Shittalpati
सत्ता सहकार्यको औचित्य पुष्टि गर्न नसके काँग्रेसलाई घातक हुन्छ :  उपसभापति श्रेष्ठ

गुल्मी, नेपाली काँग्रेस लुम्बिनी प्रदेशका उपसभापति भुवनप्रसाद श्रेष्ठले काँग्रेस–एमालेको सत्ता सहकार्यको औचित्य पुष्टि गर्न नसके काँग्रेसलाई घातक हुने बताएका छन् । आइतबार नेपाली काँग्रेसका संस्थापक बीपी कोइरालाको ४२ औं स्मृति दिवसका अवसरमा नेपाली काँग्रेस गुल्मीले तम्घासमा  आयोजना गरेको ‘बीपीको विचार र वर्तमान सन्दर्भ’ विषयक  गोष्ठीलाई सम्बोधन गर्दै  उनले सत्ता सहकार्यको औचित्य पुष्टि गर्न नसके काँग्रेसलाई घातक हुने बताएका हुन् ।

देशका दुई ठूूला दल मिलेर बनेको सत्ताले आमनागरिकको पक्षमा काम गर्न सके मात्र सहकार्यको पुष्टि हुने भन्दै उनले त्यसो गर्न नसके काँग्रेसलाई घातक हुने उल्लेख गरे । उपसभापति श्रेष्ठले भने ‘वर्तमान नेकपा एमाले र काँग्रेस गठबन्धनको सरकारले जनतालाई केन्द्रमा राखेर काम गर्नुपर्छ ।’ अघिल्ला सरकारले जनताका पक्षमा काम गर्न नसकेका कारण जनतामा निराशा छाएको भन्दै दुुई ठूला दल एक ठाउँमा आएर सत्ता सञ्चालन गरेको बताए । ‘जनताको अनुत्तरित धेरै प्रश्न छन् । वर्तमान सरकारले जनताको हितमा काम गर्नुपर्छ । अहिलेको गठ जोडलाई राजनीतिक रूपमा पुष्टि गर्न नसके नेपाली काँग्रेसका लागि त्यो घातकसिद्ध हुन्छ’ उनले भने ।

इमान्दारीता, अनुशासन, त्याग र सादगी बीपी कोइरालाबाट सबैले अनुसरण गर्नुपर्ने उपसभापति श्रेष्ठले बताए । काँग्रेसभित्र गुटबन्दी हाबी भएको भन्दै उनले भने,–‘गुटबन्दी अन्त्य गर्नुपर्छ । स्वार्थी भावना त्याग्नुपर्छ । भन्ने बीपीको आर्दश हो ।’ उपसभापति श्रेष्ठले बीपीका आर्दशलाई व्यवहारमा लागू गर्न सके उनीप्रति सच्चा सम्मान हुने धारणा व्यक्त गरे ।  कार्यक्रममा नेपाली काँग्रेस लुम्बिनी प्रदेश प्रशिक्षण विभागका सदस्यहरु गुणानिधि शर्मा, छन्दबहादुर पहराई मगरले बीपीको सिद्धान्त र आर्दशका विषयमा चर्चा गरे । उनीहरुले बीपीलाई कुशल राजनीतिक व्यवस्थापक, समाज सुधारक, साहित्यक, प्रजातान्त्रिक दर्शनका प्ररेणताका रूपमा चित्रण गरेका थिए । लुम्बिनी प्रदेश सदस्य मोतिलाल भण्डारी, जिल्ला समन्वय समिति प्रमुख द्रोण बहादुर खत्री, नेपाल महिला संघ गुल्मीकी सभापति लक्ष्मी पाण्डे लगायतले बीपीको फोटो पुजेर मात्रै सम्मान नहुने भन्दै व्यवहारमा लागु गर्नुपर्ने बताए ।  नेपाली काँग्रेस गुल्मीका उपसभापति शिवबहादुर खत्रीको अध्यक्षता, रेसुुङ्गा नगर सभापति जयश्वर पन्थीको स्वागत, जिल्ला सचिव भगतसिंह खड्काको सञ्चालनमा कार्यक्रम भएको थियो । 


 

प्रकाशित मिति: आइतबार, साउन ६, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update