Shittalpati
आज गुरु पर्णिमा, गुरुजनप्रति सम्मान गरेर मनाइँदै

पाल्पा, आज देशभर गुरु पूर्णिमा मनाइँदै छ । असार शुक्ल पूर्णिमाका दिन गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा दिने गुरुजनप्रति सम्मान भाव प्रकट गरी गुरु पूर्णिमा पर्व मनाइँने गरिन्छ । वैदिक धर्मग्रन्थ महाभारतका रचयिता वेद व्यासको जन्मजयन्तीका अवसरमा वैदिक कालदेखि नै मनाउने गरिएको व्यास जयन्तीलाई गुरु पूर्णिमाका रूपमा लिने गरिएको छ ।

वेदव्यासले वेदान्त, अठार पुराण, उपनिषद्लगायतका धार्मिकग्रन्थ लेखी हिन्दू संस्कृतिलाई ठूलो गुन लगाएको मानिन्छ । यस पर्वमा गुरुप्रति कृतज्ञता व्यक्त गर्दै नयाँ वस्त्रआभूषण फेराउने र मिष्ठान्न भोजन गराउने परम्परा छ । संस्कृत भाषामा ‘गु’ को अर्थ अन्धकार र ‘रु’ भन्नाले प्रकाश बुझिन्छ । ज्ञानरुपी प्रकाशले अज्ञानरुपी अन्धकारको नाश गराउने व्यक्तिलाई गुरु भनिने तन्त्रशास्त्र र धर्मशास्त्रमा उल्लेख गरिएको छ । अज्ञानता रुपी अन्धकारको नाश गरी जीवनमा ज्ञानको ज्योति दिने, फैलाउने व्यक्तिलाई नै ‘गुरु’ भनिन्छ ।

यस्ता गुरुलाई पूर्वीय दर्शन र शास्त्रले ब्रह्मा, विष्णु र महेश्वरसहितका त्रीदेवका रुपमा लिइन्छ । पूर्वीय दर्शन परम्पराका स्थापित धर्मग्रन्थ वेद, पुराण, उपनिषद, रामायण र महाभारतसहित महाकाव्यका रचयिता महामुनि कृष्ण द्वैपायन (वेदब्यास) को जन्म दिन असार पूर्णिमा नै मानिएको हुँदा उहाँप्रतिको सम्मानभावबाट नै हिन्दू परम्परामा यो पर्वको परम्परा बसेको हो । माता–पिताजस्तै गुरुलाई पनि देवता समान मानेर ‘आचार्यदेवो भव’ भनिने हिन्दू वैदिक परम्परा छ । गुरु पूर्णिमाका अवसरमा यस दिन विभिन्न विद्यालय एवं संघसंस्थाले कार्यक्रम गरी शिक्षा, दीक्षा दिने गुरुप्रति श्रद्धाभाव प्रकट गर्ने गरेका छन् । आजै वेदलाई ऋग्वेद, यजुर्वेद, सामवेद र अथर्ववेद गरी चार भागमा विभाजन गरी यसको अर्थ बुझाउन सरल संस्कृत भाषामा १८ पुराण र १८ उपपुराणको रचना गर्नुहुने वेदव्यासको सम्झनामा व्यास जयन्ती पनि मनाइन्छ । आषाढ शुक्ल पूर्णिमाकै दिन वेद व्यास जन्मिएकाले यसै दिन व्यास जयन्ती मनाउने गरिएको हो । अर्थात् अरूको उपकार गरे धर्म हुन्छ एवं अरूलाई पीडा दिए पाप लाग्छ भनी मानवतावादी सन्देश दिइएको पाइन्छ ।

प्रकाशित मिति: आइतबार, साउन ६, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update