेत हुन् ।)