Shittalpati
बीपीको स्मरण : विचारमा पातलिँदो स्मृति दिवस

पाल्पा, नेपाली काँग्रेसका संस्थापक तथा प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको योगदानको स्मरण गर्दै आज नेपाली काँग्रेस र भातृ संस्थाहरुले देशैभर विभिन्न कार्यक्रमसहित ४२ औं बीपी स्मृति दिवस मनाउँदै छन् । उनका फोटामा माल्यार्पण गरिनेछ, बीपीका जीवन भोगाइ र दुई/चारवटा बीपी विचारका कर्खा कार्याकर्ताकालाई सुनाएर यो स्मृति दिवस अन्त्य हुनेछ । यसरी नै हरेक वर्ष भौतिक रूपमा बीपी स्मृति दिवस मनाइन्छ ।

तर, देश कतातर्फ लगिरहेका छौं भन्ने कुरा बीपीका विचारका कसीमा स्मरण गरिने छैन् । पार्टी नेता तथा कार्यकर्ताले आ–आफ्नै तौरतरिकाले विभिन्न कार्यक्रममार्फत बीपीको स्मरण गर्ने छन् । नेपालमा प्रजातन्त्रको स्थापनाका लागि संघर्ष गरेका कोइराला विक्रम संवत् २०१५ सालको संसदीय निर्वाचनपछि २०१६ जेठमा पहिलो निर्वाचित प्रधानमन्त्री बनेका थिए । २०१७ साल पुस १ गते शाही नेपाली सेनाको शक्तिका भरमा जननिर्वाचित सरकार अपदस्थ गरिएपछि कोइराला लगायत नेतालाई बन्दी बनाइएको थियो । २०२५ सालमा स्वास्थ्य परीक्षणका लागि जेल मुक्त भएका कोइरालाले आठ वर्षसम्म भारतमा निर्वासित जीवन बिताएका थिए । भारतमा निर्वासित भएर प्रजातन्त्र पुनः स्थापनाका पक्षमा संघर्ष गर्दा राष्ट्रियता कमजोर भएको विश्लेषण गरी आठ वटा ज्यान मुद्दाको पर्बाह नगरी २०३३ साल पुस १६ गते राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई उनी स्वदेश फर्किएका थिए । उनले अपनाएको मेलमिलापको नीति आज पनि मुलुकको राजनीतिमा उत्तिकै सान्दर्भिक मानिन्छ । बीपीले नेपाली साहित्यका क्षेत्रमा पनि महत्वपूर्ण योगदान पुर्‍याएका थिए । ४२ वर्षपहिले २०३९ साउन ६ गते देहवसान भएका कांग्रेसका संस्थापक नेता कोइरालाबारे अहिले पनि बहस, विवेचना र विमर्श चलिरहेको छ । निरंकुश राणा शासन र अधिनायकवादी राजतन्त्रको अन्त्य गरी लोकतन्त्र स्थापनाका लागि पाँच दशकभन्दा लामो संघर्षपूर्ण र उतारचढावपूर्ण इतिहास भएका बीपी राजनीतिक दृष्टिले आजपर्यन्त जीवित छन् । २००७ सालको जनक्रान्तिबाट प्रजातन्त्र स्थापना भएपछि मोहनशमशेर नेतृत्वको अन्तरिम सरकारमा ९ महिना गृहमन्त्री तथा २०१५ सालको आमनिर्वाचनमा कांग्रेसले दुईतिहाइ हासिल गरेपछि १८ महिना प्रधानमन्त्री भएका बीपी केवल २७ महिना सत्तामा रहे । तर, सैद्धान्तिक तथा वैचारिक दृष्टिले अद्यापि नेपाली राजनीतिको केन्द्रविन्दुमा बीपी छन्, उनीमाथि हुँदै आएका बहस र विमर्शले यसलाई पुष्टि गर्छन् । बीपीबिना नेपालको लोकतान्त्रिक आन्दोलन र सैद्धान्तिक–वैचारिक बहस नै अपूर्ण हुने भएकाले उनीबारे विमर्श हुनु स्वाभाविक नै हो । तर बीपीका अनुयायीहरु काँग्रेसका नेता तथा कार्यकर्ताहरुले नै उनको विचारलाई आत्मसाथ गर्न सकिरहेका छैन । आज काँग्रेसमा बीपी कहाँ छन्, खोज्नुपर्ने स्थिति छ । सोह्रश्राद्ध तथा वर्षदिनको तिथिमा आफ्ना पितृलाई सम्झेजस्तै बीपीलाई हरेक वर्ष साउन ६, भदौ २४ र पुस १६ गते सम्झेर मात्र पुग्दैन । बीपीका विचार र आदर्शबाट ओतप्रोतका साथ पार्टीको जीवनपद्धति सुदृढ बनाउनुपर्छ भन्ने आवाज जनस्तरबाटै उठेको छ ।

बीपीको सम्झनामा पाल्पा र गुल्मीमा यस्ता छन् कार्यक्रम

प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको ४२ औँ स्मृति दिवस विभिन्न कार्यक्रम गरी  आज देशैभर मनाइँदैछ । कोइरालाको स्मृतिका अवसरमा नेपाली काँग्रेस र पार्टीका भ्रातृ संगठनले देशभर कार्यक्रम तय गरेका छन् ।

पाल्पा र गुल्मी काँग्रेसले पनि बीपी स्मृतिका लागि एक हप्ता अघि नै कार्यक्रम सार्वजनिक गरेका छन् । बीपीको सम्झना गर्दै बीपी विचार गोष्ठी, अन्तक्र्रिया, ऐतिहासिक तथा धार्मिक क्षेत्रमा वृक्षारोपण, विरामीहरुलाई फलफूल वितरण जस्ता कार्यक्रम आयोजना गर्न लागिएको नेपाली काँग्रेस पाल्पाका सभापति हिमालदत्त श्रेष्ठले जानकारी दिए । उनका अनुसार नेपाली काँग्रेसको शुभेच्छुक संस्था सहिद स्मृति प्रतिष्ठानको आयोजनमा पाल्पा अस्पतालमा फलफूल वितरण, पाल्पाको ऐतिहासिक, पर्यटकीय तथा धार्मिक स्थल भैरवस्थान मन्दिर परिषरमा नेपाली काँग्रेस वडाको आयोजनामा वृक्षारोपणसँगै खुला अन्तक्र्रिया र रामपुरको बीपी स्मृति पार्कमा फूलहरु रोप्न लागिएको छ । उता गुल्मी काँग्रेसले पनि वडातहदेखि जिल्ला तहमा छुट्टाछुट्टै कार्यक्रम गर्न लागेको छ । जिल्ला कार्यसमितिले बीपीका विचार र वर्तमान सन्दर्भ विषयक गोष्ठी आयोजना गरेको छ भने वडा र पालिकाहरुमा वृक्षारोपण, विरामीहरुलाई फलफूल वितरण, सरसफाई र अन्य सामाजिक कार्य गरी भव्य रुपमा स्मृति दिवस मनाउन लागिएको पार्टी सचिव जगदीश भट्टराईले बताए । 

प्रकाशित मिति: आइतबार, साउन ६, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update