Shittalpati
लुम्बिनी प्रदेशका मुख्यमन्त्री महराद्वारा राजीनामा

लुम्बिनी, लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले आज आफ्नो पदबाट राजीनामा दिएका छन् । लुम्बिनी प्रदेशसभाको आज बसेको बैठकलाई सम्बोधन गर्दै उनले मुख्यमन्त्री पदबाट राजीनामा दिएका हुन् । सङ्घीय सरकारमा सत्ता समिकरण परिवर्तन भएसँगै नेकपा (एमाले) ले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका मुख्यमन्त्री महराले राजीनामा दिएका हुन् । 
 
मुख्यमन्त्री महराले छिट्टै नयाँ सरकार गठन गरी मन्त्रिपरिषद्लाई पूर्णता दिन आग्रह गरे । उनले आफ्नो नेतृत्वको सरकारमा सहभागी हुँदा एमाले तथा अन्य दलका मन्त्रीहरुले सोचेभन्दा बढी विश्वासका साथ काम गरेको दाबी गरे । 

‘केन्द्रीय राजनीतिको प्रभाव प्रदेशमा पर्नु दुःखद हो’, उनले भने । आफ्नो नेतृत्वको सरकारले ल्याएको बजेट कार्यान्वयन हुँदैन कि भन्ने चिन्ता गर्दै मुख्यमन्त्री महराले चालु आर्थिक वर्षको नीति तथा कायक्रम कार्यान्वयन हुनेमा आफू आशावादी रहेको बताए ।
  
मुख्यमन्त्री महराको राजीनामासँगै एमाले र नेपाली काग्रेसले नयाँ सरकार गठनको तयारी सुरु गरेको एमालेका प्रमख सचेतक तुल्सीप्रसाद चौधरीले जानकारी दिए । नयाँ सरकार बनाउन एमाले संसदीय दलका नेता लिला गिरीको नेतृत्वमा दावी पेश गर्ने तयारी रहेको उनले बताए । 

कूल ८७ प्रदेशसभा सदस्य रहेको लुम्बिनीमा एमालेका २९ र काग्रेसका २७ प्रदेशसभा सदस्य रहेका छन् । सत्ता सहकार्यका लागि अन्य साना दललाई समेत प्रदेश सरकारकारमा समेट्ने तयारी रहेको प्रमुख सचेतक चौधरीले बताए ।

प्रकाशित मिति: आइतबार, साउन ६, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update